दक्षिण अफ्रिकासँग वेस्ट इन्डिज पराजित

शुक्रबार, १५ फागुन, २०८२
डिजिटल संस्करण

 एडेन माक्रम चम्किएपछि दक्षिण अफ्रिकाले भारत र श्रीलंकामा चलिरहेको टी–२० विश्वकपमा सानदार लय कायम राखेको छ । बिहीबार भएको सुपर ८ को खेलमा दक्षिण अफ्रिकाले अर्काे लयमा रहेको वेस्ट इन्डिजलाई नौ विकेटले हरायो । दक्षिण अफ्रिकाको जितमा माक्रमले अविजित ८२ रन बनाएका थिए ।  खेल भारतको अहमदाबादको नरेन्द्र मोदी रंगशालामा भएको थियो । टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७७ रनको लक्ष्य दियो ।

प्रत्युत्तरमा दक्षिण अफ्रिकाले १६.१ ओभरमा एक विकेट गुमाएर जित निकाल्यो । यो जितपछि दक्षिण अफ्रिका सेमिफाइनलनजिक पुगेको छ । उसले पहिलो खेलमा भारतलाई ७६ रनले पराजित गरेको थियो । वेस्ट इन्डिजले पहिलो खेलमा जिम्बावेलाई १०७ रनले पराजित गरेको थियो । अब, वेस्ट इन्डिज र भारतबिचको अन्तिम खेल निर्णायक हुनेछ । यता, समूह २ बाट इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाइसकेको छ । अब, अन्तिम चारका लागि टिम छनोट हुन बाँकी छ । 

दोस्रो इनिङ्समा दक्षिण अफ्रिकाका कप्तान माक्रमले आक्रामक ब्याटिङ गरे । उनले ४६ बलमा सात चौका र चार छक्कासहित सर्वाधिक ८२ रन बनाएका हुन् । क्विन्टर डी ककले २४ बलमा ४७ रन बनाए । उनले समान चार चौका र छक्का हिर्काएका हुन् । रायन रिकेल्टनले २८ बलमा चार चौका र दुई छक्कासहित ४५ रन बनाएका हुन् । पहिलो विकेटको लागि माक्रम र डी ककबिच ९५ रनको साझेदारी भएको थियो । 

वेस्ट इन्डिजका लागि रोमारियो सेफर्डले अर्धशतक बनाएका थिए । उनल ३७ बलमा तीन चौका र चार छक्कासहित ५२ रन बनाएका हुन् । १०.२ ओभरमा सात विकेट गुमाउँदा वेस्ट इन्डिजले मात्र ८३ रन जोडेको थियो । त्यसपछि क्रिजमा आएका उनले टिमलाई १७२ सम्म तानेका थिए । सेफर्डले ज्यासन होल्डरसँग ५७ बलमा ८९ रनको साझेदारी गरेका थिए । होल्डरले रनआउट हुनुअघि ३१ बलमा ४९ रन बनाएका थिए । ओपनर ब्रान्डन किङले २१ रनको योगदान दिए । दक्षिण अफ्रिकाका लुङ्गी एनडिदीले सर्वाधिक तीन तथा कागिसो रबाडा र कर्विन बोस्चले समान दुई विकेट लिएका थिए । 

सुझावित समाचार