रवि–बालेन सम्बन्ध : गीतबाट सुरु भएको प्रीत

शनिबार, १६ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह कुनै वेला दुई नदीका किनारजस्ता थिए । उनीहरू आपसमा तिखो आलोचना गर्थे, कटाक्षका शब्द खनिन्थे । सम्बन्ध यति चिसिएको थियो कि राजनीतिक वृत्तमा कुरा हुन्थ्यो, ‘यी दुई भाइ कहिले मिल्दैनन् ।’

थोरै फ्ल्यासब्याकमा जाऔँ । ०७९ मा स्थानीय तहको निर्वाचनमा शाह काठमाडौं महानगरपालिकाको मेयरका प्रत्याशी बनेका थिए । त्यसवेला लामिछाने ग्यालेक्सी टेलिभिजनमा कार्यरत थिए । टेलिभिजनमा अन्तरवार्ता लिँदै लामिछानेले शाहलाई सोधेका थिए, ‘तपाईंले ९० हजार भोट ल्याएर जित्छु भन्नुभएको छ । भोटै काउन्ट गरेर भन्नुभएको छ । त्यो अलि गफजस्तो सुनिन्छ ।’ शाहले प्रतिप्रश्न गरेका थिए, ‘तपाईंको झोलामा १० वटा सुन्तला छ भने लगभग १० वटा छ भन्नुहुन्छ कि १० वटै भन्नुहुन्छ ?’

यता शाह महानगरको मेयरमा निर्वाचित भए । उता लामिछाने टेलिभिजनबाट राजीनामा दिएर राजनीतिक मैदानमा उत्रिए । राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बने ।

रास्वपाले प्रतिनिधिसभामा २० सिट जित्यो । लामिछाने गृहमन्त्री बने । उनी गृहमन्त्री हुँदा शाहले नदी किनारका सुकुमबासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग माग्यो । मन्त्रालयमै पुगेर लामिछानेलाई भेटे र समस्या समाधानका लागि आग्रह पनि गरे । तर, लामिछानेले प्रक्रिया पुर्याएर निर्णय गर्ने जवाफ फर्काए । 

दुई भाइको चर्चाचर्की परेको एउटा प्रसंग थियो, भुटानी शरणार्थी प्रकरण । ०८० वैशाखतिरको कुरा हो । भुटानी शरणार्थी प्रकरणले संसद् र सडक तातियो । शरणार्थी प्रकरण र भ्रष्टाचारविरोधी आन्दोलनमा लामिछाने सडकमा ओर्लिए । त्यसवेला उनी गृहमन्त्रीबाट बाहिरिसकेका थिए । लामिछानेलाई लक्षित गरी शाहको लेखे, ‘तपाईंहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई होइन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।’

राजनीतिमा स्थायी मित्र वा शत्रु हुँदैन भन्ने भनाइलाई उनीहरू आफैँले पछिल्लो समय पुष्टि गरेका छन् । कहिले सामाजिक सञ्जालमा कटाक्ष गर्ने, कहिले असहयोगमा र असहमति देखाउने यी दुई अनुहार अहिले सँगसँगै चुनावी अभियानमा देखिएका छन् । नेपाली राजनीतिमा यो दृश्य धेरैका लागि ‘सरप्राइज’ बनेको छ ।

दुई नेताबिच कटाक्ष र घोचपेच चलिरहँदा देशमा पुराना राजनीति दलप्रति आक्रोश चुलिँदै थियो । यता आक्रोशको अभिव्यक्ति सडकमा देखियो । जेन–जी आन्दोलन भयो । संसद् विघटन भयो । नयाँ निर्वाचनको घोषणा भइसकेपछि राजनीतिक धु्रवीकरण तीव्र बन्यो । यही पृष्ठभूमिमा वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने बहस उठ्यो । त्यो ‘वैकल्पिक शक्ति’को केन्द्रमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी देखिन थाल्यो ।

