पुसमा एक खर्बले कर्जा बढ्दा माघमा भने एक अर्ब मात्रै

फागुनको पहिलो सातासम्म कुल कर्जा रकम ५१ खर्ब ६६ अर्ब पुगेको छ भने निक्षेप ६९ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ

शुक्रबार, १५ फागुन, २०८२
डिजिटल संस्करण

चालू आार्थिक वर्षको पुस एक महिनामै एक खर्ब पाँच अर्ब रुपैयाँले कर्जा प्रवाह वृद्धि हुँदा माघमा भने एक अर्ब रुपैयाँले मात्रै कर्जा बढेको छ । वाणिज्य बैंकहरूको कर्जा–निक्षेपसम्बन्धी तथ्यांकले माघमा न्यून कर्जा प्रवाह देखिएको हो । नेपाल बैकर्स संघको तथ्यांकअनुसार कर्जा बक्यौता रकम (आउटस्ट्यान्डिङ)का आधारमा यस्तो देखिएको हो । 

नेपाल बैकर्स संघका अनुसार पुस मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ५१ खर्ब ५७ अर्ब थियो । सो कर्जा रकम माघ मसान्तसम्म आउँदा बढेर ५१ खर्ब ५८ अर्ब पुगेको छ । फागुनको पहिलो साता भने त्यो थप आठ अर्ब रुपैयाँले बढेर ५१ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । गत पुसमा कर्जा प्रवाह एक खर्ब पाँच अर्बले बढेको थियो । तर, माघ र फागुन पहिलो साता कर्जा प्रवाह न्यून छ । पछिल्लो समय कर्जाको माग न्यून हुँदा यस्तो अवस्था आएको बैंकहरू बताउँछन् । पुसमा कर्जा माग हुने सिजन पनि भएको बताउँदै उक्त बैंकरले माघपछि कर्जाको माग नभएको बताए । 

चुनावसम्म पर्ख र हेरको अवस्थामा बैंकहरू 
नयाँ कर्जा प्रवाहको विषयमा बैंकहरू चुनावसम्म पर्ख र हेरको अवस्थामा छन् । औद्योगिक क्षेत्रबाट पनि कर्जाको माग छैन । चुनावपछि कर्जाको माग बढ्ने अपेक्षा रहेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बताए । ‘चुनावपछि बन्ने नयाँ सरकारले लिन सक्ने नीतिलगायतका कारण कर्जाको माग बढ्ने अपेक्षा छ,’ उनले भने । 

सात महिनामा एक खर्ब ८३ अर्बले बढ्यो कर्जा
चालू आवको सात महिनामा कर्जा प्रवाह एक खर्ब ८३ अर्ब रुपैयाँले बढेको छ । गत असार मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४९ खर्ब ७५ अर्ब रुपैयाँ थियो । साउनमा त्यो ११ अर्ब रुपैयाँले घटेको थियो । त्यसपछि भदौमा ४३ अर्ब ४१ करोड रुपैयाँ र असोजमा ४१ अर्ब रुपैयाँले बढेको कर्जा प्रवाह कात्तिकमा भने २२ अर्ब घटेको थियो । त्यसपछि मंसिरमा २७ अर्ब रुपैयाँले कर्जा प्रवाह बढेको देखिन्छ । गत पुसमा भने एकैपटक एक खर्ब पाँच अर्बले कर्जा प्रवाह बढेको थियो । माघमा एक अर्ब रुपैयाँले बढेको छ । यसरी माघसम्म आउँदा कर्जा प्रवाह ५१ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ । फागुन पहिलो साता भने यो आठ अर्ब रुपैयाँले बढेर ५१ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । 

फागुन पहिलो साता वाणिज्य बैंकमा थपियो २७ अर्ब निक्षेप
फागुन पहिलो साता (१–८ गते) वाणिज्य बैंकहरूमा २७ अर्ब निक्षेप थपिएको छ । गत माघमा वाणिज्य बैंकहरूमा १० अर्ब निक्षेप थपिएको थियो । फागुनको पहिलो साता भने २७ अर्बले थपिएको छ । गत पुस मसान्त वाणिज्य बैंकहरूमा ६९ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप थियो । त्यो माघ मसान्तमा ६९ खर्ब ५४ अर्ब रुपैयाँ र फागुनमा ६९ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ ।

सुझावित समाचार