- क्यानले मध्यपूर्वी एसियाको स्थिति मध्यनजर गरी विश्वकप लिग–२ का खेल अर्को सूचना जारी नभएसम्म स्थगित गरेको छ
आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमन र युएईबिचको सिरिज स्थगित भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मध्यपूर्वी एसियाको तनावपूर्ण स्थितिको मध्यनजर गरी विश्वकप लिग–२ का खेल अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको जनाएको छ । आइसिसीको कार्यक्रमअनुसार लिग–२ आगामी सातादेखि काठमाडांैको त्रिवि क्रिकेट मैदानमा हुने तय थियो । अमेरिका–इजरायल र इरानबिचको युद्धका कारण मध्यपूर्वी एसिया क्षेत्र अहिले निकै तनावग्रस्त अवस्थामा छ ।
युएई र ओमान खाडी क्षेत्रकै अन्तर्राष्ट्रिय उडान रुटबाटै नेपाल आउनुपर्ने थियो । सुरक्षाका कारण अहिले त्यस क्षेत्रका लगभग सबै अन्तर्राष्ट्रिय हवाई सेवा बन्द छन् । ‘युएई र नेपाल दुवै टोली मध्यपूर्वका देश भएकाले हालको परिस्थितिका कारण सो क्षेत्रमा उडान नभएकाले सिरिज स्थगित भएको हो,’ क्यानका प्रवक्ता छुक्बी लामाले भने, ‘सोही कारण युएई र ओमानको क्रिकेट टोली नेपाल आउनेबारे पछिल्लो समय अन्योलता देखिएको थियो ।’
त्रिवि मैदानमा २६ फागुनदेखि ६ चैतसम्म सिरिज हुनुपर्ने थियो । अब क्यानले आइसिसीसँग समन्वयन र मध्यपूर्वी एसियाको अवस्थाअनुसार नयाँ तालिका निकाल्नेछ । ‘अवस्था निकै गम्भीर छ । विशवकप लिग–२ का खेल थप सूचना नआएसम्मका लागि स्थगित भएको छ,’ लामाले भने, ‘सिरिजअन्तर्गत सम्बन्धित खेल प्रभावित छन ्। आगामी दिनमा थप परामर्शपछि नयाँ मिति घोषणा गरिनेछ ।’
सिरिजमा सहभागी हुन युएई र ओमानका टोली शुक्रबार (भोलि)सम्म नेपाल आइपुग्ने तालिका थियो । सिरिजका लागि नेपालको २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको थियो । घोषित खेलाडी सिरिजका लागि बन्द प्रशिक्षणमा छन् ।
अंकतालिकामा नेपाल र युएई कमजोर
विश्वकप लिग–२ को अंकतालिकामा नेपाल र युएईको अवस्था कमजोर छ । आगामी खेलमा जित निकाल्न नसक्दा उनीहरूको एकदिवसीय मान्यता रक्षा गर्न मुस्किल छ । अंकतालिकामा युएई सबैभन्दा पुछारमा छ । युएईले अहिलेसम्म २० खेलमा पाँच जितका १० अंक जोडेको छ । नेपाल सातौँ स्थानमा छ । नेपालले २० खेलमा पाँच जित र १३ हार सामना गरी १२ अंक बटुलेको छ । भारत र श्रीलंकामा चलिरहेको टी–२० विश्वकपमा समूह चरणका सबै खेल गुमाएको ओमान २४ अंकका साथ लिग–२ को चौथो स्थानमा छ । ओमानले २० खेलमा ११ जित र सात हार निकाली २४ अंक जोडेको छ । लिग–२ मा अमेरिकाले सर्वाधिक ३६ अंक जोडेको छ । अमेरिका शीर्ष स्थानमा रहँदा स्कटल्यान्ड ३० अंकका साथ दोस्रो स्थानमा छ । अमेरिकाले सबैभन्दा बढी १८ जित निकालेको छ । स्कटल्यान्डले १३ जित हात पारेको छ । युरोपियन राष्ट्र नेदरल्यान्ड्सले १३ जितका साथ २८ अंक बटुलेको छ । नेदरल्यान्ड्स तेस्रो स्थानमा छ ।
दीपेन्द्रको वरीयता यथावत्
नेपाली राष्ट्रिय क्रिकेट टोलीका दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० आई अलराउन्डर वरीयतामा लगातार दोस्रो साता चौथो स्थानमा यथावत् रहेका छन् । दीपेन्द्रले टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक एक सय ६९ रन र बलिङमा दुई विकेट लिएका थिए । विश्वकपको समूह चरण खेल समाप्त भएलगत्तै आइसिसीले नयाँ वरीयता सार्वजनिक गरेको थियो । त्यसवेला दीपेन्द्रले स्थान सुधार गरी चौथो स्थान रक्षा गरेका थिए ।
टी–२० आई अलराउन्डर वरीयताको शीर्ष स्थानमा जिम्बावेका सिकन्दर राजा छन् । दीपेन्द्रले टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक (१६९) रन बनाए । सोही प्रदर्शनबाट दीपेन्द्रको रेटिङ अंक बढेर २४४ पुगेको थियो । लगातार दुई साता उनले यसै अंकका साथ चौथो स्थान रक्षा गरेका हुन् । भारतका हार्दिक पान्ड्या दोस्रोमा उक्लँदा पाकिस्तानका सायम अयुब तेस्रोमा झरेका छन् । पाँचौँमा अफगानिस्तानका अजमतुल्लाह छन् ।