धनगढीमा दुई समूहबिच झडप, नियन्त्रणका क्रममा इन्स्पेक्टरसहित दुई प्रहरी घाइते, १२ जना पक्राउ

मंगलबार, १९ फागुन, २०८२
डिजिटल संस्करण

कैलालीको धनगढी उपमहानगरपालिका– १३, कैलाली गाउँमा मदिरा सेवन गरेका दुई समूहबिच झडप भएको छ । झडपमा परेर  दुई प्रहरीसहित चारजना घाइते भएका छन्।
झडपमा संलग्न १२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। झडप नियन्त्रण गर्न आधा दर्जन हवाई फायर गरिएको प्रहरीले जनाएको छ। 

प्रहरी नायब उपरीक्षक तिमिल्सिनाका अनुसार झडप नियन्त्रणमा लिने क्रममा इन्स्पेक्टर बलराम पाण्डे र असइ डबल साउद सामान्य घाइते भएका छन्। त्यस्तै, झडपमा संलग्न लोकेश खत्री र कमल राना घाइते भएका छन्। टाउकोमा चोट लागेका कमलको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। 

रानाको बाया खुट्टामा गोली लागेको भनिए पनि पुष्टि भएको छैन। खुट्टामा लागेको घाउ गोलीको हो या अरू कारणले हो रिपोर्ट आएपछि थाहा हुने प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए।

झडपमा संलग्नलाई नियन्त्रणमा लिने क्रममा स्थानीयले जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्द चढेको गाडीमा ढुंगामुडा गरेका थिए। गाडीमा सामान्य क्षति पुगेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले जानकारी दिए। 

झडप नियन्त्रणमा लिन निर्वाचन सुरक्षामा खटिएको नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो ।
 

See More On

सुझावित समाचार