बुढ्यौलीमा एक्लोपन

शनिबार, १६ फागुन, २०८२
डिजिटल संस्करण
  • रोजगारी, शिक्षा, स्वास्थ्य सुविधा र राम्रो जीवनस्तरको खोजीमा मानिस सहरतर्फ सर्ने क्रम बढेसँगै ज्येष्ठ नागरिक एक्लिएका छन्

जोगबहादुर तामाङ ८२ वर्षका भए । पछिल्लो ६ वर्षमा उनलाई दुईपटक स्ट्रोक भयो । त्यसैले, उनको विगतको सम्पूर्ण स्मृति हरायो । स्ट्रोककै कारण अहिले उनी दैनिक औषधिको सहारामा जीवन चलाइरहेका छन् । २०२६ सालमै नुवाकोट छाडेर मकवानपुर, चितवन हुँदै बर्दिया पुगेका उनले आफ्नो जीवनकालको ऊर्जावान् समयमा राजनीति, समाजसेवामा समेत बिताए । पञ्चायतकालमै उनी निर्विरोध वडा अध्यक्षसमेत भएका थिए । उनकै पहलमा बर्दियामा प्राथमिक तहको विद्यालयसमेत खुल्यो । तर, उनलाई त्यो घटनाक्रमबारे अहिले केही पनि याद छैन । अहिले उनलाई आफ्नो जन्मथलो नुवाकोटको अमारे र जेठो छोरो रामबहादुर तामाङबाहेक अरू याद छैन । 

सहारा चाहिने यो वेलामा पनि जोगबहादुर दिनभर एक्लै बस्छन् । काठमाडौंको गोकर्णस्थित भैरवचौरछेउ बस्ने उनी घरवरपरै घुम्छन् । बाँकी रहेको समय टेलिभिजन त हेर्छन्, तर केही प्रतिक्रिया दिँदैनन् । उनका छोरा रामबहादुर तामाङका अनुसार ‘बुबालाई आफ्नो जन्मथलो अमारेका केही कुरा मात्र याद छ । जहिले अमारे जाने मात्रै भनिरहनुहुन्छ । त्यहाँको जग्गा, घट्टबाहेक अरू कुरा याद छैन ।’ 

काठमाडौं कपनका ७७ वर्षीय तारानाथ पौडेलको दैनिकी बिहान एक घन्टा हिँडेर सुरु हुन्छ । उनी नजिकैको मन्दिर बिहानै पुग्छन् । तीन छोरा, एक छोरी भएका उनी कान्छो छोरासँग कपनमा बस्छन् । दिनभरजसो एक्लै हुने उनले छोराबुहारीको कार्यालय बिदा हुँदा मात्र सँगै बस्न, खान पाउँछन् । अरू वेला धेरैजसो उनी एक्लै हुन्छन् । ‘नाति–नातिना पनि छन् । तर, हामीसँग खेल्दैनन् । उनीहरूको आफ्नै सुर हुन्छ,’ उनले भने । 

उमेर बढेसँगै उनले प्रेसरको औषधि खान थालेको पाँच वर्ष भइसकेको छ । उनलाई राज्यले आफूजस्तो ज्येष्ठ नागरिकका लागि केही गरे राम्रो हुन्थ्यो भन्ने लाग्छ । तर, कार्यान्वयनको पाटो जहिले फितलो भएकाले उनलाई त्यो विश्वास छैन । ‘हामीलाई महिनाको चार हजार दिन्छ । स्वास्थ्य बिमा बन्द गर्यो,’ उनले भने । 

मिठुमाया बस्नेत वसन्तपुरमा बस्छिन् । उनी ७४ वर्षकी भइन् । पाँच वर्षदेखि उनी काठमाडौं बस्न थालेकी हुन् । काठमाडौंमा बस्न थालेपछि उनको दैनिकी केही घन्टा हनुमानढोका दरबार क्षेत्रमा टहलिएर बित्छ । दिनभर डेरामा एक्लै हुन्छिन् । ‘बिहान नौ बजे उठेर भात पकाउँछु । खान्छु । अनि घाम तापेर दिन बिताउँछु,’ बस्नेतले भनिन् । उनी हनुमानढोका दरबार क्षेत्रमा आउनुको अर्को कारण आफूजस्तै पाका उमेरका साथीभाइ भेटिने र सुखदु:खका कुरा साट्न पाउनु पनि हो । पाठेघरको क्यान्सर भएपछि उनको पाठेघर फालियो । अहिले उनलाई अरू समस्या छैन । 

