- झापाको दमकदेखि इलामको पश्चिम–दक्षिणी गाउँपालिका माङ्सेबुङस्थित चिसापानी जोड्ने ३३ किलोमिटर सडक ०५६ यताका हरेक उम्मेदवारको घोषणापत्रमा पर्ने गर्छ
कहिल्यै पूरा नहुने, तर सधैँ चुनावी एजेन्डामा पर्ने झापाको दमकदेखि इलामको पश्चिम–दक्षिणी गाउँपालिका माङसेबुङस्थित चिसापानी जोड्ने ३३ किलोमिटर सडक ०५६ सालयताका हरेक उम्मेदवारको घोषणापत्रमा पर्ने गरेको छ । झापा ५ देखि इलाम २ सम्म जोडिने यो सडक अढाई दशकदेखि चुनाव जित्ने हतियार बन्ने गरे पनि अझै पूरा भएको छैन । पछिल्लोपटक ०८१ मा भएको उपनिर्वाचनमा पनि उम्मेदवारले सडक स्तरोन्नति सबैको प्राथमिकतामा परेको थियो । तर, उपनिर्वाचन सकिएको २२ महिनासम्म काम भने शून्य छ । आसन्न निर्वाचनमा पनि झापा ५ का उम्मेदवार पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पनि यो सडक निर्माणलाई प्राथमिकतामा राखेका छन् । त्यस्तै, इलाम–२ का एमाले उम्मेदवार सुहाङ नेम्वाङ, कांग्रेसका भेषराज आचार्यले आफ्नो प्रतिबद्धतापत्रमा दमक–चिसापानी सडक निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
दमकदेखि चिसोपानीसम्मको ३३ किलोमिटर सडक ट्र्याक खुलेको अढाई दशकसम्म पनि सहज यात्रा गर्न नसकेकोमा स्थानीय नागरिकमा भने निराशा र आक्रोश छ । पश्चिम–दक्षिणी इलाम र पाँचथरका नागरिकको लाइफलाइन मानिएको यो सडक नबन्दा हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने गरेको छ । पटक–पटक चुनावी नारामै सीमित भएको यो सडकलाई यसपटक भने चुनावी मुद्दा नबनाउन मतदाताले आग्रह नै गरेको माङसेबुङ गाउँपालिका– ५ का धड्कन सम्बाहाम्फे बताउँछन् । ‘धेरै लामो समयदेखि चुनावी नारा बनेको छ । तर, सडक बनेको छैन । यसपटक त हामीले बाटोको मुद्दा लिएर नआउँदा हुन्छ, हामीले बुझेका छौँ भनेका छौँ,’ उनले भने, ‘प्रत्येक चुनावमा मुख्य एजेन्डा बन्ने गरेको छ । नारा सुन्दा–सुन्दा दिक्क भइयो । अब विश्वास नै छैन ।’
कहिल्यै पूरा नहुने यो सडक निर्माण हुनेमा स्थानीय नागरिकले आशा मारिसकेको माङसेबुङ– २, इभाङका शिशिर योङहाङ बताउँछन् । ‘सुवास नेम्वाङले पनि यही मुद्दा उठाएर पटक–पटक चुनाव जितेका थिए । उनका छोरा सुहाङले पनि यही मुद्दा लिएर एकपटक चुनाव जिते । फेरि यही मुद्दा लिएर आएका छन्,’ उनी भन्छन्, ‘सधैँ चुनावी मुद्दा बन्छ । तर, बाटो बन्दैन । नागरिकले अब कसरी विश्वास गर्ने ? यही मुद्दामा आश्वासन दिएर नेताले कतिपटक भोट माग्ने ?’