तर परिस्थिति सहज थिएन । पार्टी सभापति लामिछाने कारागारभित्र थिए । यहीबिच शाह र लामिछानेबिच सम्भावित सहकार्यको चर्चा बाहिरिन थाल्यो । यी दुई पात्रको सम्भावित मिलनले नेपाली राजनीतिमा ‘सरप्राइज’ दिन सक्ने आकलन गर्न थालियो । रास्वपाभित्र ‘अब नमिली हुँदैन’ भन्ने बहस क्रमश: बलियो बन्दै गयो ।

दसैँआसपासको कुरा हो । रास्वापाले स्वर्णिम वाग्लेको नेतृत्वमा शिशिर खनाल, पुकार बमसहितको वार्ता टिम बनायो । जसले नयाँ शक्तिहरूसँग वार्ता गर्ने जिम्मेवारी लियो । अन्तरिम सरकारको मन्त्री रहेका कुलमान घिसिङसँग पनि सहकार्यको कुरा वार्ता टिमले गर्यो । यसै सन्दर्भमा शाहसँग पनि छलफल गर्ने कुरा उठ्यो ।

रास्वपाका नेता असिम शाहका अनुसार घिसिङलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने सम्भावनाबारे आन्तरिक बहस भएको थियो । जेलभित्र रहेका कारण तत्काल लामिछानेलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने अवस्था थिएन । नेता शाह भन्छन्, ‘त्यसवेलासम्म बालेन्द्र शाह र रवि लामिछानेलाई एउटै टेबलमा बसाल्न सकिन्छ भन्ने विश्वास कसैलाई थिएन ।’

तर, वार्ता टोलीले पहल गर्न छाडेन । शिशिर खनाल, स्वर्णिम वाग्ले र बालेन शाहका टिमका कुमार बेनबिच गोप्य बैठक बस्यो । दुई नेताको सहकार्य सम्भव छ भन्ने विश्वास वार्ता टोलीमा बढ्दै गयो । 

सम्बन्धको सेतु बने असिम
प्रारम्भिक गोप्य छलफलपछि शिशिर खनाल र असिमबिच छुट्टै भेट भयो । शिशिरले कुमार बेनसँग सकारात्मक संवाद भएको जानकारी दिए । सम्भावनाकोे झिल्को देखिएको थियो । त्यसपछि असिम र उनका दाजु आसिफ सक्रिय भए । उनीहरूले बालेन शाहसँग संवाद अघि बढाउने रणनीति बनाए ।

संवादका केही चरणपछि दुई भाइले थाहा पाए, बालेन राजनीतिको मूलधारमा आउने मनस्थितिमा पुगेका छन् । तर, कुन पार्टी रोज्ने भन्ने निणर्यमा पुगेका छैनन् । उता सबैभन्दा कठिन काम थियो– रवि लामिछानेलाई कसरी समेट्ने ? लामिछानेसँग असिमको व्यक्तिगत सम्बन्ध राम्रो थियो । तर, दुई पात्रलाई एउटै टेबलमा ल्याउनु सामान्य कुरा थिएन । असिम–आसिफ दाजुभाइको बुझाइ थियो– रवि र बालेनलाई एक ठाउँमा ल्याउन सक्ने हामी नै हौँ । एकठाउँमा ल्याउन फरक तरिका अपनाउनुपर्छ ।

‘यो पहल कुनै व्यक्तिगत स्वार्थका लागि थिएन,’ असिम भन्छन् ‘नेपाली राजनीति असामान्य मोडमा थियो । चुनावको वातावरण अनिश्चित थियो । वैकल्पिक शक्तिहरूलाई एउटै मञ्चमा देख्ने चाहना धेरैको थियो । दुईजनालाई एक ठाउँमा ल्याउन सके राजनीतिमा नयाँ सन्देश जान सक्थ्यो भन्ने विश्वास थियो ।’
यही विश्वासबाट योजना बन्यो, रवि–बालेनको मिलन । अनि असम्भवजस्तो देखिएको सम्भावनाले आकार लिँदै गयो । 

