नेताले जितेको, जनताले हारेको देश

शनिबार, १६ फागुन, २०८२
डिजिटल संस्करण
  • डेसेनको पत्र पढ्दा डा. भट्टराईले जितिरहेको देखिन्छ, कसैले जित्नलाई कसैले हार्नुपर्छ, विचारणीय छ, नेताले जित्दा जनताले पटक–पटक हारेको देश हो नेपाल

धेरैअघिको होइन, मात्रै १२ वर्षअघिको हो । पहिलो संविधानसभा विघटन भएर देश दोस्रो संविधानसभाको दौडमा थियो । माओवादी पार्टी टुक्राटुक्रा हुँदै थियो । त्यहीवेला प्रधानमन्त्रीबाट राजीनामा दिइसकेका डा. बाबुराम भट्टराईले एक पत्रिकामा लेखे, ‘खाँचो नयाँ शक्तिको ।’

लेखको सार थियो, नवउदारवाद र समाजवाद दुवैको राम्रा पक्ष लिएर नेपाल बनाउने । यो विचारको प्रशंसा र आलोचना दुवै भयो । त्यही वेला मानवशास्त्री डा. मेरी डेसेनले बाबुरामको नाममा चिठी लेखिन् । अंग्रेजीमा लेखिएको चिठीलाई लेखक खगेन्द्र संग्रौलाले अनुवाद गरेर नाम दिए,‘बाबुरामलाई चिठी : विकास वा विनाश?’

चिठीबारे डा. भट्टराईले ट्विटरमा यति लेखे, ‘मेरी डेसेन लिखित’ बाबुरामलाई चिठी’ पढ्दा उनको खैरो किताबी मार्क्सवाद र मेरो हरियो जीवन्त मार्क्सवादबिचको अन्तर बुझ्न मद्दतै पुग्ने लाग्यो !’ डेसेनले त्यहीँ टिप्पणी गरिन्,‘खैरो रुख बाँकी नराख्ने विनाश भएपछि हरियो पात कहाँ फल्ने हो ? आफैँलाई डाइनोसर इकोनोमिक्सबाट मुक्त गरी मुलुक जोगाउनुमा लाग्नुस् ।’ त्यसपछि टिप्पणी अघि बढेन ।

पहिलो संविधानसभाबाट संविधान बन्न नसक्नुको कारण भट्टराईले दुई विश्वदृष्टिकोणबिचको टकराव मानेका थिए । सोही लेखमा उनले लेखेका थिए, ‘...एउटा नवउदारवादी चिन्तन, जसले व्यक्ति र निजत्वलाई प्रधान मान्छ । अर्को मार्क्सवादी वा समाजवादी दृष्टिकोण, जसले सामूहिकता वा समाजलाई प्रधान मान्छ र व्यक्तिलाई सहायक । यी दुई दृष्टिकोणबिच राजनीति, समाजशास्त्र, अर्थशास्त्र, संस्कृति, सौन्दर्यशास्त्र सबै क्षेत्रमा बहस र प्रतिस्पर्धा पनि छ । पहिलो संविधानसभा विफलतामा टुंगिनुको मूल कारण यिनै दुई दृष्टिकोणको द्वन्द्व थियो । दुइटैले दुईतिर तान्न खोज्दा संविधान बनेन ।’

नवउदारवादीको निजत्वप्रधान र समाजवादीको समाजप्रधानबारे डेसेनले सन् १९९२ मा प्रकाशित इरानी श्रमिक कम्युनिस्ट पार्टीका नेता मनसुर हेकमतको अन्तर्वार्ताको लामो अंश साभार गरेकी छिन् । हेकमतको भनाइ छ, ‘..पुँजीवादी समाज त्यस्तो समाज हो, जसले सबै मानिसलाई आर्थिक श्रमविभाजनद्वारा निर्धारित ढाँचामा ढालेर एकैनासको बनाउँछ । यो प्रणालीमा हामी जीवनसम्बन्धी आफ्ना वैयक्तिक विचार भएका, आफ्नो खास मनोविज्ञान, स्वभाव र संवेगहरू भएका विशिष्ट मानिस नभई खास आर्थिक पदमा रहेका पदाधिकारी हौँ ।’ समाजवादबारे हेकमतले भनेका छन्, ‘...यसविपरीत समाजवाद त्यस्तो समाज हो जसमा आफ्नो आर्थिक जीवनमाथि मानिसहरूको नियन्त्रण कायम हुन्छ, मानिसहरू अन्धा आर्थिक नियमका सिक्रीबाट मुक्त हुन्छन् र मानिसहरू आफैँ सचेत रूपले आफ्नो आर्थिक क्रियाकलापलाई परिभाषित गर्छन् ।’ हेकमतको विचार अघि सार्दै डेसेनले समाजवादले व्यक्तिको निजत्वलाई मतलब नगर्ने भट्टराईको मतमाथि कडा प्रतिवाद गरेकी थिइन् ।

