मध्यपूर्वका विमानस्थलमा अलपत्र नेपालीलाई त्यहीँ सुरक्षित राखिने
सरकारले मध्यपूर्वका विमानस्थलमा अलपत्र परेका नेपालीलाई त्यहीँ सुरक्षित राख्ने व्यवस्था मिलाउने जनाएको छ।
आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकमा मध्यपूर्वमा भएको युद्ध र यसबाट नेपाललाई परेको प्रभावबारे छलफल भएको जानकारी दिँदै परराष्ट्रमन्त्री बालानन्द शर्माले यस्तो बताएका हुन्।
युद्धग्रस्त मुलुकमा ट्रन्जिटमा परेका नेपालीको सुविधाको लागि हरेक देशका दूतावासहरूसँगको समन्वयमा नेपाली नागरिकलाई गन्तव्यमा पुर्याउने, तथा कम्पनी अथवा एयरलाइन्सहरूले रेखदेख गर्ने गरी समन्वय भइसकेको मन्त्री शर्माले जानकारी दिए।
त्यहाँ रहेका अधिकांश नेपालीहरूको अहिलेसम्म कुनै पनि हताहत नभएको र सुरक्षाको उचित प्रबन्ध मिलाइसकेको बताउँदै उनले भने, ‘अहिलेलाई यो सबै विमानस्थलहरू बन्द भएको हुनाले कसैलाई फर्काउन पनि सकिँदैन, अगाडि लान पनि सकिँदैन। अहिले जो जहाँ छ, त्यहीँ नै सुरक्षा दिएर राख्ने प्रबन्ध भएको छ।’
नेपालबाट बाहिर जाने विदेशी कामदारहरूलाई नेपालको विमानस्थलमा परेको समस्या श्रम, पर्यटन र परराष्ट्र मन्त्रालयको सहकार्यमा समाधान भइसकेको उनले बताए।
युएईमा इरानले गरेको आक्रमणमा एक नेपालीले ज्यान गुमाए
इरानले युएईमा गरेको हवाई हमलामा एक नेपालीले ज्यान गुमाएका छन्। युएईस्थित नेपाली दूतावासले एक नेपालीको मृत्यु भएको पुष्टि गरेको छ।
युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीका अनुसार एकजना नेपालीको मृत्यु भएको पुष्टि भए पनि उनको नाम खुलेको छैन। युएईको रक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार एक नेपालीसहित एक बंगलादेशी र एक पाकिस्तानी नागरिकले ज्यान गुमाएका छन्। इरानले दुबई र अबुधावीको विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण गरेको थियो।
अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि जवाफमा इरानले अमेरिकी सेनाको बेस रहेका देशहरूमा प्रत्याक्रमण गरिरहेको छ।
पर्यटन बोर्डले मतदानका दिन निःशुल्क सटल बस सेवा सञ्चालन गर्ने
नेपाल पर्यटन बोर्डले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरुको सहज आवागमनका लागि मतदानका दिन (२१ फागुन) निःशुल्क सटल बस सेवा सञ्चालन गर्ने भएको छ।
बोर्डका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्ने यात्रुलाई लक्षित गरी विमानस्थलदेखि काठमाडौं उपत्यकाका विभिन्न पर्यटकीय होटल तथा मुख्य स्थानसम्म सटल बस सेवा उपलब्ध गराइने भएको हो। उक्त सेवा बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने छ।
निर्वाचनका दिन सवारी सञ्चालनमा सम्भावित असहजतालाई मध्यनजर गर्दै पर्यटक तथा हवाई यात्रुको आवागमन सहज बनाउन सेवा सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ। सटल बस सेवा तोकिएका मार्गमार्फत नियमित रूपमा आवतजावत गर्ने छ।
पूर्वमन्त्री श्रेष्ठविरुद्ध सर्वाेच्च पुग्यो अख्तियार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका पूर्व मन्त्री रन्तिा श्रेष्ठलाई थुनामा राख्न माग गर्दै सर्वाेच्च अदालतमा निवेदन दर्ता गरेको छ। पोखराको लिची बगैंचा जग्गा प्रकरणमा श्रेष्ठलाई बिशेष अदालतले पाँच लाख रुपैयाँ धरौटीमा छाडेपछि सर्वाेच्चले आइतबार सो आदेशमा चित्त नबुझी सर्वाेच्च अदालतमा वेरितको निवेदन दर्ता गरेको हो।
बालेन शाहमाथि गोली प्रहार भएको भनेर भ्रामक सूचना फैलाउने युवक पक्राउ
सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गरेको अभियोगमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–७ बस्ने २३ वर्षीय प्रकाश भट्टलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल टिकटकमा `झापामा बालेन साहमाथि गोली प्रहार´ लेखेर पोस्ट गरी भ्रामक सूचना सम्प्रेषण गरी समाजमा नकारात्मक तथा गलत सूचनाहरू प्रवाह गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–५, डबली चोकबाट पक्राउ गरेको हो । उनीउपर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सबइन्जिनियर हत्या प्रकरण : लोकसेवाका प्रतिस्पर्धीको योजनामा हत्या, तीन आरोपी पक्राउ