०००

लामिछानेलाई भेट्न असिम नियमित कारागार पुगे । पहिलो भेटमा उनले भने, ‘बालेनसँग सहकार्यको सम्भावना छ ।’ लामिछानेबाट कडा प्रतिक्रिया कडा आयो । असिम लामिछानेलाई उद्धृत गर्दै भन्छन्, ‘कहाँ हुन्छ यस्तो कुरा ? यस्तो पनि सम्भव हुन्छ ? भन्नुभयो ।’

असिमले शाहसँग मात्रै होइन, समेत सहकार्यको विकल्प भएको जानकारी लामिछानेलाई गराए । तर, पहिलो बैठकमा निराश भएर फर्किए असिम ।

उता बालेन शाहसँगको संवाद पनि सहज थिएन । दुई अलग व्यक्तित्व । एकातिर फरक राजनीतिक यात्राबाट आएका लामिछाने, अर्कातिर स्वतन्त्र छविबाट उदाएका शाह ।

असिम रविलाई भेट्न दोस्रोपटक कारागार पुगे घिसिङसँग। फेरि बालेनसँग मिल्ने प्रस्ताव राखे । रविले सिधै अस्वीकार गरे । तेस्रोपटक पनि अस्वीकार गरे । तर, असिमले हार मानेनन् । उनले रविसँग पटक–पटक कारागार पुगेर संवादलाई निरन्तरता दिए । क्रमश: रवि पनि सुन्ने मोडमा आए । ‘विश्वासको सानो झिल्को देखापर्न थाल्यो र यता बालेनसँग पनि निरन्तर वार्ता चलिरहेको थियो,’ असिम भन्छन् । 

सबै भेटघाट गोप्य रूपमा चलिरहेको थियो । रवि, बालेन, असिम, आसिफ, स्वर्णिम, शिशिर र कुमारलाई मात्रै भेटघाटबारे थाहा थियो । सीमित टिमले दुवैतिर वार्ता अघि बढाइरह्यो । 

लामिछाने जेलभित्र थिए । जेलमै भेट गराउने विकल्प सम्भवजस्तै थिएन । ‘स्वास्थ्य बहानामा अस्पताल पुर्याउने उपायबारे सोचियो, तर त्यो अत्यन्त जोखिमपूर्ण र नैतिक रूपमा जटिल थियो । रविदाइले बिरामीको बहाना गर्ने कुरा असम्भवजस्तै थियो । उहाँ प्रेसरका बिरामी हुँदा पनि अस्पताल जान अस्वीकार गर्नुभएको थियो । आफ्नै अडानमा अडिग’, असिम भन्छन् । उता शाह जेलभित्र पुगेर लामिछानेलाई भेट्ने वातावरण पनि सहज थिएन । त्यहीबिच बालेन शाह पितृशोकमा परे । झन्डै १५ दिन संवाद हुन सकेन । पछि फेरि संवाद अघि बढाए । अन्तत: वैकल्पिक उपाय सोचियो, फोन संवाद । निश्चित मिति तय गरियो । कम्तीमा एक घन्टा प्रत्यक्ष फोन वार्ता गराउने तयारी भयो । ‘सबै सेटअप लगभग तयार भइसकेको थियो,’ असिम सुनाउँछन्,‘ठिक त्यही दिन अदालतले रविदाइ जेलमुक्त हुने निर्णय सुनायो । फोन संवाद गर्ने भनेकै दिन रिहा हुनुभयो ।’

लामिछाने जेलमुक्त भएपछि औपचारिक वार्ताका लागि बाटो खुल्यो । अब प्रश्न फेरियो,‘कसरी भेटाउने ? कहाँ भेटाउने ?’

