मतदान अधिकृतलाई प्रशिक्षण र नमुना मतदान

बिहिबार, १४ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति एक साता मात्र बाँकी रहँदै गर्दा बागलुङमा निर्वाचनको तयारी तीव्र पारिएको छ । जिल्लाका सबै मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण तथा नमुना मतदानको अभ्यास सञ्चालन गरिएको छ । 

बुधबार क्षेत्र नम्बर १ मा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन कसरी गराउने प्रशिक्षण दिइएको छ भने बिहीबार क्षेत्र नम्बर २ मा खटिने मतदान अधिकृतहरूलाई प्रशिक्षण दिइएको छ । 

जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारी, क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत भीमप्रसाद सुवेदी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, सहायक प्रजिअ नवराज बराल, जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजाल र प्रमुख कोष नियन्त्रक किशोर श्रेष्ठले मतदान अधिकृतलाई प्रशिक्षण दिएका छन् । 

प्रशिक्षणमा निर्वाचन सुरक्षा र मतदानका क्रममा आइपर्ने सम्भावित समस्या समाधानका उपायबारे जानकारी दिइएको छ । साथै, जिल्लाका संवेदनशील मतदान केन्द्रको प्रकृति र ती क्षेत्रमा अपनाउनुपर्ने रणनीतिबारे समेत मतदान अधिकृतहरूलाई सचेत गराइएको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञप्रसाद रिजालले जानकारी दिए । 

कार्यालयका अनुसार बागलुङमा २३० स्थायी र दुईवटा अस्थायी गरी कुल २३२ मतदान केन्द्र रहेका छन् । जिल्ला कारागार र जिल्ला समन्वय समितिलाई अस्थायी मतदान केन्द्रका रूपमा तोकिएको छ ।  निर्वाचनका लागि २३२ मतदान अधिकृत र २३२ सहायक मतदान अधिकृत गरी ४६४ जना तथा केही जगेडा कर्मचारीलाई तालिम दिइएको रिजालले जानकारी दिए । 

 जिल्लाभर निजामती सेवाका कर्मचारीले मात्र जनशक्ति अपुग हुने भएको हुँदा स्थायी शिक्षकहरूलाई पनि खटाइएको छ ।  बागलुङमा निर्वाचन र नेपाल प्रहरी गरी एक हजार ९३५ सुरक्षाकर्मी र दुई हजार ६० कर्मचारी गरी तीन हजार ९९५ जनशक्ति परिचालन गरिने भएको छ । जसमा नेपाली सेना र सशस्त्र प्रहरी बल अलग्गै खटिनेछन् ।
जिल्ला निर्वाचन अधिकारी रिजालले स्वयंसेवकमार्फत फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । 

यसपटक बागलुङको गलकोट नगरपालिका– ११ मा एक मतदान केन्द्र थपिएको छ । जिल्लामा ९४ हजार ८०६ महिला र ९८ हजार ५७४ पुरुष गरी कुल एक लाख ९३ हजार ३८१ मतदाता रहेका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि धौलागिरि बहुमुखी क्याम्पसको प्रांगणमा नमुना मतदान अभ्याससमेत गरिएको छ । अभ्यासमा मतदाता नामावली रुजु गर्ने, मतपत्र लिने, अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य मतदान गर्ने र मतपत्र पट्याउने विधिबारे प्रयोगात्मक प्रशिक्षण दिइएको थियो ।

सुझावित समाचार