लेखमा भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रलाई पुँजीवादी क्रान्तिको भू्रण भनेका थिए । पुँजीवादी क्रान्तिका प्राप्त उपलब्धिलाई संस्थागत गरेर समाजवादतिर पुग्न नयाँ नेतृत्व चाहिने विचार अघि सारेका थिए । भट्टराईको विचारप्रति डेसेनले गहिरो विमति राखेकी थिइन् । नवउदारवादको बाटोमा देश अघि बढ्दा सबैभन्दा धेरै क्षति नेपालको विविधतामा पर्ने चिन्ता डेसेनको थियो । वैदेशिक लगानीबाट देश बन्ने झुटो सपनाको उनले कडा आलोचना गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘म आधुनिकताको नाममा पश्चिमा अतिउपभोगको अन्धानुकरण गर्ने कुरालाई अस्वीकार गर्छु । नेपालको वामशक्ति यो रोगबाट आक्रान्त छ ।’

ओरालो यात्रा
डेसेनको पत्र पढ्दा भट्टराईको राजनीतिक यात्रा स्मृतिमा नाच्न थाल्छ । भट्टराईको क्रान्तिकारी यात्रा सम्झिँदा जो कोही तरंगित हुग्छन् । २०५२ मा ४० बुँदे माग तत्कालीन देउवा सरकारसमक्ष राखेर जनयुद्धमा होमिँदा होस् वा जनयुद्धका भीषण दिनहरूमा होस् उनको छवि अग्लो क्रान्तिकारीको थियो । जब उनी क्रान्तिपछिको आर्थिक विकासका लागि मार्क्सवाद अपुग भएको भन्दै अन्तै लागे बौद्धिक जमातमा अन्योल छायो । भन्नलाई उनले ‘वाम लोकतन्त्र’ भनिरहे, तर उनको पार्टीमा लोकप्रियतावादको बुइ चढेकाहरू घुसिरहे । दक्षिणपन्थी विचारले टाउको उठाउन सुरु गर्‍यो । भट्टराई एक्लैले छाड्दैमा यस्तो भयो र ? यो प्रश्न उब्जिन्छ । दक्षिणपन्थी विचारको प्रभाव बढ्नुमा विश्व राजनीतिक तरंगको प्रभाव हुने नै भयो । तर, आन्तरिक कारण नै पहिलो मान्नुपर्ने हुन्छ । भट्टराई त्यस्ता अग्ला विचारक थिए, जसले मार्क्सवादलाई किताबमा होइन, व्यवहारमा भोगेका थिए । अमेरिकाको एक अन्तरक्रियामा डेसेनले भट्टराईलाई अभ्यासरत मार्क्सवादी नै भनेकी थिइन् । भट्टराईजत्तिको त्याग र समर्पण भएको व्यक्ति जब मार्क्सवादबाट नेपालको समस्या हल हुँदैन भन्दै फ्युजनतिर लागे दक्षिणपन्थको राजमार्ग फराकिलो हुँदै गयो । आज त्यही फराकिलो मार्गमा हिँड्नेहरू बढिरहेका छन् ।  वामपन्थभित्र घुसेको दक्षिणपन्थलाई बढार्न भूमिका खेल्नुपथ्र्यो । उनी फ्युजनतिर नहिँडेको भए नेपालको लेफ्ट शक्ति यति निरीह सायदै हुने थियो । त्यसैले दक्षिणपन्थ यति हराभरा हुनुको जस भट्टराईलाई पनि जान्छ । किनकि अहिलेको सकारात्मक प्रगतिको सबैभन्दा ठुलो योगदानकर्तामध्ये भट्टराई पनि एक हुन्, र अहिलेको दुर्गतिको भागीदार पनि उनी एक हुन् । (भट्टराईलाई नै वामपन्थको छाताभित्र किन राखियो भने नेपालमा मार्क्सवादी कम्युुनिस्टहरू नै वामपन्थी बन्नुपर्ने परिस्थिति छ ।)