त्यो संगीतमय साँझ
पहिलो प्रत्यक्ष भेटका लागि स्थान छानियो—कमलपोखरीस्थित असिम शाहको घर । समय तोकियो—साँझ ७ बजे । पुष ८ गते । बालेन शाह पौने ७ बज्दै आइपुगे । बैठक कोठामा राखिएको गितार देख्नेबित्तिकै उनी बजाउन थालिहाले । असिम सुनाउँछन्, ‘त्यो साँझ पुराना नेपाली गीत, केही हिन्दी गीत, बिचबिचमा हल्का र्याप पनि मिसाएर गाउनुभयो । महम्मद रफीको गीत पनि गाउनुभयो । माहोल रमाइलो हुँदै गयो । केही मिनेटपछि रविदाइ आइपुग्नुभयो । उपस्थित सबैले स्वरमा स्वर मिलाउँदै गाउन थाल्यौँ ।’ 

माहोल औपचारिक थिएन । बैठकजस्तो पनि थिएन । गीतले दुई नेताबिचको दूरी घटाइसकेको थियो । असिमका अनुसार त्यो भेटको एजेन्डा नै दुई नेताबिच खुलेर कुरा होस् भन्ने थियो । नभन्दै रवि–बालेनबिच ठट्टा पनि चल्यो । बिस्तारै दुवैजना खुल्दै गए । त्यसवेला राजनीतिक योजनाभन्दा पारिवारिक कुराकानी भए । भविष्यको योजना, विगतका संघर्ष– दुवैले खुलेर बाँडे । असिम भन्छन्,‘गीतले माहोल हलुका बनायो । माहोल यति आत्मीय हुँदै गयो कि समय गएको पत्तै भएन । माहोल केवल सांगीतिक मात्रै थिएन । गीतपछि दुवैजनालाई केही समय बेग्लै कोठामा राखियो ।’

भेटपछि असिमले एउटा योजना बनाए, रवि–बालेनलाई एउटै गाडीमा राखेर बाहिर निकाल्ने । गाडी निस्किँदा दृश्य केही फिल्मीजस्तै देखियो । रवि–बोलेन एउटै गाडीमा बसेको तस्बिर सामाजिक सञ्जालमा छायो । त्यो तस्बिरले धेरै अर्थ बोकेको थियो ।

तर, त्यतिवेलासम्म कुनै औपचारिक निष्कर्ष बनेको थिएन । असिम भन्छन्, ‘प्रधानमन्त्री को बन्ने भन्ने प्रश्न झन् टाढाको कुरा थियो । त्यो साँझ केवल दुईजनालाई सँगै राखेर भेटघाट मात्रै गराइयो ।’ 

त्यसपछि बैठकको स्थान फेरियो । गोपनीयता झन् कडा गरियो । दुईजनाको दोस्रो बैठक बस्यो । तर, रवि अझै पूर्ण रूपमा बालेनसँग मिल्न सहमत थिएनन् । यसैबिच बालेनको ज्वागलमा भेटघाटको शृंखला सुरु भयो । रवि–बालेनको वार्ता झन्डै भंग हुने अवस्थामा पुगेको थियो । असिमका अनुसार बालेन शाहले आफ्नै बाटो तय गर्ने संकेत दिन थालिसकेका थिए । ‘बालेनले स्वतन्त्र रूपमा पार्टी खोल्ने तयारी अघि बढाइसकेका थिए । ज्वागलमै कार्यालय राखेर अघि बढेका थिए ।’

त्यो गतिले लामिछानेलाई सोच्न बाध्य बनायो । असिमका अनुसार यदि बालेन एक्लै अघि बढे भने समीकरण अर्कै दिशामा जान सक्थ्यो । म्याराथन बैठकपछि रवि र असिमबिच गम्भीर छलफल भयो । अन्तत: रवि सहमतिनजिक पुगे ।

असिमले फेरि रविलाई आफ्नै गाडीमा राखेर ज्वागल बालेनसँग भेट्न पुर्याए । त्यहाँ ‘वान–टु–वान’ वार्ता भयो । अन्तत: रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउँने कुरा बाहिरियो । त्यो मिटिङ सम्झिँदै असिम भन्छन्,‘रविदाइको अनुहारको रङ केही गम्भीर निर्णय गरेजस्तो देखिन्थ्यो ।’