इलाम २ बाट ०८१ को उपनिर्वाचनमा निर्वाचित सुहाङले यपिटक भने आफू निर्वाचित भएको १६ महिनामा सक्ने पहल गरेको दाबी गरे । ‘मैले १६ महिनाको कार्यकालमा पहल गरेँ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि राखियो । त्यसपछि जेन–जी आन्दोलन भयो । त्यसपछि बनेको सरकारको प्रधानमन्त्रीलाई पनि मैले भेटेर आग्रह गरेको छु,’ उनी भन्छन्, ‘मुद्दाका कारण ठेक्का प्रक्रिया सुरु भएको थिएन । अब ठेक्का प्रक्रिया अघि बढ्छ । पहिला पनि ठेक्का त लागेको हो । तर, हामी सबैले निगरानी गर्न नसक्दा निर्माण व्यवसायीले काम गरेनन् ।’
इलाम २ मा कांग्रेसका उम्मेदवार भेषराज आचार्यले प्रतिबद्धतापत्रमा छुटे पनि आफ्नो पहिलो प्राथमिकता दमक–चिसापानी सडक भएको बताए । यो सडक इलाम २ को विकासको मेरुदण्ड रहेको उनको भनाइ छ । ‘सडक हाम्रो पहिलो प्राथमिकता हो । यो यहाँको विकासको मेरुदण्ड नै हो,’ उनले भने, ‘यो सडकलाई कुनै पनि हालतमा छाडेर अरू विकासको काम अघि बढ्न सक्दैन ।’
दमक–चिसोपानी सडकको ३३ किलोमिटर ट्र्याक चौडा गर्ने र कालोपत्रे गर्ने गरी सडक डिभिजन कार्यालय दमकले तीन खण्डमा लगाएको थियो । तर, निर्माण कम्पनीले काम गर्न नसकेपछि विभागले दुई वर्षअघि नै दुई खण्डको ठेक्का तोडिसकेको छ । सडक विभागले दोस्रो र तेस्रो खण्डको ठेक्का तोडेपछि नयाँ ठेक्काको प्रक्रिया अघि बढ्न सकेको छैन । निर्माण व्यवसायी अदालतमा जाँदा ठेक्काको प्रक्रिया पूरा हुन नसकेको हो । दमक–चिसापानी सडकको दोस्रो र तेस्रो खण्ड गरी २६ किलोमिटर सडक निर्माणको जिम्मा लुम्बिनी–गणपति जेभीले पाएको थियो । दुवै खण्ड एकैपटक ठेक्का लागेको हो । दोस्रो र तेस्रो खण्ड सडक कालोपत्रे गर्ने काम २ फागुन ०७६ मा ठेक्का लागेको हो । दोस्रो ५४ करोड ४४ लाख ८७ हजार र तेस्रो ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का लागेको हो । यो दुई खण्डको म्याद २ फागुन ०७९ मै सकिएको थियो । त्यसपछि ०८० पुससम्म समय थपियो । तर, त्यो अवधिमा दोस्रो खण्डको काम ६२ प्रतिशत र तेस्रोमा ३० प्रतिशत मात्र सकिएका कारण सडक विभागले ठेक्का तोडेको थियो । अहिले अदालती प्रक्रियामा रहेकाले नयाँ ठेक्का सुरु हुन नसकेको सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले जानकारी दिए । ‘मुद्दाको विषय नै टुंगिएको छैन । तसर्थ, अहिले नयाँ ठेक्काको प्रक्रिया अघि बढ्न सकेको छैन,’ उनले भने, ‘अदालतबाट कानुनअनुसार आर्बिट्रेसन गर्नु भनेको छ । मुद्दा टुंगिएपछि मात्र प्रक्रियामा जान्छ ।’
पहिलो खण्डको सात किलोमिटरको काम पनि ८० प्रतिशत मात्र भएको सडक डिभिजन दमकका प्रमुख यादवले बताए । पहिलो खण्डअन्तर्गत दमकको प्वाइन्टदेखि सात किलोमिटर सडक निर्माणका ३० महिनाभित्र सक्ने गरी २९ साउन ०७५ मा २२ करोड ५९ लाख ६४ हजारमा ठेक्का लागेको थियो । कालोपत्रेसहितको ठेक्का महालक्ष्मी–किराँतेश्वर जेभीले लिएको थियो । यो खण्डको काम आउने असारभित्र सम्पन्न हुने प्रमुख यादव बताउँछन् ।