६० को दशकमा नेपाली समाजका सिमानाका मुद्दाहरू मूलधारमा गुन्जिए । तर, ७० को दशकको सुरुवातपछि ती स्वर कमजोर हुँदै गए । कमजोर हुँदै जानुको महत्वपूर्ण कारणमध्ये एक थियो, सिमानाको मुद्दा मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका भट्टराईले साथ छोड्नु । अघि नै भनियो, भट्टराई किताबी वामपन्थी थिएनन्, मृत्युको कफन शिरमा बाँधेर हिँडेका नेता थिए । उनी आफैँ ‘वाम लोकतन्त्र’ भन्दै दक्षिणपन्थतिर लागेपछि वामपन्थी शिविरमा सन्नाटा छायो । किताबी बहसमा जोसिएका अर्ध/छद्म वामपन्थीहरू भट्टराई आफैँले लत्तो छाडेपछि तासको खलोबाट तासे उठेझैँ उठेर हिँडे ।

त्यसपछि के भयो ?
शताब्दियौँदेखिको समाजको समस्या छ, अल्ट्रा लेफ्ट बनेर समाधान गर्नुपर्ने । तर, भट्टराई हात उठाएर हिँडेपछि लेफ्ट शिविर भताभुंग भयो । राइटिस्ट मुटु बोकेर लेफ्टिस्ट बनेकाहरू पानीको फोकाजसरी बिलाए । बाँकी वामपन्थीहरूको स्वर मधुरो सुनिन थाल्यो । त्यसपछि समाजका घाउमा खिल पल्टिन थाले । वर्गको कुरा गर्नुलाई असफल मार्क्सवादीको बिल्ला भिराइयो । तर, यथार्थमा वर्गीय धाँजा झन्झन् बढ्दै गयो । जात–व्यवस्था अन्त्य हुनुपर्छ भन्ने आवाजलाई किनारामा धकेलियो । यथार्थमा अजित मिजारहरू न्यायको पर्खाइमा अस्पतालको चिसो कोठामा लडिनैरह्यो । सबस्टेसन चाहिँदैन, केबलकार बनाउन पाइँदैन भन्ने आदिवासीको आवाजलाई बुटले कुल्चियो । सभ्यता मास्ने विकास चाहिँदैन भन्ने आवाजलाई डलरेको ठप्पा लगाइयो । प्रकृति, पर्यावरण, आदिवासीको कुरा गर्नेलाई पछौटे, विकासविरोधी, गँवार भनियो । नदीको हत्या गर्ने, माटोको हत्या गर्ने कथित आधुनिक विकास चाहिँदैन भन्ने बहसलाई समाजबाटै असान्र्दभिक बनाउँदै लगियो ।

‘खाँचो नयाँ शक्तिको’ भन्दै भट्टराई अन्तै लागे । उनको नयाँ पार्टी स्याहार नपुगेको खुर्सानीको बिरुवाजस्तो कक्रक्क परेर बस्यो । यता पुष्पकमल दाहालहरूलाई आलोचना गर्ने मान्छे नभएपछि पार्टी एकलौटी हाँकिरहन स्वाद पर्दै गयो । केपी ओलीहरूबारे कुरा गर्नै बेकार छ । भट्टराई अन्तै लागेको एक दशकमा नयाँ र वैकल्पिक दाबी गर्ने अरू पनि पार्टी जन्मिए । तर, ती सबै दक्षिणपन्थका नयाँ भेरियन्टहरू मात्रै थिए । समाजको समस्या एकातिर, उनीहरूको र्‍याइँर्‍याइँ अर्कोतिर । 

यसैबिच जेन–जी आन्दोलन भयो । जेन–जी आन्दोलनपछि राजनीतिक पार्टीमा भूकम्प गयो । नयाँ पार्टी र पुराना पार्टी देखिने गरी ध्रुवीकृत भए । पुस्तान्तरणको बहस चर्कियो । नेपाली कांग्रेसमा नयाँ पुस्ता जबर्जस्त अगाडि आयो । तर, आन्दोलनपछि देखिएको एउटा परिदृश्यबारे भने खासै चर्चा भएको देखिन्न । त्यो हो, वामपन्थी विचारको ओरालो यात्रा, नवउदारवादी विचारको उकालो यात्रा । डेसेनको पत्र दोहोर्‍याएर पढ्दा वामपन्थी शक्ति कमजोर हुँदै गएको र भट्टराईले अंगीकार गरेको बाटोचाहिँ हराभरा हुँदै गएको महसुस हुन्छ । कसरी ? केही उदाहरण हेरौँ ।

