के हो राउटेको कोसी ?

शनिबार, १६ फागुन, २०८२
डिजिटल संस्करण

फिरन्ते जीवनशैली बिताउने राउटे जातिले प्रयोग गर्ने कोसीबारे धेरैलाई जानकारी नहुन सक्छ । राउटे जातिलाई सरकारले चार हजार रुपैयाँ भत्ता दिने गरेको छ । भत्ताबाहेक उनीहरू काठका सामग्री निर्माण गर्छन् । बाँदरको सिकार गर्छन् । माग्दै नजिकका गाउँमा पुग्छन् । जंगलमा गएर काठ ल्याई कोसी निर्माण गरी नजिकका गाउँमा गएर अन्नसँग साटेर जीविका चलाउने गर्छन् । आफूले बनाएको काठको भाँडा बोकेर अन्न साट्न गाउँमा पुग्ने र फर्केर आउन भ्याउने समय अन्दाज गरेर उनीहरू बाँसको व्यवस्था गर्छन् ।

कोसी काठबाट बनाइन्छ । यो कचौरा आकारको हुन्छ । यो हातले कुँदेर वा खोपेर बनाइन्छ । कोसी बनाउनका लागि काठलाई आवश्यक साइजमा काटिन्छ । बाहिरी भागलाई बन्चरो वा धारिलो औजारले गोलो आकार दिइन्छ । भित्र खोस्रिने (खोप्ने) गरिन्छ । बिच भागलाई बिस्तारै खोपेर भाँडोको आकार बनाइन्छ । मोटाइ मिलाएर हल्का र सन्तुलित बनाइन्छ । त्यसपछि सफा र चिल्लो बनाइन्छ । सतहलाई घोटेर पनि चिल्लो बनाइन्छ । कहिलेकाहीँ प्राकृतिक तेल लगाएर टिकाउ बनाइन्छ । कोसी दैनिक खाना खाने वा सामान राख्ने कामका लागि प्रयोग हुन्छ । कोसी बिक्रीले उनीहरूको जीविकोपार्जनका लागि धेरै सहज भएको छ । कोसी बनाउनका लागि सिमल, टुनीलगायत कडा काठ छनोट गरिन्छ । काठ सुक्खा र बलियो हुनुपर्छ । 

दीपक राउटेका अनुसार राउटेहरूले कोसीको धेरै काममा प्रयोग गर्दै आएका छन् । ‘कोसीमा आफूलाई जे सजिलो लाग्छ, त्यो राख्दा हुन्छ । राउटेहरूले पिठो, रोटी राख्ने गर्छन्,’ राउटेले भने । उनीहरूलाई कोसी बनाउन एकदेखि दुई दिनसम्म लाग्छ । उनीहरूले यस्ता कोसी विभिन्न महोत्सव, सम्मेलनमा लगेर बिक्रीसमेत गर्ने गरेका छन् । यसका लागि राउटे समुदायको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका लालबहादुर खत्रीले संयोजन गर्दै आएका छन् । उनीहरूले बनाएका कोसी एक हजार रुपैयाँमा महोत्सवमा किन्न पाइन्छ । कोसी बिक्री गरेर उनीहरूले चामल, लत्ताकपडाजस्ता दैनिक उपभोग्य सामग्री किन्ने गरेका छन् । यस्ता धेरै महोत्सवमा सुर्खेतको लेकबेँसीमा बस्ने राउटेहरू पुग्ने गरेका छन् । राउटे युवाहरू गाजली राउटे, दीपक राउटे र बन्दवीर राउटे त्यस्ता महोत्सवमा धेरैजसो पुग्ने गरेका छन् । 

माघ अन्तिम साता काठमाडौंमा भएको नेपाल आदिवासी ज्ञान महोत्सवमा समेत उनीहरूले बिक्रीका लागि ७० वटा कोसी ल्याएका थिए ।
 

See More On

सुझावित समाचार