निर्वाचनमा खटिएका कर्मचारीको दुर्घटनामा परी मृत्यु

सोमबार, १८ फागुन, २०८२
डिजिटल संस्करण

मोटरसाइकल दुर्घटनामा परी निर्वाचनमा खटिएका एक कर्मचारीको मृत्यु भएको छ । मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटनामा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर २ को झोङस्थित जनप्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा खटिएका सुनील घतानेको मृत्यु भएको हो । 

म्याग्दी जिल्लाको बेनी बजारबाट जोमसोमतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परी आइतबार राति घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाले जानकारी दिइन्। मृत्यु भएका ३२ वर्षका घताने मुस्ताङ भन्सार कार्यालयका कर्मचारी हुन्।

दुर्घटनापछि घाइते भएका घतानेलाई सुरक्षाकर्मीसँगै स्थानीयले उद्धार गरी प्रदेश अस्पताल जोमसोम लगेका थिए। अस्पताल लगेपछि उपचारको क्रममा उनको मत्यु भएको उनले जानकारी दिइन्। मृतक घतानेको शव सोही अस्पतालमा राखिएको छ ।

मृत्युपछि निर्वाचन अधिकृतको कार्यालयले घतानेको स्थानमा अर्को कर्मचारी खटाएको जनाएको छ।
 

सुझावित समाचार