राष्ट्रिय लिग २०८२ : चित्लाङविरुद्ध एनआरटीको कठिन जित

सोमबार, १८ फागुन, २०८२
डिजिटल संस्करण

न्युरोड टिम (एनआरटी)ले राष्ट्रिय लिग फुटबल प्रतियोगितामा नवप्रवेशी क्लब चित्लाङ एफसीमाथि २–१ को संघर्षपूर्ण जित निकालेको छ । दशरथ रंगशालामा आइतबार एनआरटीको जितमा राजीव लोप्चन र विदेशी खेलाडी टिमोथी ओकेरेकेले समान एक गोल गरेका थिए । चित्लाङलाई हराएको एनआरटी नौ खेलबाट १८ अंक जोड्दै चौथो स्थानमा छ । लिगको अंक तालिकाको दोस्रो स्थानमा प्लानिङ ब्वाइज युनाइटेड, तेस्रो स्थानको लालीगुराँस एसोसिएसनले पनि समान १८ अंक बनाएका छन् । तर, एनआरटी गोलअन्तरमा पछि रहँदा चौथो भएको हो । शीर्ष स्थानमा रहेको नेपाल एपिएफ क्लबले सर्वाधिक २० अंक बनाएको छ । नौ खेलमा ७ अंक जोडेको चित्लाङ १३औँ स्थानमा छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको राष्ट्रिय लिगमा सहिद स्मारक ‘ए’ डिभिजन लिगका १३ तथा प्रेसिडेन्ट लिगबाट छनोट भएका चार क्लबले भाग लिइरहेका छन् । एन्फाले राष्ट्रिय लिग आयोजना गरिरहे पनि रेलिगेसन लागू गरेको छैन । प्रतियोगिताको आइतबारै भएको खर्को खेलमा त्रिभुवन आर्मीले नवजनजागृतिलाई ३–० ले हरायो । मनाङ मस्र्याङ्दी क्लब र प्लानिङ ब्वाइजले गोलरहित बराबरी खेले । 

एनआरटीको सुरुवाती अग्रता 
दशरथ रंगशालामा एनआरटीले सुरुवाती अग्रता लिएको थियो । सुरुदेखि नै आक्रामक देखिएको एनआरटीले खेलको दसौँ मिनेटमा १–० को अग्रता लियो । टोलीलाई राजीवले सहजै डिबक्सबाट गोल गर्दै अग्रता दिलाएका हुन् । तर, चित्लाङले आत्मघाती गोलसँगै खेललाई १–१ को बराबरी गर्यो । एनआरटीका सनम लिम्बूले खेलको ३७औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । त्यसपछि खेलमा रोमाञ्चकता थपियो । पहिलो हाफमा दुवै टोली बराबरीमा रहे । खेलको ५४औँ मिनेटमा टिमोथीले २–१ का लागि गोल गरे । त्यसपछि खेलमा थप गोल भएन । टिमोथीको गोलको सहयोगमा एनआरटीले चित्लाङविरुद्ध महत्वपूर्ण ३ अंक बटुल्यो । 

आर्मीको सहज जित
विभागीय टोली आर्मीले राष्ट्रिय लिगको ६६औँ खेलमा कमजोर प्रतिद्वन्द्वी नवजनजागृति युवा क्लबलाई ३–० ले हरायो । आर्मीको जितमा जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ र कुन्साङ लामाले समान एक गोल गरेका थिए । जनजागृतीविरुद्ध आर्मीले एकपक्षीय खेल प्रदर्शन गरेको थियो । खेलको कुनै पनि समयमा जनजागृतिले आर्मीलाई चुनौती दिन सकेन । जनजागृतिले अधिकांश समयमा रक्षात्मक रणनीति अपनाएको थियो ।

आर्मीले भने विपक्षीको कमजोरीमा गोल गरेको थियो । खेलको नवौँ मिनेटमा कप्तान जर्ज प्रिन्सले आर्मीलाई १–० को अग्रता दिलाए । पहिलो हाफमा आर्मीले थप गोल गर्न सकेन । जनजागृतिले आर्मीविरुद्ध एक गोलले पछाडि परेपछि बलियो रक्षापंक्ति रणनीति अख्तियार गरेको थियो । दोस्रो हाफमा आर्मीले खेल नीति परिवर्तन गरेको थियो । 

खेलको ५४औँ मिनेटमा नवयुगले २–० का लागि गोल गरे । उनले डिबक्सभित्र ओपन गोल गरेका थिए । खेलको ७५औँ मिनेटमा लामाले आर्मीलाई ३–० को स्थितिमा राखे । उनले पनि डिबक्सभित्र प्राप्त सहज पासमा गोल गरेका हुन् । यस नतिजासँगै आर्मीले आठ खेलमा १८ अंक जोडेको छ । जनजागृतिको लगातार आठौँ हार हो । 

सुझावित समाचार