पाकिस्तान–अफगानिस्तान सीमा तनाव युद्धमा परिणत

क्षेत्रीय अस्थिरताको जोखिम, संयमता अपनाउन अन्तर्राष्ट्रिय समुदायको अपिल

शनिबार, १६ फागुन, २०८२
डिजिटल संस्करण

अफगान तालिबानले सीमा क्षेत्रनजिक रहेका पाकिस्तानी सैन्य चौकीहरूविरुद्ध आक्रमण घोषणा गरेपछि जवाफमा पाकिस्तानले शुक्रबार अफगानिस्तानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ । अफगानिस्तानको तालिबान सरकारले बिहीबार राति सीमा क्षेत्रनजिक रहेका पाकिस्तानी सैन्य अड्डाहरूमा आक्रमण सुरु गरेको जनाएको थियो । 

त्यसको केही घण्टामै पाकिस्तानले अफगान राजधानी काबुल तथा आफ्नै २,६०० किलोमिटर (१,६१५ माइल) लामो सीमासँग जोडिएका प्रान्तका लक्षित स्थानहरूमा बमबारी गरेको बताइएको छ । यी बम आक्रमण दुई देशबिच जारी तनावमा अहिलेसम्मकै सबैभन्दा ठुलो घटना मानिएको छ । गत अक्टोबरमा एक सातासम्म चलेका घातक झडपपछि दुवै देशले युद्धविराममा सहमति जनाएका थिए ।

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद सरिफ चौधरीका अनुसार हवाई आक्रमणमा २२८ जना अफगान तालिबान लडाकु मारिएका र ३१४ जना घाइते भएका छन् । तर, अफगानिस्तानले भने आफ्नोतर्फ आठ सुरक्षाकर्मी र पाकिस्तानतर्फ ५५ सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । 

पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले शुक्रबार अफगानिस्तानविरुद्ध ‘खुला कारबाही’ सुरु भएको घोषणा गर्दै तालिबान प्रशासनप्रति धैर्यता समाप्त भएको बताएका छन् । तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानको ‘हरेक कदमको जवाफ दिइने’ चेतावनी दिएका छन् ।

तालिबान शासित इस्लामिक इमिरेट अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार डुरान्ड लाइनआसपास रहेका पाकिस्तानी सैन्य पोस्टहरूमा गरिएको प्रतीकारात्मक कारबाही बिहीबार मध्यरातमा समाप्त भएको थियो । अफगान सेनाप्रमुख फसिहुद्दिन फिटरतको निर्देशनमा कारबाही रोकेको जनाइएको छ । 

अफगान पक्षले केही पाकिस्तानी सैनिक पक्राउ गरेको, हतियार बरामद गरेको तथा दुई सैन्य ब्यारेक र १९ जाँच चौकी नियन्त्रणमा लिएको दाबी गरेको छ । यी दाबी स्वतन्त्र पुष्टि हुन सकेका छैनन् । गत साता पनि पाकिस्तानले अफगानिस्तानमा हवाई हमला गरेको थियो । 

सन् २०२१ मा तालिबानले अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएपछि इस्लामाबाद–काबुल सम्बन्ध क्रमश: चिसिँदै आएको छ । पछिल्लो डेढ वर्षमा पाकिस्तानभित्र आतंकवादी आक्रमण बढेपछि पाकिस्तानले त्यसको आरोप तालिबानमाथि लगाउँदै आएको छ ।

विश्लेषकहरूका अनुसार तालिबानको शक्ति गुरिल्ला शैलीको असामान्य युद्धमा केन्द्रित छ भने पाकिस्तानको शक्ति परम्परागत सैन्य संरचना, हवाई क्षमता र प्रतिरोध शक्तिमा आधारित छ ।

अफगान तालिबानको सैन्य शक्ति पाकिस्तानको तुलनामा कमजोर मानिन्छ । हाल अफगानिस्तानसँग करिब एक लाख ७२ हजार सक्रिय सैनिक रहेको अनुमान छ । सोभियतकालीन ट्यांक, बख्तरबन्द गाडी, सीमित तोपखाना, करिब ६ विमान र २३ हेलिकोप्टर रहेको बताइए पनि तिनको वास्तविक सञ्चालन अवस्था स्पष्ट छैन ।

पाकिस्तानसँग भने करिब ६ लाख ६० हजार सक्रिय सैनिक छन् । जसमध्ये पाँच लाख ६० हजार सेना, ७० हजार वायुसेना र ३० हजार नौसेनामा कार्यरत छन् । पाकिस्तानसँग परमाणु हतियार भण्डारसमेत छ, जबकि अफगानिस्तानसँग परमाणु क्षमता छैन ।

यसका अतिरिक्त पाकिस्तानसँग ६ हजारभन्दा बढी बख्तरबन्द लडाकु सवारीसाधन र चार हजार ६ सयभन्दा बढी तोपखाना रहेको बताइन्छ ।

अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया
अन्तर्राष्ट्रिय समुदायले दुवै देशलाई संयमता अपनाउन र वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेका छन् । इरानले मध्यस्थताको इच्छा व्यक्त गरेको छ । 

भारतले पाकिस्तानी हवाई आक्रमणको निन्दा गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले अफगान भूमिमाथिको आक्रमण अस्वीकार्य भएको बताएका छन् । भारतले अफगानिस्तानको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको समर्थन दोहोर्याएको छ । पछिल्लो समयमा तालिबान भारतसँग नजिकिएको छ । अफगानिस्तान सरकारले भारतसँगको सम्बन्ध पाकिस्तानविरुद्ध नभएको दोहोर्याउँदै आएको छ । 

चीनले दुवै देशलाई युद्धविराम र संवादमा फर्कन आह्वान गरेको छ । बेइजिङले अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ । रुसले पनि सशस्त्र झडपप्रति चिन्ता व्यक्त गर्दै राजनीतिक र कूटनीतिक माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ । त्यस्तै, टर्कीले दुवै पक्षसँग अलग–अलग सम्पर्क गरी संवादमार्फत अघि बढ्न सुझाव दिएको छ ।

सुझावित समाचार