नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड ४१औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंकको सफल यात्रामा साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ पारदर्शी, जिम्मेवार र नवप्रवर्तनमुखी बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए।
यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले डिजिटल रूपान्तरणलाई तीव्रता दिँदै ग्राहक अनुभवलाई अझ सरल, सुरक्षित र प्रभावकारी बनाउने दिशामा बैंक अग्रसर रहने बताए।
बैंकले आफ्नो वार्षिकोत्सवको अवसर पारी विगत ८ वर्षदेखि वित्तीय साक्षारतामा आधारित चित्र पुस्तकहरु प्रकाशन गर्दै आएको छ। ४०औँ वार्षिकोत्सवमा पनि बैंकले आफ्नो आठौँ संस्करण ‘३ आर सुन्दर संसार’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरेको छ।
यो चित्रकथा वातावरणीय प्रदूषण, प्राकृतिक स्रोतको संरक्षण र ग्लोबल वार्मिङजस्ता विषयहरूलाई समेटी सरल, रमाइलो र ज्ञानबर्दक शैलीमा प्रस्तुत गर्ने जमर्को गरेको बैंकले जनाएको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै बालबालिकालाई सचेत बनाउन यो पुस्तक प्रकाशित गरेको हो।
यसैबिच, वार्षिकोत्सवका अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ।