महत्वपूर्ण खेलमा जिम्बावेलाई ७२ रनले हराउँदै भारतले आइसिसी टी–२० विश्वकपको सेमिफाइनल सम्भावना कायम राखेको छ । बिहीबारकै खेलमा दक्षिण अफ्रिकासँग वेस्ट इन्डिज पराजित हुँदा भारतको सेमिफाइनल सम्भावना खुलेको हो । चेन्नईमा भएको खेलमा जिब्बावेलाई हराउँदा भारतको सम्भावना बलियो बन्यो । २५७ रनको लक्ष्य पछ्याएको जिम्बावेले मात्र १८४ रन बनाउन सक्यो ।
अब, भारतले वेस्ट इन्डिजसँग सुपर ८ को अन्तिम खेल १ मार्चमा खेल्नेछ । यो खेलको विजेताले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ । डिफेन्डिङ च्याम्पियन भएकाले पनि सूर्यकुमार यादवको कप्तानीमा रहेको भारतलाई निकै दबाब रहेको छ । भारत प्रतियोगिताको सहआयोजक पनि हो । भारतले सुपर ८ मा पहिलो जित निकालेको छ । ग्रुप १ मा भारत पहिलो खेलमै दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएको थियो । दोस्रो खेलमा जित निकालेपछि भारतको सम्भावना जीवित रहेको हो । यता, जिम्बावे भने विश्वपकपबाट बाहिरिएको छ ।
विश्वकपकै ठुलो स्कोर
चेन्नईको एमए चिदम्बरम मैदानमा टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा २५६ रन बनायो । भारतले मात्र चार विकेट गुमाउँदा दुई खेलाडीले आक्रामक अर्धशतक बनाएका हुन् । ओपनिङ युवा ब्याटर अभिषेक शर्मा र हार्दिक पान्ड्याले अर्धशतक बनाएका थिए । भारतले विश्वकपमा बनाएको यो नै सबैभन्दा ठुलो स्कोर हो । चालू विश्वकपको भने यो नै ठुलो स्कोर हो । समग्र विश्वकपमा ठुलो स्कोर बनाउने भारत दोस्रो टिम बन्यो । यसअघि सन् २००७ मा श्रीलंकाले केन्याविरुद्ध २६० रन बनाएको थियो । चालू विश्वकपमा यसअघि वेस्ट इन्डिजले जिम्बावेविरुद्ध २५४ रन बनाएको थियो ।भारतले यसअघि सन् २००७ मा इंग्ल्यान्डविरुद्ध २१८ रन बनाएको थियो । सोही खेलमा युवराज सिंहले एकै ओभरमा ६ छक्का हिर्काएका थिए ।
अभिषेकको पहिलो अर्धशतक
जिम्बावेका कप्तान सिकन्दर राजाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरे पनि भारतका ब्याटर खेलमा हाबी भए । ओपनर अभिषेक शर्माले विश्वकपमा पहिलो अर्धशतक बनाए । उनले ३० बलमा समान चार चौका र छक्का हिर्काउँदै ५५ रन बनाएका हुन् । २५ वर्षीय ओपनिङ ब्याटर यसअघि तीन खेलमा डक भएका थिए । अलराउन्डर हार्दिक पान्ड्याले २३ बलमै अविजित ५० रन बनाए ।
यसक्रममा उनले दुई चौका र चार छक्का हिर्काएका थिए । त्यसबाहेक तिलक बर्माले पनि १६ बलमा अविजित ४४ रन बनाएका हुन् । उनले तीन चौका र चार छक्का प्रहार गरेका थिए । कप्तान सूर्यकुमारले ३३, ईशान किसनले ३८ तथा सन्जु सामसनले २४ रनको योगदान दिए । भारतका लागि पान्ड्या र बर्माले पाँचौँ विकेटका लागि ३१ बलमा अविजित ८४ रनको साझेदारी गरे । यसअघि दोस्रो विकेटका लागि ईशान किसन र अभिषेकबिच ७२ रनको साझेदारी भएको थियो ।
शतकबाट ३ रनले चुके ब्रायन बेनेट
जिम्बावेको इनिङ्समा ब्रायन बेनेट शतक बनाउन ३ रनले चुके । ओपनर बेनेटले ५९ बलमा अविजित ९७ रन बनाए । उनले आठ चौका र ६ छक्का हिर्काएका थिए । एकतर्फ बेनेटले रन जोडिरहँदा अर्काेतर्फ भने अन्य ब्याटर जम्नै सकेनन् । कप्तान सिकन्दर राजाले २१ बलमा ३१ रन बनाएका थिए । भारतका अश्रदीप सिंहले सर्वाधिक तीन विकेट लिएका थिए । उनले चार ओभरमा २४ रन खर्चिए । अक्षर पटेल, शिवम दुबे र वरुण चक्रवर्थीले समान एक विकेट लिएका थिए ।