- इरानी ड्रोन निष्क्रिय गर्ने क्रममा आइतबार मृत्यु भएका नेपाली गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको पुष्टि, अमेरिका–इजरायल र इरानबिचको युद्धको दायरा मध्यपूर्व (पश्चिम एसियामा)मा झनै चर्कँदा बढ्दै छ १७ लाखभन्दा धेरै नेपालीको सुरक्षा चिन्ता
संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन निष्क्रिय गर्ने क्रममा आइतबार मृत्यु भएका नेपालीको सोमबार पहिचान भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार घटनामा गोर्खाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको पुष्टि भएको छ । उनी मिडिल इस्ट कम्पनीमा सुरक्षागार्डका रूपमा कार्यरत थिए ।
राजदूतावास परिस्थिति सहज भएपछि स्वर्गीय श्रेष्ठको पार्थिव शरीर नेपाल पठाउने तयारीमा छ । ‘परिस्थिति सहज भएपश्चात् स्वर्गीय श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता लैजानेलगायतका सम्पूर्ण कार्यमा सहजीकरण गर्न नेपाली दूतावास तत्पर रहेको व्यहोरा अनुरोध गरिन्छ,’ दूतावासले सोमबार जारी गरेको विज्ञप्तिमा छ । मध्यपूर्वका देशमा अहिले नागरिक उडान रोकिएका छन् ।
दूतावासले युएईमा रहेका नेपालीलाई संयम अपनाउन, सुरक्षित रहन तथा युएई सरकारले जारी गरेका सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न पनि आह्वान गरेको छ । युएईमा नेपालीको संख्या करिब सात लाख छ । युएईमा एकजनाको मृत्युबाहेक नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
खाडी क्षेत्रमा रहेका १० नेपाली कूटनीतिक नियोगमार्फत नेपाली नागरिकसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । ‘युएईमा एकजना नागरिकको दु:खद निधनको खबरबाहेक समग्र मध्यपूर्वमा नेपाली नागरिक सुरक्षित हुनुहुन्छ भन्ने जानकारी पाएका छौँ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नयाँ पत्रिकासँग भने, ‘लडाइँ रोकिएको छैन, हामी अझ बढी सतर्कतासाथ परिस्थिति नियालिरहेका छौँ । उहाँहरूको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकतामा छ ।’
अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य हमला तथा इरानी सर्वोच्च शासक अयोतुल्लाह खामेनीको मृत्युपछि मध्यपूर्व झनै अशान्त भएको छ । इजरायल र इरानबिच सोमबार पनि क्षेप्यास्त्र हानाहान भएको छ ।
इजरायलमा ६ हजार पाँच सय नेपाली कार्यरत छन् । इजरायलमा इरानबाट क्षेप्यास्त्र तथा रकेट हमला हुँदै आएको छ । तेलअभिभस्थित कार्यवाहक नेपाली राजदूत ओम भण्डारीले नेपालीहरू सुरक्षित रहेको जानकारी दिए । ‘अहिलेसम्म नेपालीहरू सुरक्षित हुनुहुन्छ । उहाँहरूसँग हामी समन्वय र सम्पर्कमा छौँ,’ भण्डारीले टेलिफोनमा भने ।
लेबनानको हिजबुल्लाह समूहले इजरायलमाथि गरेको हमलापछि इजरायली सेनाले गरेको जवाफी कारबाहीमा ३१ लेबनानी नागरिक मारिएका छन् । लेबनान सरकारले विद्रोही हिजबुल्लाहको सैनिक गतिविधिमा प्रतिबन्ध लगाएको छ । लेबनानमा एक हजार पाँच सय नेपाली कामदार सुरक्षित छन् ।
लेबनान हेर्ने इजिप्टस्थित नेपाली राजदूतावास र बेरुतस्थित अवैतनिक महावाणिज्य दूतावासले नेपाली समुदायलाई कन्सुलर सेवा सक्रिय रहेको भन्दै दर्ता रजिस्टरमा नाम दर्ता गर्न आह्वान गरेका छन् । उनीहरूले सोमबार सूचना प्रकाशित गरेका छन् ।
‘हामी लेबनानमा बसोबास गर्ने सम्पूर्ण नेपाली नागरिकहरूलाई हाम्रो वेबसाइटमार्फत नागरिक दर्ता रजिस्टरमा दर्ता गर्न आग्रह गर्दछौँ । यो आपत्कालीन अवस्थामा तपाईंहरूलाई तीव्र र प्रभावकारी सहयोग प्रदान गर्न सक्षम बनाउने महत्वपूर्ण कदम हो,’ सूचनामा भनिएको छ ।
कुवेतमा सोमबार तीन अमेरिकी युद्धविमानमा आक्रमण भएको छ । तीनवटै विमान खसालिएको इरानको दाबी छ । तर, अमेरिकी अधिकारीहरूले झुक्किएर कुवेतका तर्फबाट मिस फायर भएको प्रस्टीकरण दिएका छन् । कुवेतमा पनि अमेरिकी सेनाको बेस छ ।
कुवेतमा पौने दुई लाख नेपाली कार्यरत छन् । कुवेतस्थित अमेरिकी सेनाको बेसमा पनि नेपालीहरू कार्यरत रहेको अनुमान छ । तर, सरकारसँग यकिन तथ्यांक छैन । कुवेतस्थित नेपाली राजदूत घनश्याम लम्सालले नेपालीहरू सुरक्षित रहेको बताए ।
यस्तै, मध्यपूर्वमा बहराइन, कुवेत, कतार, युएई, इराक, साउदी अरब, जोर्डनका ११ ठाउँमा अमेरिकी सेना स्थायी रूपमा तैनाथ छन् । इरानले यी सबै अमेरिकी सैन्य संरचनालाई लक्षित गरी आक्रमण गर्दै आएको छ । यी सबै ठाउँमा नेपाली छन् ।
बहराइनमा २८ हजार, कुवेतमा एक लाख ७५ हजार, कतारमा तीन लाख ५७ हजार ९१३, युएईमा सात लाख, इराकमा ३० हजार, साउदी अरबमा तीन लाख ८४ हजार ८६५ र जोर्डनमा तीन हजार नेपाली कार्यरत छन् । इरानमा ६ जना, इजरायलमा ६ हजार पाँच सय (थप २५ सय भारतीय राहदानीमा नेपालीहरू रहेको), इजिप्टमा पाँच सय, ओमानमा २५ हजार, साइप्रसमा १७ हजार नेपाली कार्यरत छन् ।