त्यसअघि बनेको वातावरणमा कुलमान घिसिङलाई पनि छलफलमा बोलाइएको थियो । कुलमानसहित रवि र बालेनको एउटा बैठक बालुवाटारमा बस्यो । त्यसवेला गोप्य भनिएको बैठकको सूचना बाहिरियो । तर, त्यो वार्ता निष्कर्षविहीन टुंगियो । कुलमानसँग सहकार्यको सम्भावना क्रमश: कमजोर हुँदै गयो । रवि–बालेनबिचको सम्बन्धले आकार लिँदै गयो । अन्तिम सहमति बनाउने रणनीति तय भयो । राति बालेन पक्षबाट भूपदेव शाहहरू आए । रवि पक्षबाट शिशिर खनाल, स्वर्णिम वाग्ले, डिपी अर्याललगायत सहभागी भए ।

तर, मुख्य प्रश्न उही थियो— शक्ति बाँडफाँट कसरी गर्ने ? छलफलबाट एउटा सूत्र आयो— एकजनाले पार्टी सञ्चालन गर्ने, अर्काले प्रधानमन्त्रीको उम्मेदवारको जिम्मा लिने । ‘प्रधानमन्त्रीको उम्मेदवार को ? पार्टी सभापति, केन्द्रीय समिति, पदाधिकारी बाँडफाँट कसरी ? लगायत विषयमा छलफल भयो । त्यसैअनुसार सहमतिका बुँदा कोरिन थाले । त्यसवेला राति ११ बजिसकेको थियो,’ असिम सम्झिन्छन् ।

सहमति औपचारिक घोषणामा पुग्न बाँकी थियो । राजनीतिक अंकगणितभन्दा पर, व्यक्तिगत विश्वासको आधारमा बनेको रवि–बालेनको मिलन आफ्नो निर्णायक क्षणतर्फ अघि बढिरहेको थियो । रातभर चलेको छलफलपछि बिहान ४:१४ बजे सहमतिको मस्यौदा टुंगियो । राजनीतिक रूपमा यो ठुलो सन्देश थियो— नयाँ पुस्ताका दुई अनुहार एउटै फ्रेममा । ‘एकजना सभापति भएर पार्टी चलाउने सहमति भयो । एकजना प्रधानमन्त्री भएर सरकार चलाउने योजना बन्यो,’ उनी भन्छन्,‘बालेनले मेयरबाट राजनीतिमा दिएपछि पार्टी प्रवेश गराउने र चुनावी प्रचार गर्नेसम्मको योजना बन्यो ।’

रास्वपाका नेता तथा बालेननिकट मानिने सस्मित पोखरेलका लागि रवि लामिछाने र बालेन्द्र शाहबिचको सहकार्य कुनै आकस्मिक राजनीतिक गणित होइन । उनी यसलाई समय, जनमत र वैकल्पिक धारको स्वाभाविक मिलनको रूपमा व्याख्या गर्छन् । उनका अनुसार, दुवै नेताहरू वैकल्पिक राजनीतिक धारबाट आएकाले उनीहरूको मिलन जबर्जस्ती गठजोड नभई अर्गानिक प्रक्रिया हो । उनी भन्छन्,‘जेन–जी आन्दोलनपछि ग्राउन्डबाटै वैकल्पिक शक्तिहरू एक हुनुपर्छ भन्ने आवाज आयो । विशेषगरी रवि र बालेन एकै ठाउँमा उभिनुपर्छ भन्ने दबाब बलियो थियो । यही राजनीतिक माहोलले दुईजनाको सहकार्यको वातावरण तयार भयो ।’ 

