भोलि बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाताहरू आ–आफ्नो क्षेत्रमा गएपछि कोशी प्रदेशको राजधानी विराटनगर बुधबार बिहानैदेखि सुनसान देखिएको छ।
सधैँ भिडभाड हुने विराटनगरमा मतदानको एक दिन अगावै मतदाताहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्न गएपछि चहलपहल सुनसान भएको हो। विराटनगर बसपार्क, मुख्य बजार, मेनरोड, सीमानाका सबैतिर बुधबार बिहानैदेखि चहलपहल घटेको छ।
विराटनगर बसपार्क बुधबार बिहानैदेखि सुनसान छ। सार्वजनिक यातायातहरू सञ्चालन भए पनि यात्रुहरू छैनन्। मुख्य आवतजावत हुने कोशी राजमार्गमा पनि मानिसहरू नहुँदा निजी र सार्वजनिक सवारीसाधनहरू एकदमै कम चलेका छन्। बजारमा पसलहरू पनि प्रायः बन्द छन्। खुलेका पसलहरूमा पनि ग्राहक छैनन्।