ओखलढुंगाका रामबहादुर मगर काठमाडौं प्याफल बस्छन् । ७८ वर्षका उनी छोरासँग प्याफल बस्दै आएका छन् । उनको दैनिकी पनि दिनभरजसो दरबार क्षेत्रवरपर बित्छ । ‘भात खायो । आयो । घुम्यो । बुढाहरूसँग गफगाफ गर्यो । यस्तै गरि बित्दै छ,’ मगरले भने । उमेर बढेसँग उनलाई प्रेसर, सुगर, पायल्सको समस्या देखिएको छ । यही वर्ष उनको मुटुको शल्यक्रियासमेत भयो । ओखलढुंगाका उनी रोगले गाँजेपछि धेरैजसो काठमाडौं बस्न थालेका हुन् । तर, सहरमा सबै व्यस्त भएपछि दिन कटाउन यसरी खुला ठाउँ धाउन थालेका हुन् । ‘जस्तो भए पनि खप्नुपर्छ । ठिकै छ,’ उनले यति मात्र भने । उनलाई टिभी, मोबाइल केही चाहिँदैन । उनीसँग समय बिताउने अरू विकल्प पनि छैन । दिनभरजसो आफूजस्तै साथी खोज्दै बस्ने उनले भने, ‘उमेरकै कारण नातिनातिना अर्कै किसिमको, आफू अर्कै किसिमको हुने रहेछ । त्यसैले तीन, चार बजेसम्म यही बसेर समय बित्छ ।’

कालिमाटी बस्ने पूर्णमान शाक्य ८० वर्षका भए । उनका चार छोरा र पाँच छोरी गरी नौ छोराछोरी छन् । उनी कान्छो छोरासँगै कालिमाटी बस्दै आएका छन् । परिवारका सबै सदस्य काठमाडौं लागेपछि उनी पनि घरमा ताला झुन्ड्याएर रामेछापबाट यतै आए । दरबार क्षेत्रमै टहलिँदै गरेका उनले हाँस्दै भने, ‘दिन त बसेरै बित्छ । नहिडौँ भने खुट्टा कुँजिएला ।’ प्रेसरको औषधि खाइरहेका उनलाई यो उमेर मिठो, मसिनो खान र अलिअलि पैसा चलाउने अवस्था भए हुन्थ्यो जस्तो लाग्छ । ‘खान, लाउन र बस्न राम्रोसँग पाए हुन्थ्यो । सरकारले भत्ता त दिन्छ । तर, खानेकुरा नरम, कमलो खोज्ने यो उमेरमा त्यतिले नपुग्ने रहेछ,’ उनले भने । 

रमा गौतम ७९ वर्षको भइन् । उमेर बढेसँगै उनी हिँड्डुल गर्न सक्दिनन् । त्यसैले घरको करेसाबारीभन्दा पर पुग्न सक्दिनन् । उनी समय कटाउन कहिलेकाहीँ सामाजिक सञ्जाल म्यासेन्जर चलाउँछिन् । अमेरिकामा भएका नातिनातिनीसँग वेलावेला कुरा गर्छिन् । त्यसैले उनलाई घरिघरी एक्लो भएको अनुभव हुन्छ । दिक्क लाग्छ । 

‘दिनभर एक्लै हुन्छु । बोल्ने साथी कोही हुँदैन । एक्लै भएपछि दिक्क लाग्छ । मनमा कुरा धेरै खेल्छ । निराश बनाउँछ,’ उनले भनिन् । उनलाई सुगर, एलर्जीजस्ता समस्या छ । एक्लै भएपछि झनै समय काट्न गाह्रो छ । 

पुस्तकालयविद्को रूपमा परिचित इन्दिरा दली पनि उमेरले ७९ वर्ष नै पुगिन् । उमेर हुन्जेल सक्रिय जीवन बिताएकी उनलाई आजकल घुँडा दुख्ने समस्याले सताएको छ । त्यसैले, उनी दिनभर घरमै हुन्छिन् । छोराबुहारी आफ्नै काममा व्यस्त भएपछि उनको दिन पनि घरभित्रै बित्छ । ज्येष्ठ नागरिक अनुभवको धनी भएकाले उनीहरूको अनुभव पुस्तान्तरण गर्न विभिन्न कार्यक्रम हुनुपर्ने र स्वास्थ्य सुविधा नि:शुल्क हुनुपर्नेमा उनी जोड दिन्छिन् । ‘ज्येष्ठ नागरिक अनुभवको धनी हो । त्यो अनुभवको संरक्षण गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्छ । ज्ञानको कुरा पुस्तान्तरण गर्नुपर्छ,’ दलीले भनिन् ।

