फेरि युद्धको सँघारमा इथियोपिया र इरिट्रिया

टिग्रे युद्धको ठिक तीन वर्षपछि र सुडान युद्ध चौथो वर्षमा प्रवेश गर्न लाग्दा ‘हर्न अफ अफ्रिका’ क्षेत्रले थप युद्ध थेग्न सक्दैन

बिहिबार, १४ फागुन, २०८२
डिजिटल संस्करण

इरिट्रिया र इथियोपिया इतिहासमा लामो समय घनिष्ट थिए । कुनै समय इथियोपियाको हिस्सा रहेको इरिट्रियामा सन् १९६१ देखि स्वतन्त्रताको लागि सशस्त्र संघर्ष सुरु भयो । अन्ततः सन् १९९३ मा स्वतन्त्रता सम्बन्धमा भएको जनमत संग्रहमा बहुमतले छुट्टिने पक्षमा मत दिएपछि इरिट्रिया अलग भयो । तर, स्वतन्त्रतापछि, दुई देशबिचको सम्बन्धम धेरै उतारचढाव देखिए ।

सन् १९९८ देखि २००० बिच दुई देशले विनाशकारी युद्ध लडे । त्यसपछि दुई दशक दुई देश एक–अर्कासँग बोलचालसमेत गरेनन् ।इरिट्रियाका राष्ट्रपति इसायास अफवेर्कीले सन् २०१८ मा इथियोपियाका नवनिर्वाचित प्रधानमन्त्री अबी अहमदको शान्तिको प्रस्ताव स्वीकार गरेपछि दुईदेशबिच छलफल सुरु भयो । तर, त्यसको आठ वर्षपछि २०२६ को सुरुबाटै फेरि तिनै देश युद्धको डिलमा आइपुगेका छन् । 

 दुई देशबिचको द्वन्द्वको इतिहास 
सन् १९९८ मा इथियोपिया र इरिट्रियाबिच सीमा विवादका कारण घातक युद्ध सुरु भएको थियो । दुई देशबिच एक हजार किलोमिटरभन्दा लामो सीमा क्षेत्र छ । आक्रमण इरिट्रियाले सुरु गरेको थियो । इरिट्रियाको सेनाले इथियोपियाको उत्तरी क्षेत्र टिग्रेको विवादित सहर बाडमेमा आक्रमण गरेपछि यो युद्ध सुरु भएको थियो । दुई वर्ष चलेको युद्ध समकालीन अफ्रिकाको सबैभन्दा घातकमध्ये एक बन्यो, जसमा दसौँ हजारले आफ्नो ज्यान गुमाए ।

जुन २००० मा भएको ‘अल्जियर्स सम्झौता’सँगै युद्ध समाप्त गर्दै युद्धविराम सुरु गर्यो । सम्झौताले संयुक्त राष्ट्र संघको शान्ति सेनाको तैनाथीलाई अनिवार्य गरेको थियो भने विवादित सीमा क्षेत्रको सीमांकन गर्न सीमा आयोग गठन पनि गरेको थियो । यद्यपि, यति लामो समयसम्म सीमांकन भएको छैन । यही तथ्यले पनि दुईबिचको तनाव पूर्णतः नसल्टिएको देखाउँछ । युद्धविराम हुँदा  इथियोपियामा ‘टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट’ प्रभावशाली रहेको चारदलीय राजनीतिक गठबन्धनले सरकार चलाइरहेको थियो । ‘इथियोपियन पिपुल्स रिभोलुसनरी डेमोक्रेटिक फ्रन्ट’ नामको यो गठबन्धनले सन् १९९१ देखि २०१८ सम्म लगातार  इथियोपियामा शासन गर्यो ।

