बिहीबार १० बजेसम्मका १० मुख्य समाचार

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले भन्यो–६० प्रतिशत मत खस्यो

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ।

बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरबाट आएको प्रारम्भिक सूचनाअनुसार करिब ६० प्रतिशत मतदान भएको जानकारी दिए। उनका अनुसार मतदान प्रक्रिया समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

भण्डारीले सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सम्बन्धित स्थानमा पुर्याउने कार्य भइरहेको र आवश्यक प्रक्रिया पूरा भएपछि मतगणना सुरु गरिने बताए।

निष्ठा राखेर काम गरे फत्ते हुन्छ भन्ने विश्वास थियो, सबैको सहयोगले सफल भयौँ: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न गराउन चुनौती र बाधा अवरोधहरू धेरै भए पनि सबैको सहयोगले शान्तिपूर्वक निर्वाचन सम्पन्न गर्न सफल भइएको बताएकी छिन्। जति अवरोध भए पनि जिम्मेवारीको बाटोबाट नभागेको उनको भनाइ छ। 

सञ्चारकर्मीको जिज्ञासामा जवाफ दिँदै उनले निष्ठा राखेर काम गर्दा सफल भइएको बताइन्। ‘लगनशीलता भएमा कुनै कुरामा लागिपरे सम्भव हुने रहेछ। चुनौती भए पनि हामी आफ्नो जिम्मेवारीअनुकूलको काम गर्दै गयौँ। हामीमाथि विभिन्न प्रकारले आक्रमण नभएको होइन,’ उनले भनिन्, ‘बाधा अवरोध नआएको होइन। तर, हामी त्यसबाट विचलित भएनौँ। नि:स्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ भन्ने विश्वास थियो। जति अवरोध भए पनि बाटो हामीले छाडेनौँ।’ 

भारतले भन्यो: चुनावमा उत्साहजनक सहभागिता भयो, स्वागत गर्छौँ

भारतले नेपालमा जनताको उत्साहजनक सहभागितासहित निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै स्वागत गरेको छ । भारतले नयाँ सरकारसँग काम गर्न उत्सुक रहेकोसमेत उल्लेख गरेको छ । 

नेपालमा सम्पन्न निर्वाचनबारे सञ्चारमाध्यद्वारा सोधिएको प्रश्नहरूको उत्तरमा भन्दै भारतीय विदेश मन्त्रालयले प्रवक्ता रणधीर जैसवालको प्रतिक्रिया सार्वजनिक गरेको छ । 

‘आज नेपालका नागरिकहरूले आफ्नो लोकतान्त्रिक जनादेशको प्रयोग गर्दै उत्साहजनक सहभागितासहित निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा हामी स्वागत गर्दछौँ,’ विदेश मन्त्रालयले भनेको छ, ‘गत वर्षको असाधारण परिस्थितिको पृष्ठभूमिमा सम्पन्न भएका यी निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा हामी प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार र नेपाली जनता तथा विभिन्न सरोकारवालाहरूलाई बधाई दिन्छौँ।’ 

निर्वाचन सम्पन्न भएकोमा अमेरिकाले नेपाललाई दियो बधाई

नेपालले सफलतापूर्वक प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरेकोमा संयुक्त राज्य अमेरिकाले नेपाल सरकारलाई बधाई दिएको छ।

नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको वक्तव्यमा निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै नेपाललाई बधाई दिएको हो। दूतावासले लोकतान्त्रिक प्रक्रियामा नेपाली जनताको सक्रिय सहभागिता प्रशंसनीय रहेको उल्लेख गरेको छ।

एक थोपा पनि रगत नबगी निर्वाचन सम्पन्न भयो, सबैलाई धन्यवादः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन्। एक थोपा पनि रगत बनगी निर्वाचन सम्पन्न भएको र यसमा सबैको साथ र सहयोग रहेको उनको भनाइ छ। 

 गृहमन्त्री अर्यालले राष्ट्रपतिको निर्देशन र प्रधानमन्त्रीको नेतृत्वमा सम्बद्ध सबै पक्षको सहयोगका कारण मुलुकभर एकै चरणमा मतदान कार्य सम्पन्न भएको भन्दै प्रधानमन्त्रीको अभिलाषाबमोजिम 'एक थोपा पनि रगत नबगी' निर्वाचन गर्ने कार्य सम्पन्न भएको उल्लेख गरेका हुन्।

जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्छाैँ: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनसम्बन्धी  जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। सञ्चारकर्मीको यससम्बन्धी जवाफमा उनले आफैँले प्रतिवेदन बुझ्ने र सार्वजनिक गर्ने बताएकी हुन्। 

उनले भनेकी छिन्– 
आयोगले प्रतिवेदन बुझाउनासाथ कार्यान्वयनमा जान्छ। मैले भन्दै आएकी छु, मुलुकमा कुनै पनि प्रकारको दण्डहीनताले ठाउँ पाउनुहुँदैन। त्यसैले, अहिलेको आयोगको मात्र होइन, अरू पनि त्यस्ता प्रतिवेदन छन् भने ती हेर्छौँ र सार्वजनिक गरिदिन्छौँ। ताकि जनताले थाहा पाऊन्। 

एक करोडभन्दा धेरै मत खस्यो

देशभरि शान्तिपूर्वक निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा कम्तीमा एक करोड मत खसेको छ। 

४ः५० बजेसम्म संकलन भएको  विवरणअनुसार ९८ लाख २९ हजार मत खसेको छ। जुन कुल मतदाताको ५२ प्रतिशत हो। 

सबैभन्दा धेरै काठमाडौं उपत्यकामा ६२ प्रतिशत र कम मधेश प्रदेशमा ४९ प्रतिशत मतदान भएको छ। 

प्रधानमन्त्रीको प्रशंसा गर्दै बालेनले भने–हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले शान्तिपूर्वक निर्वाचन गराएकोमा प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आमाको रुपमा सम्बोधन गर्दै कार्कीको नेतृत्वमा लोकतन्त्रले जितेको बताएका छन्। 

उनले लेखेका छन्– हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ। 

हरेक मतको महत्त्व (फोटोफिचर)

जेन-जी विद्रोहपछि हुन लागेको निर्वाचनमा देशैभरि उत्साहका साथ मतदान भइरहेको छ। नयाँ मतदातादेखि बृद्धबृद्धाहरूसम्म मतदानस्थलमा पुगेका छन्। 

शारीरिक रूपमा असक्त व्यक्तिहरूसमेत ह्विलचेयरमा गएर मतदान गरेका छन्। 

काठमाडौंको राम मन्दिरस्थित मतदानस्थलमा एक अशक्त महिला ह्विलचेयरमा मतदान गर्न पुगिन्। मतदानस्थल अपांगमैत्री नहुँदा उनलाई सुरक्षाकर्मीले बोकेर मतदान गर्ने स्थानसम्म लगे।

निर्वाचन परिणामले जेन-जी पुस्ताको सुशासनको आकांक्षालाई सम्बोधन गर्ने विश्वास छः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार सम्पन्न निर्वाचनले जेन–जी पुस्ताको लोकतन्त्र, पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति राखेको अपेक्षा र आकांक्षालाई सम्बोधन गर्ने आशा तथा विश्वास लिएको जनाएको छ। पार्टी सभापति रवि लामिछानेले प्रेस विज्ञप्ति जारी गर्दै चौतर्फी चुनौतीका बाबजुद आजको ऐतिहासिक प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न अहम् भूमिका निर्वाह गर्ने सम्पूर्ण सरोकारवाला पक्षहरूलाई धन्यवाद दिएको छ। 

सुझावित समाचार