पूर्ण केशरी श्रेष्ठ ८१ वर्ष पुगिन् । उनको दैनिकी पूजापाठ गरेर सुरु हुन्छ । दिनभर चोकमा घाम ताप्छिन् । चार बजेपछि घरतर्फ लाग्छिन् । मुटुको अप्रेसन गरेका कारण घरदेखि धेरै पर जान सक्दिनन् । तीन छोराछोरी आफ्नै काममा व्यस्त छन् । नातिनातिना पनि काम र पढाइमै व्यस्त भएकाले दिनभरजसो उनी एक्लै पर्छिन् ।

कहिलेकाहीँ टेलिभिजनमा समाचार हेरेर पनि उनी समय कटाउँछिन् । ‘चोकमा आएन भने त एक्लै हो,’ उनले भनिन्, ‘खुसी नै छु । जीवनमा कसैलाई चित्त दुख्ने गरी केही भन्नु छैन । अहिलेसम्म छोराबुहारीले खान दिएको छ । लाउन दिएको छ ।’ राज्यले दिएको चार हजार भत्ता लिइरहेको उनलाई अरू सजिलो हुने केही भए हुन्थ्यो लाग्छ । ‘उमेर बढेसँगै विभिन्न समस्या आउने रहेछ । मुटुको अप्रेसन गरेका कारण कतै जान हुँदैन । हामीलाई पनि व्यस्त बनाउने खालको केही काम गरे हुन्थ्यो,’ उनले भनिन् ।

मंगलबजारकी इन्द्रलक्ष्मी रञ्जित पनि ७६ वर्षमा हिडिँरहेकी छिन् । तैपनि, उनको काम भने चर्कै छ । बिहानै ५ बजे नै उठ्छिन् । आफैँ बिहानको चिया, खाजा बनाउँछिन् । नातिनातिनाका लागि खानासमेत बनाउँछिन् । खाना खाएर घरको काम सकेपछि बचेको समय उनी चोकमा घाम ताप्न निस्किन्छिन् । 

एक महिनाअघि मात्र उनको आँखाको अप्रेसन भयो । अप्रेसनपछि उनले अलि राम्रो देख्न थालेकी छिन् । सुगरको पनि औषधि खान्छिन् । तैपनि, उनी घरभित्रको धेरै काम गर्छिन् । बाँकी बचेको समय घरभन्दा बाहिर निस्केर चोकमा घाम ताप्छिन् । आफूजस्तै साथी खोज्छिन् । किनभने, उनलाई फोन चलाउन आउँदैन । टिभी हेर्न मन लाग्दैन । अहिलेसम्म आफूलाई राम्रै भएको भन्दै कसैलाई नराम्रो भन्न मन नलाग्ने उनी बताउँछिन् । छिमेकीसँगको सम्बन्ध राम्रै छ । ‘घरभित्रको धेरै काम आफँै गर्छु । बुहारीले भ्याउँदा उनले पनि गर्छिन् । घरभित्रको काम सकाएर चोकमा आएर घाम ताप्छु,’ उनले भनिन्, ‘छोराछोरी, नातिनातिना सबै आफ्नै काममा व्यस्त हुन्छन् । कहिलेकाहीँ एक्लो भएकोजस्तो लाग्छ । तर, घरको कामले सबै भुलिन्छ ।’

डम्बरकुमारी तामाङ थापाथली बस्न थालेको २५ वर्ष भयो । उमेरले ७१ वर्ष लागेकी उनलाई अचेल सन्चो छैन । त्यसैले दिनभरजसो सुतेरै बित्छ । चिकित्सकका अनुसार उनको फोक्सोमा पानी जमेको छ । कमजोर आर्थिक अवस्थाका कारण कहिले उपचार हुने हो पत्तो छैन । ‘खै के भयो, भयो । डाक्टरले फोक्सोमा पानी जमेको भन्छ । गाह्रो हुन्छ । सुतेर बसेको तीन महिना भइसक्यो,’ उनले भनिन् । सुकुम्बासी बस्तीमा उनीसँगैको दौँतरी खासै भेटिँ्दैनन् । शरीरले साथ दिएकै वेला पनि उनी वरपर खास डुल्दिनन् । बरु मौका मिल्दा वर्षको एकपटक भए पनि आफ्नो जन्मथलो दोलखा जान्छिन् । बढ्दो उमेर र गाउँमा एक्लै भएपछि उनी यो सुकुम्बासी बस्तीमा बाँकी समय छोरीसँग बिताउन बसेकी हुन् । छोरी, नातिनातिना आफ्नै काममा व्यस्त भएपछि उनीसँग दिनभर सुतेर बस्नेबाहेक अरू विकल्प छैन । ‘सुत्दा–सुत्दा दिक्क लाग्छ । तैपनि के गर्नु,’ उनले भनिन् । रोगको उपचार सहज रूपमा भैदिए हुन्थ्यो भन्ने उनलाई लागेको छ । 

