बारामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुईजना गम्भीर घाइते

मंगलबार, १९ फागुन, २०८२
डिजिटल संस्करण

बाराको निजगढ नगरपालिकाको तामागढी–रतनपुर सडकखण्डमा रहेको तपस्यास्थलनजिक सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ भने थप दुईजना गम्भीर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय निजगढका अनुसार सवा ५ बजेतिर कोलगाउँबाट तामागढीतर्फ आउँदै गरेको तीनजना सवार ना.६२प ३६६६ नम्बरको मोटरसाइकल तपस्यास्थलनजिक जंगलमा आफैँ अनियन्त्रित भई रुखमा ठोक्किएको थियो। दुर्घटनामा घाइते निजगढ १२ कोलगाउँका २८ वर्षीय रमेश गोलेको वीरगन्जमा उपचारको क्रममा साँझ ६ः५० बजे मृत्यु भएको हो। 

सोही मोटरसाइकलमा सवार कोलगाउँ बस्ने २६ वर्षका सुजन स्याङ्तान र २२ वर्षका रोजन गोले घाइते भएका छन्। दुवैजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट खटेको टोलीले घाइतेहरूलाई उद्धार गरी सिटी अस्पताल निजगढ ल्याएको र सामान्य उपचारपछि थप उपचारका लागि एलएस न्युरो अस्पताल पठाएको थियो।

सुझावित समाचार