प्रतिनिधिसभा निर्वाचनको बिहीबार हुने मतदानको तयारी लगभग सकिएको छ । बिहीबार बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुँदै छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अधिकांश तयारी पूरा भइसकेको बताए । ‘निर्वाचन व्यवस्थापनका कामहरू प्राय: सकिएका छन् । मतदान केन्द्रहरू तयार भइसकेका छन् । बाँकी रहेका केही काम पनि बुधबार साँझसम्म सम्पन्न हुन्छन्,’ उनले भने ।
उनका अनुसार देशभर आवश्यक कर्मचारी खटाइसकिएको छ । मतदान सामग्री सम्बन्धित केन्द्रमा पुगिसकेका छन् । आयोगले मतदान केन्द्रमा अनुशासन र पारदर्शिता सुनिश्चित गर्न विशेष निगरानी र कडाइ अपनाइएको जनाएको छ ।
यसपटक प्रतिनिधिसभातर्फ प्रत्यक्ष प्रणालीमा ६५ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसहित तीन हजार ४०६ जना चुनावी मैदानमा छन् । समानुपातिकतर्फ ६३ दलका तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
मतदान केन्द्रमा मोबाइल निषेध, मतदाताको लाइनमा भोट मागे सिधै पक्राउ
निर्वाचनअन्तर्गत मतदानलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन निर्वाचन आयोगले मतदान केन्द्रमा कडाइ गरेको छ । आयोगले मतदान निर्देशिका, २०८२ स्वीकृत गरी शान्तिपूर्ण मतदान गराउन मतदान केन्द्रको व्यवस्थापन, निगरानी र कारबाहीमा कडाइ गरेको हो ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदान केन्द्रमा मतदाताले मोबाइल लिएर जान पाउँदैन । सलाई, लाइटर, एसिडजस्तो प्रज्ज्वनशील पदार्थ, फोटो खिच्ने क्यामेरा र मोबाइल लान पाइँदैन । मादक पदार्थ वा नशालु पदार्थ सेवन गरेको व्यक्ति मतदाता भए पनि मतदान केन्द्रमा प्रवेश गर्न पाउँदैन ।
यसैगरी, कुलै दलको प्रचार सामग्री लान पाइँदैन । उम्मेदवारले मत माग्न पाउँदैन । प्रचारसम्बन्धी कुनै गतिविधि गर्न पाउँदैन ।
यसैगरी, मतदान केन्द्रको परिसरभित्र मतदाता प्रभावित पार्न खोजे नियन्त्रणमा लिने व्यवस्था गरिएको छ । ‘मत हाल्न लाइनमा बसेको मतदातालाई कसैले प्रभावित पार्न पाइँदैन । त्यसो भएमा सुरक्षाकर्मी तथा निर्वाचनमा खटिएका कर्मचारीले तुरुन्त नियन्त्रणमा लिनुपर्छ,’ सूचना अधिकारी घिमिरेले भने ।
मतदान निर्देशिकामा उल्लेख भएअनुसार मतदान केन्द्रभित्र फोटो खिच्न पाइँदैन । कसैले फोटो खिचेमा एक लाखसम्म जरिवाना र निर्वाचन कसुर तथा सजाय ऐनअन्तर्गत थप कारबाही हुन सक्छ । यसैगरी, दोहोर्याएर भोट हाल्नेको मत बदर हुन्छ । त्यसपछि कानुनबमोजिम कारबाही हुन्छ ।
निर्देशिका अनुसार मतपत्रबाहेक अन्य पदार्थ मतपेटिकामा खसाल्न पाइँदैन । मतदान केन्द्रबाट मतपत्र बाहिर लैजान वा नष्ट गर्न पाइँदैन ।
यसैगरी, कसैले मतपत्रमा मतसंकेत गरी सकेपछि सार्वजनिक गरेमा १५ हजार रुपैयाँ तत्काल जरिवाना गरी उक्त मतपत्रलाई छुट्टै खाममा राखी सिलबन्दी गर्नुपर्छ।
यसैगरी, अर्काको नाममा फर्जी मतदान गर्नेविरुद्ध उम्मेदवार, निर्वाचन प्रतिनिधि र अन्य मतदाताले उजुरी गर्न पाउने र त्यसरी फर्जी मत हाल्नेलाई तत्काल २५ हजार जरिवाना गराउने व्यवस्था छ । जरिवाना नतिरे प्रहरीलाई बुझाएर कैदमा पठाइन्छ । यसैगरी, मतदान कार्यमा बाधा पुर्याउने वा उस्काउने व्यक्तिलाई तत्काल गिरफ्तार गर्ने व्यवस्था छ ।
मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकहरू हुन्छन् । मतपत्र, मतपेटिका, मतदाता नामावली, मतपेटिका, सुरक्षण सिल, मत संकेत गर्ने स्वस्तिक छाप, नउड्ने मसी, छापदानी, पोलबुकलगायतका अन्य आवश्यक मतदान सामग्री मतदान केन्द्रमा पुगिसकेको छ ।
मतदान अधिकृतका कामहरू के छन् ?
