मध्यपूर्वका विमानस्थलमा अलपत्र नेपालीलाई त्यहीँ सुरक्षित राखिने

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

सरकारले मध्यपूर्वका विमानस्थलमा अलपत्र परेका नेपालीलाई त्यहीँ सुरक्षित राख्ने व्यवस्था मिलाउने जनाएको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकमा मध्यपूर्वमा भएको युद्ध र यसबाट नेपाललाई परेको प्रभावबारे छलफल भएको जानकारी दिँदै परराष्ट्रमन्त्री बालानन्द शर्माले यस्तो बताएका हुन्।

युद्धग्रस्त मुलुकमा ट्रन्जिटमा परेका नेपालीको सुविधाको लागि हरेक देशका दूतावासहरूसँगको समन्वयमा नेपाली नागरिकलाई गन्तव्यमा पुर्याउने, तथा कम्पनी अथवा एयरलाइन्सहरूले रेखदेख गर्ने गरी समन्वय भइसकेको मन्त्री शर्माले जानकारी दिए।

त्यहाँ रहेका अधिकांश नेपालीहरूको अहिलेसम्म कुनै पनि हताहत नभएको र सुरक्षाको उचित प्रबन्ध मिलाइसकेको बताउँदै उनले भने, ‘अहिलेलाई यो सबै विमानस्थलहरू बन्द भएको हुनाले कसैलाई फर्काउन पनि सकिँदैन, अगाडि लान पनि सकिँदैन। अहिले जो जहाँ छ, त्यहीँ नै सुरक्षा दिएर राख्ने प्रबन्ध भएको छ।’

नेपालबाट बाहिर जाने विदेशी कामदारहरूलाई नेपालको विमानस्थलमा परेको समस्या श्रम, पर्यटन र परराष्ट्र मन्त्रालयको सहकार्यमा समाधान भइसकेको उनले बताए।

सुझावित समाचार