त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा तीर्थ खनियाँलाई ३ प्रश्न

शुक्रबार, १५ फागुन, २०८२
डिजिटल संस्करण

त्रिविले पाएको १५०१औँ वरीयतालाई कसरी हेर्नुभएको छ ?
पहिलोपल्ट सन् २०१८–१९ मा म भिसी हुँदा त्रिवि पहिलोपटक ग्लोबल र्यांकिङमा आएको हो । त्यतिवेला यो ८०० देखि १००० स्थानभित्रै परेको थियो । जसले गर्दा त्रिविले अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालयको ‘रिकग्निसन’ पाएको थियो । त्यसपछिका वर्षमा यो र्यांकिङ खस्किँदै गयो । त्यसमा खासै चासो पनि दिइएन । तर, वर्तमान पदाधिकारीले यस विषयमा चासो दिनुभएको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । उहाँहरू दत्तचित्त भएर लाग्नुभयो भने यसमा सुधार ल्याउन सकिन्छ । ग्लोबल र्यांकिङमा १००० भित्र परे मात्र र्यांकिङमा मान्यता पाउने हो । यसले गर्दा अहिले त्रिवि ग्लोबल र्यांकिङमा परेन । तर, यसको चिकित्सा तथा स्वास्थ्य शिक्षा भने ६०१औँ स्थानमा परेको छ । यसले त्रिविका केही विषयले मात्र अन्तर्राष्ट्रिय मान्यता पाएको देखिन्छ । 

यो वरीयतामा सुधार ल्याउन थप के गर्नुपर्छ ?
त्रिविलाई ग्लोबल र्यांकिङमा माथि लान हामीले अन्तर्राष्ट्रिय विद्यार्थी र प्राध्यापकलाई पनि आकर्षित गर्न सक्नुपर्छ । अन्य देशमा बाहिरका विद्यार्थी स्थानीयभन्दा बढी हुन्छन् । तर, हामीकहाँ शून्यबराबर छ ।र्यांकिङमा सुधार ल्याउन त्रिविले यहाँका उद्योगधन्दा, व्यापारलगायत क्षेत्रमा रिसर्च गरेर आफ्ना विद्यार्थीलाई उत्पादकत्व र रोजगारीसित जोड्न सक्नुपर्छ । त्रिविका सबै इन्स्टिच्युटहरूले अन्तर्राष्ट्रियस्तरका रिसर्च गरेर जर्नलहरू प्रकाशित गर्नुपर्छ । 

वरीयता सुध्रिँदा या खस्किँदा यसले हामीलाई के फरक पार्छ ?
यसले धेरै फरक पार्छ । ग्लोबल र्यांकिङमा नपर्दा यहाँ मास्टर्स गरेर पिएचडीका लागि जाँदा उनीहरूले त्यहाँ पुनः मास्टर्स गर्न लगाउँछन् । ग्लोबल र्यांकिङमा परेको अवस्थामा हामी अन्तर्राष्ट्रिय हुन्छौँ र हाम्रो डिग्री संसारभर स्वीकार्य हुन्छ । अन्तर्राष्ट्रिय विद्यार्थी पनि आकर्षित हुन्छन् । हाम्रो विश्वविद्यालयका उत्पादन संसारभर बिक्छन् । 

सुझावित समाचार