मतदान अधिकृतले प्रत्येक दुई घण्टामा मतदानको प्रगति विवरण निर्वाचन अधिकृतसमक्ष पठाउनुपर्ने निर्देशिकामा उल्लेख छ । यसबाहेक मतदान अधिकृतको काममा मतपत्रलगायत निर्वाचन सामग्री बुझ्ने, मतदान केन्द्रमा सहायक मतदान अधिकृत, अन्य कर्मचारी तथा सुरक्षाकर्मीसँग समन्वय गर्ने, मतदान केन्द्र निर्माण गर्ने, सुरक्षा, भौगोलिक कठिनाइ तथा अन्य कारणले मतदान गराउन नसकिने तत्काल जानकारी गराउनेलगायतका छन् ।
यस्तै, मतदाताहरूलाई मतदान हुने दिनभन्दा अगावै मतदाता परिचयपत्र वितरण गर्ने, स्वयंसेवक नियुक्त गर्ने, कर्मचारी र स्वयंसेवकलाई काम बाँडफाँट गरी मतदानको काममा लगाउने, दल तथा उम्मेदवारसँग समन्वय गर्ने, मतदातालाई मतपत्र दिनुअघि हस्ताक्षर गर्ने, मतदान कार्यको चनाखो भई निरन्तर अनुगमन गर्ने, सरोकारवालासँग सहजीकरण गर्ने, मतदान सकिएपछि मुचुल्का गराई सिलबन्दी मतपेटिका तथा अन्य निर्वाचन सामग्री सुरक्षित तरिकाले निर्वाचन अधिकृतलाई बुझाउने मतदान अधिकृतको जिम्मेवारी छ ।
मतदानको दिन के खुल्छ के खुल्दैन ?
आयोगका सूचना अधिकारी घिमिरेका अनुसार मतदानको दिन सवारीसाधन मात्रै बन्द हुन्छ । यो बन्द नगर्दा एउटा ठाउँको मान्छे अर्काेमा गएर हुलहुज्जत गर्ने, दोहोरो मतदान हुन सक्ने तथा शान्तिपूर्ण मतदान अवरुद्ध हुने आयोगको बुझाइ छ । ‘सार्वजनिक बिदाले सरकारी अड्डा बन्द हुन्छन् । अरू पसल, कलकारखानालगायत सबै खुल्छन्,’ उनले भने ।
मौसम चुनौती कति ?
मतदानको दुई दिनअघि मंगलबार मौसम बिग्रिएको छ । तर, मौसम विभागले २०, २१ र २२ फागुनमा मौसम सफा रहने प्रक्षेपण गरेको छ । ‘मतदानको कार्यको अघिल्लो दिनदेखि मतदानको दुई दिनसम्म सफा हुने प्रक्षेपण मौसम विभागको छ । यदि आकस्मिक मौसम बिग्रियो भने अन्य विकल्पमा जान्छौँ,’ सूचना अधिकारी घिमिरेले भने ।
घिमिरेका अनुसार मतदानको दिन पानी परे पनि मतदान रोकिने छैन । घिमिरेले वर्षा भइहाले मतदान केन्द्रलाई व्यवस्थित गर्न आवश्यक विकल्प सोचिएको बताए । यद्यपि, हिमालदेखि तराईसम्म मौसम सफा रहने र मतदानमा मौसमको प्रतिकूलता नहुनेमा आयोग विश्वस्त रहेको उनको भनाइ छ । ‘निश्चित क्षेत्रहरूमा वर्षा भयो भने मतदान स्थगित गरेर अर्काे दिन तोक्ने हुन्छ । अब ठुलो एरियामा वर्षा भयो भने त्यो सोचनीय विषय हुन्छ,’ उनले भने ।
निर्वाचन अवलोकन गर्न नौ देशबाट आए पाहुना
निर्वाचन आयोगले निर्वाचन अवलोकनका लागि आमन्त्रण गरेका छिमेकी र मित्र राष्ट्रका पाहुना काठमाडौं आइपुगेका छन् । आयोगका अनुसार १० देशका अतिथिलाई आमन्त्रण गरेकामा पाकिस्तानबाहेक सबै उपस्थित हुँदै छन् । आयोगका सहसचिव ज्ञानहरि घिमिरेका अनुसार भारत, भुटान, बंगलादेश, श्रीलंका माल्दिभ्स, मलेसिया, इन्डोनेसिया र रसियाबाट प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू आइपुगेका छन् । जापानबाट बुधबार बिहान प्रमुख निर्वाचन आयुक्त रहेका भाइस मिनिस्टर आउँदै छन् । पाकिस्तानलाई आमन्त्रण गरे पनि पाहुना आउनेछैनन् । पाकिस्तानको दूतावासबाटै अवलोकन गर्ने जानकारी गराइएको छ । यसैगरी, अन्तर्राष्ट्रिय संस्थाबाट पर्यवेक्षण गर्न ४९ जना नेपाल आउने निश्चित भएको छ ।