दार्चुला, दाङ र ओखलढुंगाका पाँचवटा मतदान केन्द्रमा स्थानीयले मतदान बहिस्कार गरेका छन् । दार्चुलाको नौगाड गाउँपालिका– १, को गौरीशंकर मावि नागु मतदान केन्द्र र अपी हिमाल गाउँपालिका– ३, दुधिला आधारभूत विद्यालय झुस्कु, दाङको बबई गाउँपालिका– ७ मलैस्थित देउती मावि तल्लो मलाई, दोलखाको गौरीशंकर गाउँपालिका–९ बेदिङ र ओखलढुंगाको मानेभन्ज्याङ–७, टोक्सेलस्थित शहीद आधारभूत विद्यालय मतदान केन्द्रमा स्थानीयले मतदान गरेनन् । बरु ती केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीको समानुपातिक मत मात्र खसेको छ । दाङर्कै जनता मावि जिलामा पनि ६८२ मध्ये १० मत मात्रै खसेको छ ।
किन भयो बहिष्कार ?
दार्चुलाका नागुका बासिन्दाले गाउँमा मोटरबाटो पुर्याउनुपर्ने र दुधिलाका स्थानीयले वडाको केन्द्र टाढा भएकाले वडा विभाजन हुुनुपर्ने माग गर्दै निर्वाचन बहिष्कार गरेका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार गौरीशंकर मावि मतदान केन्द्रमा ६०२ र दुधिला आधारभूत विद्यालय मतदान केन्द्रमा ३४६ मतदाता थिए । स्थानीयले चुनाव बहिष्कार गरेपछि रित्ता मतपेटिका लिएर निर्वाचनमा खटिएका कर्मचारी सदरमुकामका लागि फर्किएका निर्वाचन कार्यालयले जनाएको छ ।
यी दुई केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले मात्र समानुपातिकतर्फ मतदान गरेका छन् । नागुमा समानुपातिकतर्फ नौ र झुस्कुमा आठ मत खसेका जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीले बताए । ‘त्यहाँ खटिएका कर्मचारीले समानुपातिकतर्फ मतदान गरेका हुन्, स्थानीय मतदाता मतदानमा सहभागी भएनन्,’ उनले भने ।
उनका अनुसार सुदूरपश्चिम प्रदेशका मुख्यसचिव, प्रमुख जिल्लासहित अधिकारीले स्थानीयका मागबारे यसअघि छलफल गरे पनि सहमति हुन सकेको थिएन ।
स्थानीय राजनीतिक दलहरूले पनि निर्वाचनमा सहभागी हुन स्थानीयलाई आग्रह गरेका थिए । तर, सरकार र राजनीतिक दलप्रतिको आक्रोशस्वरूप मतपेटिका रित्तो फर्काइदिएको संघर्ष समिति नागुका संयोजक करनसिंह डडालले बताए । नौगाड–१, मै रहेको भूमिराज मावि एअरपोर्ट तथा अपीहिमाल– ३, कै सुर्माभवानी आधारभूत विद्यालय थुम्ती र हिमालय आधारभूत विद्यालय पाथा मतदान केन्द्रमा भने मतदान भएको जिल्ला निर्वाचन अधिकारी धामीले बताए । दार्चुलामा कुल मतदाताको ५३.७६ प्रतिशत मत खसेको छ ।
त्यस्तै, दाङमा बाँके राष्ट्रिय निकुञ्ज प्रभावित नागरिकले मतदान कार्य बहिष्कार गरेका हुन् । यहाँका नागरिकले चुनावको एक महिनाअघि नै बस्ती स्थानान्तरण नभए निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका थिए ।
स्थानीयहरू आफ्नो गुनासो कसैबाट सुनुवाइ नभएपछि चुनावमा सहभागी नहुने अडानसहित निर्वाचन बहिष्कार गरेको बस्ती स्थानान्तरण संघर्ष समितिका अध्यक्ष चन्द्रबहादुर सारूमगरले बताए । उनका अनुसार जंगली जनावरले आफूले लगाएको बालीनाली खाइदिने, घरपालुवा जनावर खाइदिने, बालबालिकालाई डर हुने अवस्था रहेको छ । त्यहाँ ५३० मतदाता थिए ।
त्यस्तै, बबई १ मा पर्ने जनता मावि जिलामा पनि १० मत मात्रै खसेको छ । दिउँसो १ बजेसम्म मत नखसेपछि स्थानीय प्रशासनले समन्वय गरेको थियो । त्यसपछि ६८२ मध्ये १० जनाले मात्र मतदान गरेका हुन् ।
दोलखाको गौरीशंकर गाउँपालिका–९ बेदिङका मतदाताले पनि मतदान बहिस्कार गरेका छन् । यहाँ १९३ मतदाता थिए । तर, आफ्ना समस्या सुनुवाइका लागि उम्मेदवार नै नआएको भन्दै उनीहरूले मत खसालेनन् ।
मतदान अधिकृतसहितका कर्मचारी साँझ ५ बजेसम्म मतदातालाई कुरेर बसेका थिए । मतदाताले निर्वाचन बहिष्कार गरेसँगै सो बुथमा प्रत्यक्षतर्फ मत नखसेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए ।
यसैगरी, ओखलढुंगाको मानेभन्ज्याङ–७, टोक्सेलस्थित शहीद आधारभूत विद्यालय मतदान केन्द्रमा स्थानीयले मतदाताले मतदान गरेनन् । कुल ७०१ मतदाता नामावलीमा रहे पनि, प्रदेश सरकारले अस्पताल निर्माणका लागि बजेट नदिएको विरोधमा स्थानीयले मतदान बहिष्कार गरेका हुन् । ०७४ मै १६५ रोपनी जग्गा हस्तान्तरण गरिए पनि ९९ करोड बजेटको प्रस्तावित अस्पताल योजना अलपत्र परेको भन्दै आक्रोशित स्थानीयले ‘नो भोट’को नीति अपनाएका हुन् ।