निर्वाचनका लागि उदयपुरमा धमाधम मतदान बुथ निर्माण गर्न थालिएको छ। मतदानस्थलमा पुगेका मतदान अधिकृतहरू बुथ निर्माणमा जुटेका हुन्।
जिल्ला निर्वाचन आयोग कार्यालय उदयपुरका सूचना अधिकारी डिगम कार्कीका अनुसार आजैबाट मतदानका लागि सर्वदलीय बैठक राखी बुथ निर्माणको काम सुरु गरिएको हो। उनले भने, ‘जिल्लाका सबै मतदान केन्द्र र स्थलहरूमा बुथ निर्माणको काम जारी छ। भोलि दिउँसोसम्म सबै बुथहरू तयार हुनेछन्।’
उदयपुरमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। निर्वाचन क्षेत्र नम्बर १ मा कुल एक लाख ४२ हजार ८०४ मतदाता, ५२ मतदान स्थल र १६० मतदान केन्द्र कायम गरिएको छ। निर्वाचन क्षेत्र नम्बर २ मा कुल ९६ हजार १२२ मतदाता, ५१ मतदानस्थल र ११५ मतदान केन्द्र कायम गरिएको छ। दुवै क्षेत्रमा धमाधम बुथ तयार हुँदै छ।
मतगणनास्थल तयार
उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयका अनुसार मतदानस्थल भने तयार भइसकेका छन्। क्षेत्र नं १ को मतगणना त्रियुगा उच्च माध्यमिक विद्यालय, गाईघाटमा तथा क्षेत्र नं २ को मतगणना कटारीस्थित उदयश्री क्याम्पसमा हुने उनले बताए।
सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने, ‘उदयपुर–२ को मतगणनास्थल निर्माण भइसकेको छ। अब उदयपुर–१ को पनि भोलिसम्म पूरा हुन्छ।’ उनका अनुसार मतगणनास्थलमा तारजाली लगाई सिसिक्यामेरासमेतको व्यवस्था गरिएको छ।