पोखरेलको बुझाइमा, पछिल्लो समय दुवै नेताको कार्यशैली पनि मिल्दोजुल्दो थियो । लामिछानेको प्राथमिकता पार्टीलाई बलियो बनाएर चुनावमा लैजाने थियो । त्यसमा शाहले सहयोगी भूमिका खेले । मेयरका रूपमा कार्यकारी अनुभव बटुलेका बालेन सरकार सञ्चालनमा एक्जिक्युटिभ ढंगले काम गर्न सक्षम देखिएको पोखरेलको विश्लेषण छ । ‘पार्टी  र सरकार चलाउँदा एकअर्कालाई सघाउने स्पष्ट समझदारी बनेको छ,’ उनी भन्छन्, ‘दुवैको केमेस्ट्री मिलेको छ र एकअर्काबाट प्रभावित पनि छन् । भविष्यको सम्भावनालाई ध्यानमा राखेर निर्णय गर्ने बालेनको स्वभाव, र संगठन निर्माणमा केन्द्रित रविको भूमिका हुने भएकाले सहकार्य दीर्घकालीन छ ।’

विवेकशील पार्टीका पूर्वनेता मिलन पाण्डेको बुझाइमा लामिछाने र शाहबिचको समझदारी सुझबुझपूर्ण निर्णय हो । उनका अनुसार, निर्वाचनका दुवै नेताले आफ्नो इगो र व्यक्तिगत लोकप्रियतालाई साइडमा राखेर सम्झौता गरेको देखिन्छ । पाण्डे भन्छन्,‘सम्झौताको स्वरूप हेर्दा एकजनाले पार्टीको कमान्ड सम्हाल्ने, अर्काले सरकारको सम्हाल्ने देखिन्छ । यो एक तहको राजनीतिक परिपक्वता हो ।’

पाण्डेका अनुसार, नेपालको राजनीतिमा सहकार्य प्राय: टिकेको देखिँदैन । ‘पार्टी निर्माण गर्दा एकजुट हुन्छन्, तर प्रतिफल लिने वेला विवेक र राजनीतिक सन्तुलन गुम्दा समस्या आउँछ,’ उनी भन्छन्, ‘अहिले देशभर घन्टी बजिरहेको छ । यो घन्टी पुराना दलहरूलाई मात्र होइन, रास्वपा स्वयंका लागि पनि बजिरहेको हो । यदि गलत आश्वासन दोहोरियो भने जनताले फेरि घन्टी बजाउने चेतावनी दिइरहेका हुन् ।’

राजनीतिकशास्त्री प्रा. कृष्ण पोखरेल रवि–बालेनको मिलनले  पुराना राजनीतिक दलहरूलाई विद्युतीय झट्का दिएको बताउँछन् । उनीहरूको मिलनले  नेपालको राजनीतिमा नयाँ रसायन सिर्जना गरेको पोखरेलको विश्लेषण छ । ‘उनीहरूलाई वैचारिक हिसाबले लोकप्रियतावादी भनिन्छ । तर, जसले जे भने पनि अहिले काम डेलिभर गर्ने नेतृत्व चाहिएको छ’, पोखरेल भन्छन् ‘उनीहरूको एजेन्डा मिल्यो र एकैठाउँमा आएका हुन् । पुराना राजनीतिक दलहरू राज्य दोहनमा लागे । त्यसकारण हामी अघि सर्नुपर्छ भनेर उनीहरू आएको देखिन्छ ।’

पुराना राजनीतिक दलहरूको असफलताले रवि–बालेन मिलन सम्भव गराएको मान्छन् उनी । ‘वैचारिक र सैद्धान्तिक रुपले प्रस्ट छौँ भन्ने राजनतिक दलहरूले साँच्चै डेलिभर गरेको भए रास्वपा आवश्यक थिएन,‘उनी भन्छन्,‘रवि–बालेनको अग्निपरीक्षा निर्वाचनपछि सुरु हुनेछ । सरकार बनाउनु र चलाउनु फरक कुरा हुन् । राष्ट्रिय सभामा रास्वपाका एउटा पनि सिट छैन । विधेक र बजेट पास गर्दा राष्ट्रिय सभाबाट पारित हुनुपर्छ । त्यसैले आउने यात्रा कठिन छ ।’

सुझावित समाचार