सिराहाको सुखीपुर नगरपालिका– ९, बैसखा गाउँ घर भई सर्लाहीको जिल्ला सदरमुकाम मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत रहेकै वेला हत्या गरिएका करिब ३७ वर्षीय सबइन्जिनियर प्रमोदकुमार यादवको हत्या लोकसेवा आयोगका प्रतिस्पर्धीको योजनामा भएको खुलेको छ ।
सबइन्जिनियर यादवको हत्या भएको नौ दिनपछि १२ फागुनमा हत्याका मुख्य योजनाकार मानिएका महोत्तरीको रामगोपालपुर नगरपालिका– ५ घर भई सर्लाहीको बरहथवा नगरपालिका– ९, शान्तिटोलमा डेरा गरी बस्दै आएका करिब ३४ वर्षीय गणेशकुमार महतोलाई पक्राउ गरेपछि थप दुईजनालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार महतोको योजनाअन्तर्गत हत्यामा परिचालित सर्लाहीको बसबरिया गाउँपालिका– २, मानपुर घर भई बरहथावामा मुख्य आरोपी महतोको छिमेकी रहेका करिब २२ वर्षीय चन्द्रकिशोर कुशवाह र महोत्तरीको रामगोपालपुर– ५ का करिब २२ वर्षीय विजयकुमार महतो पक्राउ परेका छन् ।
खुकुरी देखाउँदै टिकटक भिडियो बनाउने तीन युवक पक्राउ
सुर्खेतमा सामाजिक सञ्जाल टिकटकमा खुकुरी देखाउँदै भिडियो पोस्ट गर्ने तीन युवकलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार उनीहरूलाई सार्वजनिक शान्ति–सुरक्षामा खलल पुर्याएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कालीकोटको शुभकालिका गाउँपालिका घर भई वीरेन्द्रनगर नगरपालिका– १०, एयरपोर्ट बस्दै आएका १८ वर्षीय सुरेन्द्र शाही, दैलेख घर भई वीरेन्द्रनगर– १०, एयरपोर्ट बस्दै आएका १९ वर्षीय असिम साउद र वीरेन्द्रनगर– ११, पिपिरा बस्दै आएका १८ वर्षीय प्रकाश सुनार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले बताए।
तोलामा पाँच हजार ६ सयले बढ्यो सुनको मूल्य
आइतबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख २० हजार पाँच सय रुपैयाँ तोकिएको छ। गत शुक्रबार सुन प्रतितोला तीन लाख १४ हजार नाै सय रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार आइतबार सुनको मूल्य तोलामा पाँच हजार ६ सय रुपैयाँले बढेको हो।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला पाँच हजार ९८५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको पाँच हजार ७४० रुपैयाँको तुलनामा २४५ रुपैयाँले बढी हो।
बर्दियामा विद्यालयको गाडीले किच्दा बालिकाको मृत्यु
बर्दियामा वद्यालयको बसले किचेर साेही विद्यालयमा अध्ययनरत एक बालिकाको मृत्यु भएको छ। बढैयाताल गाउँपालिका– २ मा रहेको जेनिथ एकेडेमी एजुकेसनल स्कुलको बसले किच्दा सोही विद्यालयको नर्सरीमा पढ्ने चार वर्षीया मेबिना बोहोराको मृत्यु भएको हो।
पैदल यात्रा गरिरहेकी बालिकालाई भे १ क ११५२ नम्बरको बसले ठक्कर दिँदा टाउको र शरीरमा चोट लागेको थियो। बसको ठक्करबाट घाइते भएकी बालिकालाई उपचारको लागि बर्दिया अस्पताल लगिएकोमा अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख सन्दीप बेल्बासेले जानकारी दिए।
विश्वकपका सात खेलमा दक्षिण अफ्रिका अपराजित
आइसिसी टी २० विश्वकप २०२६ मा दक्षिण अफ्रिकाले सातमध्ये सातै खेल्नमा विजय हासिल गरेको छ। समूह चरणका चारै खेल जितेको उसले सुपर ८ का तीनै खेल पनि जितेको छ।
आइतबार भएको खेलमा उसले जिम्बावेलाई पाँच विकेटले पराजित गर्यो।
पहिला ब्याटिङ गरेको जिम्बावेले १५४ रनको लक्ष्य दिएको थियो। १७.५ ओभरमा ५ विकेट गुमाएर दक्षिण अफ्रिकाले सहजै सो लक्ष्य पूरा गरेको हो।
समूह चरणमा दक्षिण अफ्रिकाले क्यानडा, अफगानिस्तान, न्युजिल्यान्ड र युएईलाई पराजित गरेको थियो।