प्रेरक प्रसंग : पत्थरको सहनशीलता

बुधबार, २० फागुन, २०८२
डिजिटल संस्करण

एक मन्दिरमा स्थापित प्रस्तर मूर्तिमा चढाइएको एक फूलले आक्रोशित हुँदै पुजारीसित भन्यो— पुजारी महोदय, तपाईं जहिल्यै यस प्रस्तर मूर्तिमा मलाई चढाएर यसको पूजा गर्नुहुन्छ । यस्तो पारा मलाई कत्ति पनि मन पर्दैन । पूजा नै गर्ने हो भने त मेरो पो हुनुपर्ने हो त ! किनकि, म कोमल, सुन्दर र सुवासित छु । तपाईं जसको पूजा गरिरहनुभएको छ, त्यो त मात्र एउटा पत्थर हो, पत्थर !

फूलको आक्रोशयुक्त गुनासो सुनिसकेपछि पुजारीले मन्द मुस्कान साथ भने— हे सुन्दर फूल ! हो, तिमीले भनेजस्तै तिमी सुन्दर छौ । कोमल छौ । सुवासित छौ । तर, तिमीलाई ईश्वरले नै यस्तो बनाएका हुन् । यी सब गुण तिमीले सहजतासाथ प्राप्त गरेका हौ । यसका लागि तिमीले कुनै श्रम गर्नुपरेन । कठोर प्रहार सहनुपरेन । किनकि, देवत्व प्राप्त गर्न निकै कठिन छ । यो देव प्रतिमा निकै कठिनतापूर्वक निर्माण गरिएको हुन्छ । 

एक कठोर पत्थरले देव प्रतिमा बन्न हजारौँ प्रहार सहनुपर्छ । चोट लाग्दैमा कमजोर भई फुटेको भए यो कहिल्यै देव प्रतिमा बनेर यसरी मन्दिरको शोभा बन्न सक्ने थिएन । कुनै कडा पत्थर मूर्तिकारको घन र छिनोको प्रहार सहँदासहँदा जब सुन्दर प्रतिमामा परिणत हुन्छ, तब मात्र उसले मन्दिरमा प्रवेश पाउँछ । मानिसहरूले उसको पूजा–अर्चना गर्छन् । पत्थरको यही सहनशीलताले नै उसलाई देव प्रतिमाका रूपमा पूजनीय तथा वन्दनीय बनाएको हुन्छ । पुजारीको कुरा सुनेपछि फूल मुसुक्क मुस्कुरायो । कठिन परीक्षा सफलतापूर्वक पार गर्न सक्नेले मात्र देवत्व प्राप्त गर्न सक्दो रहेछ भन्ने उसले बुझ्यो । 

सुझावित समाचार