उत्साहपूर्वक सहभागी भई मतदान गर्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगले भोलि (फागुन २१ गते) हुने निर्वाचनमा उत्साहपूर्वक सहभागी भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै निर्वाचन केवल प्रतिनिधि चुन्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र नभएर लोकतन्त्रको वैधता नवीकरण गर्ने संवैधानिक अभ्यास भएकाले आफ्नो मत जाहेर गर्न मतदातालाई आग्रह गरेको हो ।
स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचनको दायित्व पूरा गर्न आयोग क्रियाशील रहेको प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखा भन्छ– निर्वाचनको दिन देशभर पानी पर्दैन
फागुन २१ गते अर्थात् भोलि देशभर कतै पनि पानी नपर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै भोलि कतै पनि पानी पर्ने सम्भावना नरहेको जानकारी दिएको हो ।
महाशाखाले निर्वाचन अवधिभर मौसमको निरन्तर अनुगमन तथा विश्लेषण गरिरहेको जनाएको छ । शुक्रबार भने हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षा तथा हिमपातको सम्भावना छ ।
प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई निर्वाचनको बारेमा जानकारी
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छिन्। बुधबार राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा समसामयिक राजनीति तथा बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
१५ जिल्लाका ६१ स्थानबाट हेलिकोप्टरमार्फत मतपेटिका संकलन हुने
बिहीबार हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा मतदान भएपछि ६१ स्थनबाट हेलिकोप्टरमार्फत मतपेटिका संकलन गरिने भएको छ ।
गृह मन्त्रालयका अनुसार दुर्गम क्षेत्रका करिब एक सय मतदानकेन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत ढुवानी गरी मतगणनास्थलमा लगिनेछ । मतदान अधिकृतकै नेतृत्व सुरक्षाकर्मीको सुरक्षा घेरामा यसरी मतपेटिका संकलन गरिने गृह मन्त्रालयका सहायक प्रवक्ता रमा आचार्य सुवेदीले बताइन् ।
‘१५ जिल्लाका ६१ स्थानबाट हेलिकोप्टरमार्फत मतपेटिका संकलन गरिनेछ,’ उनले भनिन्,‘आवश्यकता परेमा थप क्षेत्रको पनि हेलिकोप्टरमार्फत नै संकलनका लागि तयारी अवस्थामा छौं ।’
‘मतपेटिका साटिने हल्ला निराधार र भ्रामक’ : निर्वाचन आयोग
निर्वाचन आयोगले मतपेटिका साटिने भनी फैलाइएको हल्ला पूर्णतः निराधार र भ्रामक रहेको स्पष्ट पारेको छ।
बुधबार आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपेटिकाको सुरक्षामा कुनै पनि किसिमको सम्झौता नहुने बताएका हुन्।
उनले परम्परागत रूपमा त्रिस्तरीय सुरक्षा घेराभित्र मतपेटिका सुरक्षित राखिने व्यवस्था यथावत् रहेको जानकारी दिए। मतदान सम्पन्न भएपछि राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरूको रोहबरमा मतपेटिका सिल गरिने र प्रतिनिधिहरूको आफ्नै चिह्न अंकित लाहाछाप लगाइने उनले बताए।
मतपेटिका सुरक्षाका लागि बाहिरी घेरामा नेपाली सेना, बिचको घेरामा सशस्त्र प्रहरी बल र भित्री घेरामा नेपाल प्रहरी परिचालन हुने पुरानै व्यवस्था कायम रहेको आयोगले जनाएको छ।
दुर्गम क्षेत्रबाट मतपेटिका संकलन गर्न नेपाली सेनाका सुरक्षित र भरपर्दा हेलिकोप्टर प्रयोग गरिने उल्लेख गर्दै भण्डारीले सेनाले छुट्टै मतपेटिका ल्याउने भन्ने हल्लामा विश्वास नगर्न आग्रह गरेका छन्।
आयोगले आमनागरिक, राजनीतिक दल तथा सरोकारवालालाई आधिकारिक सूचना मात्र विश्वास गर्न र अफवाह नफैलाउन अपिल गरेको छ।
गृह मन्त्रालयले भन्यो– ७७ वटै जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा
गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचन (फागुन २१ गते)को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। मन्त्रालयले बुधबार बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठक (जुम मिटिङ) बसी निर्वाचन सुरक्षालगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो।
गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भर्चुअल बैठकले सबै जिल्लाको निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएको छ।
राष्ट्रपति पौडेलले मतदान नगर्ने
बिहीबार हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रपति रामचन्द्र पौडेलले मतदान नगर्ने भएका छन् ।
तनहुँमा मतदाता नामावली भएका राष्ट्रपति पौडेलले आफू राष्ट्रको अभिभावक, संविधानको पालक रक्षक भएकाले कुनै पक्ष लिनु उपयुक्त नहुने भन्दै मत नहाल्ने निर्णय गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
निर्वाचन सुरक्षाबारे राष्ट्रिय सुरक्षा परिषद्को समीक्षा : तयारी पर्याप्त रहेको निष्कर्ष
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन आवश्यक सबै तयारी पूरा भएको निष्कर्ष राष्ट्रिय सुरक्षा परिषद्ले निकालेको छ।
सिंहदरबारमा बसेको परिषद्को बैठकले निर्वाचनकेन्द्रित सुरक्षा संयन्त्रको समग्र अवस्थाको समीक्षा गर्दै मतदान प्रक्रियामा कुनै कमी-कमजोरी हुन नदिने प्रतिबद्धता दोहोर्याएको हो। बैठकमा सुरक्षा तयारी, स्रोत–साधनको उपलब्धता तथा निकायगत समन्वयबारे विस्तृत छलफल गरिएको जनाइएको छ।
राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले उपलब्ध सुरक्षा संरचना र जनशक्ति निर्वाचन सञ्चालनका लागि पर्याप्त रहेको ठहर गरेको छ। रक्षा मन्त्रालयका अनुसार देशभर शान्ति सुव्यवस्था कायम राख्न सम्बन्धित सुरक्षा निकायलाई थप सुदृढ र समन्वयात्मक ढंगले परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको छ।
२४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी
निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गरिने स्पष्ट पारेको छ । भण्डारीले मतदान सकिएलगत्तै मतपेटिका संकलन गरिने र गणना सुरु गरिने बताए ।
निर्वाचन तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतगणनालाई तीव्र र व्यवस्थित ढंगले अघि बढाइने स्पष्ट पारे।
आइसिसी पुरुष डिभिजन लिग २ का खेल स्थगित
आइसिसी पुरुष डिभिजन लिग २ खेल स्थगित भएको छ। नेपालसहित युएई र ओमान सहभागी हुने खेल त्रिवि मैदानमा मार्च १० (फागुन २६)देखि सुरु हुने तय भएको थियो।
मध्यपूर्वको युद्धको अवस्थाका कारण खेल स्थगित गरिएको नेपाल क्रिकेट संघले जनाएको छ।