बारामा ११० मध्ये २८ उम्मेदवारले मात्रै खोले बैंक खाता

सोमबार, १८ फागुन, २०८२
डिजिटल संस्करण

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका कुल ११० जनामध्ये हालसम्म २८ जनाले मात्रै निर्वाचन प्रयोजनका लागि बैंक खाता सञ्चालनमा ल्याएका छन्।

निर्वाचन आचारसंहिता अनुगमन समितिका अनुसार चुनावी प्रचारप्रसार तथा अन्य व्यवस्थापकीय कार्यमा हुने खर्च र प्राप्त हुने आम्दानीलाई पारदर्शी बनाउन अनिवार्य रूपमा बैंक खाता खोली सोहीमार्फत कारोबार गर्नुपर्ने व्यवस्था गरिएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय बाराका कोष नियन्त्रक राधेश्याम गिरीका अनुसार उम्मेदवारहरूले निर्वाचन अवधिभर गर्ने सम्पूर्ण आर्थिक कारोबार सोही बैंक खातामार्फत नै गर्नुपर्नेछ।

बैंक खाता खोल्ने उम्मेदवारहरूमा निर्वाचन क्षेत्र नं १ बाट नेकपा एमालेका अच्युतप्रसाद मैनाली, आम जनता पार्टीका विजय यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमाल, नेपाली कांग्रेसका शम्भुबहादुर बुढाथोकी र जनता समाजवादी पार्टी नेपालका रामबाबुप्रसाद यादव रहेका छन्।

निर्वाचन क्षेत्र नं २ बाट नेपाली कम्युनिस्ट पार्टीका रमेशप्रसाद यादव, जनता समाजवादी पार्टी नेपालका रामकिशोरप्रसाद यादव, नेपाल मजदुर किसान पार्टीका चन्दनकुमार यादव र नेकपा एमालेका बलवीरप्रसाद चौधरीले खाता सञ्चालन गरेका छन्।

निर्वाचन क्षेत्र नं ३ बाट नेपाल मजदुर किसान पार्टीका रामएकबाल राउत, नेपाली कांग्रेसका फरमुल्लाह मन्सुर, नेकपा एमालेकी ज्वालाकुमारी साह र राष्ट्रिय स्वतन्त्र पार्टीका अरविन्द साहले बैंक खाता खोलेका छन्।

त्यसैगरी, निर्वाचन क्षेत्र नं ४ बाट राष्ट्रिय परिवर्तन पार्टीका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका श्यामबाबु गुप्ता, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलीपकुमार शर्मा नेपाल, स्वतन्त्र उम्मेदवार दीपकसिंह चौधरी, सन्जु चौधरी, पूर्णप्रसाद पन्थ, नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ, प्रजातान्त्रिक पार्टी नेपालकी मुनी खातुन, स्वतन्त्र उम्मेदवार शम्भुप्रसाद यादव, मंगेश्वर पटेल, मुकेशकुमार रौनियार, जनता समाजवादी पार्टी नेपालकी सन्जु साह कानु, स्वतन्त्र उम्मेदवार बैधनाथप्रसाद साह, नेपाली कम्युनिस्ट पार्टीका अजय कुशवाहा र राष्ट्रिय स्वतन्त्र पार्टीका रहबर अन्सारी रहेका छन्।

निर्वाचन कार्यालयले बाँकी रहेका उम्मेदवारहरूलाई पनि यथाशीघ्र बैंक खाता खोली विवरण पेस गर्न आग्रह गरेको छ।

सुझावित समाचार