नियात्राकार घनश्याम राजकर्णिकार ८५ वर्षमा हिँडिरहेका छन् । उमेर बढेसँगै आफ्नो शरीरलाई बढी रेखदेख, माया ममता गर्न दिनहुँ योगा, प्राणयाम, हिँडडुल गर्न छुटाउँदैनन् । आफ्नो बुढेसकालमा उनले खानमा विशेष ध्यान दिने, बाहिरका खाना नखाने, सभासमारोहमा कम जाने गरेका छन् । ‘अहिले आफ्नो जीवनलाई डाँडापारिको घाम अर्थात् अन्तिम घडी ठानेर शान्ति पाउन प्रयत्नशील छु । भगवान् बुद्धको शिक्षाअनुसार शान्तिप्राप्त गर्न ध्यान भावनामा निर्लिप्त हुनुपर्छ । यसैमा म अहिले यथाशक्य लागिरहेको छु । त्योबोहक अलिअलि लेख्ने, पढ्ने गरिरहेको छु,’ उनले भने, ‘यो गर्ने, त्यो गर्ने भनेर लागिपरेको छैन ।’

बुढ्यौलीको यो बेला आफूलाई राज्यले केही गर्न नपरे पनि अन्य धेरैलाई बुबा, आमा सम्झेर हेरविचार गर्नुपर्ने बताए । ‘बुढ्यौलीमा राज्यले केयर गर्ने गर्नुपर्छ । स्वास्थ्यको सुविधा सकेसम्म नि:शुल्क गर्नुपर्छ । मासिक भत्ता वृद्धि गर्नुपर्छ । असहाय ज्येष्ठ नागरिकको जिम्मा राज्यले लिनुपर्छ,’ राजकर्णिकारले भने । 

६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक हुन् । विश्वमा यो संख्या १३ प्रतिशत छ । ३.५ प्रतिशतले यो संख्या बढिरहेको देखिएको छ । २०७८ को जनणगनाअनुसार नेपालमा यो संख्या २९ लाख ७७ हजार ३१८ अर्थात् १०.२१ प्रतिशत भएको छ । जुन ०६८ को जनगणनामा २१ लाख ५४ हजार ४१० अर्थात् ८.१३ प्रतिशत थियो । पछिल्लो तथ्यांक हेर्दा नेपालमा पनि ज्येष्ठ नागरिकको जनसंख्या बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष ०७९/८० बाट वृद्ध भत्ता पाउने उमेर घटेर ६८ कायम भएको छ । स्वास्थ्यसम्बन्धी समस्या, आर्थिक समस्या, मानसिक तथा भावनात्मक समस्या, सामाजिक, पारिवारिक समस्याजस्ता विषयमा अझै पनि बहस हुन सकेको छैन । 

ढल्किँदो उमेरसँगै दीर्घरोग, शारीरिक कमजोरी, आँखा, कानको समस्या, उपचार खर्च महँगो हुनु र स्वास्थ्य सेवामा पहुँच कठिन हुने गर्छ । एक्लोपन, तनाव, डिप्रेसन, चिन्ता, आफ्ना अनुभव र विचारको कदर नहुनु थप समस्या बन्ने गरेको छ । छोराछोरी विदेश वा टाढा हुनु, हेरचाह गर्ने व्यक्ति नहुनु, परिवारमै उपेक्षा वा दुर्व्यवहार, समाजबाट अलग्गिएको महसुसजस्ता अरू समस्याहरू भएका छन् । 