जेन–जी आन्दोलनपछि अन्तरिम सरकार बन्यो । सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिने कार्यक्रममा भट्टराई मात्रै उपस्थित थिए । यो संयोग मात्रै पक्कै थिएन । जेन–जी आन्दोलनपछि भट्टराई र बालेन्द्र शाहबिच निकट सम्बन्ध देखियो । भट्टराई शाहलाई भेट्नै पुगे । निर्वाचनमा उठ्न भट्टराईलाई शाहले सुझाब दिए । पछि भट्टराई ब्याक भए । यति मात्रै होइन, राजनीतिक पार्टीका चुनावी घोषणापत्र एकपछि अर्को सार्वजनिक भइरहँदा भट्टराईले रास्वपाको घोषणापत्रप्रति सकारात्मक प्रतिक्रिया दिए । उनले सामाजिक सञ्जालमा लेखे,‘...दुई अंकको वृद्धिदर, दुई दशक निरन्तर’लाई राष्ट्रिय नारा बनाएर दृढतापूर्वक कार्यान्वयन नगरी देशको अर्थतन्त्रले फड्को मार्दैन र त्योविना हाम्रो युवा बेरोजगारीको प्रमुख राष्ट्रिय समस्या हल हुन्न भन्दै आएको छु । अहिले सबैले त्यो लक्ष्य राख्नु खुसीको कुरा हो । यसबारे प्रमुख दल चुप रहनु वा विपक्षमा उभिनु विडम्बनापूर्ण छ । कमसेकम रास्वपाले झिनै स्वरमा भए पनि यी दुई कुरा उठाएकोमा केही आशा पलाएको छ ।’

भट्टराईले १२ वर्षअघि नै सोही लेखमा युरोपियन सन्दर्भ उल्लेख गर्दै सामन्तवाद बढारेर औद्योगिक क्रान्तिको आधार तयार पार्ने काम नेपोलियनले गरेको लेखेका थिए । त्यस्तै, बाइसे–चौबीसे राज्यलाई ‘एकीकरण’ गर्न १८औँ शताब्दीमा पृथ्वीनारायण शाह जन्मिएको उल्लेख गरेका थिए । अबको कार्यभारका लागि पनि नयाँ नेतृत्व जन्मिनुपर्ने उनले औँल्याएका थिए । लेखेका थिए,‘नेतृत्व भनेको पाको वा कपाल फुलेकै हुनुपर्छ भन्ने पनि होइन । परिवर्तन गर्ने विश्वका नेताहरू पनि ४० वर्षआसपासका नै छन् । त्यसरी नै हामीकहाँ पनि त्यही उमेरआसपासका नेताहरू नै आउन सक्छन् । अथवा, पुरानैमध्येबाट कसैले युगको आवाज सुनेर आफूलाई रूपान्तरण गर्न पनि सक्छन् ।’

१२ वर्षअघि भट्टराईले युरोपको उदाहरण दिँदै नेपोलियनजस्ता शासकको आवश्यकता रहेको बताउनु, सहरिया मध्यम र उच्च वर्गका युवाबिच लोकप्रिय बालेन्द्र शाह राजनीतिको मियोमा देखापर्दै जानु र शाहकै पार्टी रास्वपाको चुनावी घोषणापत्रले आशा पलायो भन्नु के संयोग मात्रै होला र ? यसको नतिजा आगामी समयले देखाउला ।

नवउदारवाद र समाजवादको जुन फ्युजनको सपना भट्टराईले देखेका थिए, त्यो अहिले चुनावी अभियानमा हिँडेका ‘नयाँ’ भनिएका नेताहरूले बाँडेको सपनासँग मिल्दोजुल्दो छ । उनीहरू एकठाउँमा डोजरले बस्ती भत्काउँछन्, सहरका श्रमिक लघार्छन् । भोट माग्ने ठाउँमा पुगेपछि ‘हामी तपाईंहरूकै प्रतिनिधि हौँ’ भन्दै थुम्थुम्याउँछन् । यति भन्न सकिन्छ, देश भट्टराईको दक्षिणपन्थी विचारतिर अघि बढिरहेको छ । समयको आजको विन्दुमा उभिएर डेसेनको पत्र पढ्दा भट्टराईले जितिरहेको देखिन्छ । कसैले जित्नलाई कसैले हार्नुपर्छ । नेताले जित्दा जनताले पटक–पटक हारेको देश हो नेपाल । डेसेनको पत्र मिहीन ढंगले पढ्दा लाग्छ– भट्टराईले जितिरहँदा देशले पनि जितिरहेको छ त ?

See More On

सुझावित समाचार