यस्तो छ नीति 
रोजगारी, शिक्षा, स्वास्थ्य, सुविधा र राम्रो जीवनस्तरको खोजीमा मानिस सहरतर्फ सर्ने प्रक्रिया बढेको छ । गाउँबाट सहरतर्फ जाने प्रक्रिया बढेसँगै मान्छेका आवश्यकता, चाहनामा फरकपन देखिएको छ । जसले ज्येष्ठ नागरिकलाई थप एक्लाएको छ । ज्येष्ठ नागरिकका लागि हाम्रा नीति, नियमले केही कुरा बोलेको छ । तर, त्यो पर्याप्त देखिन्न । 

ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ अनुसार ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह गर्नु प्रत्येक सदस्यको कर्तव्य हुने भन्छ । ऐनअनुसार सार्वजनिक सवारीसाधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिकस्थलमा ज्येष्ठ नागरिकलाई आवश्यक सेवा, सुविधा र सहयोग प्रदान गर्र्नु–गराउनु सबैको कर्तव्य हुनेछ । सार्वजनिक भाडादरमा ५० प्रतिशत छुट दिनुपर्नेछ । नेपाल सरकारले तोकेको संस्थामा ज्येष्ठ नागरिकले उपचार गराउँदा लाग्ने शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्नेछ । 

दफा २० मा व्यवस्था भएअनुसार ज्येष्ठ नागरिकको हेरचाह केन्द्र वा दिवा सेवा केन्द्रको स्थापना र सञ्चालन स्थानीय सरकारले गर्नुपर्ने भनिएको छ । संघ सरकारले ज्येष्ठ नागरिकको बारेमा धेरै जिम्मेवारी स्थानीय तहलाई दिएको छ । केही काम पनि भएका छन् । काठमाडौं महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोलले माघ १९ गते जारी गरेको भिडियो सन्देशअनुसार ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य जाँच तथा स्वास्थ्य सर्वेक्षण गर्ने भएको छ ।सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले ज्येष्ठ नागरिकप्रतिको पारिवारिक जिम्मेवारीलाई कानुनी तथा नीतिगत रूपमा सुनिश्चित गर्न राष्ट्रिय नीति, ऐन वा नियममार्फत सम्बोधन गर्नका लागि सरकार तयारीमा रहेको बताएकी छिन् ।

के भन्छन् विज्ञ ?
ललितपुरको लगनखेलस्थित मानसिक अस्पतालमा कार्यरत डा. अनन्तराज अधिकारीका अनुसार उमेर ढल्किएसँगै ज्येष्ठ नागरिकमा विभिन्न शारीरिकसँगै मानसिक समस्या आउने गरेको छ । पारिवारिक संरचनामा आएका परिवर्तनले पछिल्लो समय ज्येष्ठ नागरिकमा एक्लोपना, एन्जाइटी, डिप्रेसन, डिमेन्सियाजस्ता समस्या देखिएका छन् । ‘पछिल्लो समय ज्येष्ठ नागरिकमा पनि मानसिक समस्या बढेको देखिन्छ । यसले गर्दा कतिपय ज्येष्ठ नागरिक लागुपदार्थ सेवन गर्ने, अल्कोहलमा फस्ने, आत्महत्यासम्मका घटना घटेका छन्,’ उनले भने, ‘उहाँहरूमा यस्तो समस्या आउन नदिनका लागि परिवार, समुदाय र राज्यले नै काम गर्नुपर्ने हुन्छ ।’ उनका अनुसार बुढ्यौलीमा देखिने यस्ता समस्या समाधानका लागि उनीहरूलाई परिवार साथमा भएको अनुभूति गराउनुपर्छ । आत्मबल र आत्मसम्मान वृद्धि हुने खालका क्रियाकलाप गर्नुपर्छ । उहाँहरूमा मानसिक समस्या देखिएमा मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्छ । 

समाजशास्त्री मीना उप्रेतीले ज्येष्ठ नागरिकको विषयमा कुरा गर्दा व्यक्तिगत, पारिवारिक र सामाजिक परिवेशलाई हेर्नुपर्ने बताइन् । ‘उहाँहरूमा उमेरगत कारण नै विभिन्न समस्या देखिन्छ । त्यसलाई हाम्रो पारिवारिक संरचनामा आएका परिवर्तनले मलजल गरेको छ । प्रविधिको विस्तारले त्यसलाई झनै व्यापक बनाएको छ,’ समाजशास्त्री उप्रेतीले भनिन्, ‘ज्येष्ठ नागरिकलाई वृद्धभत्ता मात्र दिएर हुन्न । उहाँहरू ज्ञानको खानी हो । उहाँहरूबाट ज्ञान लिन नीति नै बनाएर काम गर्नुपर्छ ।’

सुझावित समाचार