 इरिट्रिया अलग भएपछि सत्तामा आएको दल विगतमा दुई देश एक हुँदा ‘टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट’कै सहयोगी दल थियो । तर, देश अलग भएपछि पहिलेका सहयोगी दल नै प्रतिद्वन्द्वी बनेका थिए । त्यसैले दुईबिचको शत्रुता कहिल्यै हटेन । बरु समय–समयमा तनाव झन् बढ्ने गर्छ । सीमा क्षेत्रको दुवैतर्फ अत्यन्त सैन्यीकृत छ । सिमानामा रहेको ‘नो म्यान्स ल्यान्ड’ले सुरक्षा करिडोरको रूपमा काम गर्छ । सन् २०१८ मा  इथियोपियाका प्रधानमन्त्री अबी अहमदको अग्रसरतामा इरिट्रियासँग भएको शान्ति सम्झौताको विश्वभर र क्षेत्रीयस्तरमा धेरैले प्रशंसा गरे । अहमद सन् २०१९ को नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिए । खासमा धेरै विश्लेषक यी दुई देशबिच भिन्नताभन्दा समानता बढी भएको औँल्याउँछन् । तर, सम्झौताले राजनीतिक र आर्थिक सहयोग वृद्धि गरेन, खालि छोटो समयको शान्ति मात्र स्थापना गर्यो । 

अबि अकदम अप्रिल २०१८ मा सत्तामा आएदेखि इथियोपियाको राजनीतिमा टिग्रे पिपुल्स लिबरेसन फ्रन्टको पकड समाप्त भयो । नोभेम्बर २०२० मा अहमदले टिग्रे फ्रन्टलाई थप कमजोर बनाउन सो पार्टीको क्षेत्रीय सरकार रहेको टिग्रे प्रदेशमा आक्रमण गरे । त्यस युद्धमा इरिट्रियाले टिग्रे पिपुल्स लिबरेसन फ्रन्टविरुद्ध अबीलाई समर्थन गर्यो । लाखौँको ज्यान गएको टिग्रे युद्धमा संलग्न सबै पक्षले युद्ध अपराध गरेको आरोप छ । तथापि, यसमा सबैभन्दा बढी अपराध इरिट्रियन सेनाले गरेको बताइँदै छ । सुडानमा चलिरहेको द्वन्द्वले पहिले नै तहसनहस पारेको अस्थिर ‘हर्न अफ अफ्रिका’मा युद्धको नयाँ बादल मडारिँदा खतरा झन् बढ्नेछ । 

 अहिले किन बढ्दै छ तनाव ?
सन् २०१८ मा  इथियोपिया र इरिट्रियाबिच सन् २०१८ मा शान्ति सम्झौता भए पनि तनावका कारण सम्बोधन गरिन । सबैभन्दा ठुलो तनाव  इथियोपियाको समुद्रसम्मको पहुँचलाई लिएर देखिन्छ । इरिट्रिया स्वतन्त्र भएदेखि विशाल जनसंख्या भएको  इथियोपियाको लाल सागरमाथिको पहुँच काटिँदै सो मुलुक भूपरिवेष्ठित राष्ट्र बन्यो । क्षेत्रीय आर्थिक शक्ति भएकाले  इथियोपिया जसरी पनि आफ्नो व्यापार बढाउन बन्दरगाहसम्मको पहुँच चाहन्छ । हालसम्म यसको समुद्रमा पहुँचजस्ता छिमेकीको सद्भावमा निर्भर छ ।

तर, पछिल्ला वर्षमा, विशेषगरी सन् २०२२ मा टिग्रे युद्ध अन्त्य भएदेखि, अबीले समुद्रमा पहुँचको विषयलाई निकै महŒव दिइरहेका छन् । उनले इरिट्रिया र सोमालील्यान्डमार्फत सम्भावित समुद्रसम्म पुग्ने प्रयासलाई तीव्रता दिएका छन् । अबीले इरिट्रियाको ‘असाब बन्दरगाह’माथि इथियोपियाको ऐतिहासिक दाबी रहेको बताइरहेका छन् । यो बन्दरगाह इथियोपियाको सीमाबाट केवल ६० किलोमिटर मात्रै टाढा छ । वास्तवमा इरिट्रिया स्वतन्त्र भएदेखि नै धेरै इथियोपियालीहरूले समुद्रको पहुँच गुमाउनुलाई राष्ट्रिय त्रासदी मान्ने गरेका छन् । इथियोपियालाई समुद्रमा पहुँच दिने कूटनीतिक समाधानका लागि अबीको प्रयासले देशभित्र उनको समर्थन बढाएको छ । तर, इरिट्रिया भने असाब बन्दरगाहमाथि इथियोपियाको दाबीबाट चिडिएको छ ।

विवादको दोस्रो विषय पछिल्लो समय इथियोपियाभित्र लडिरहेका विभिन्न सशस्त्र समूहप्रति इरिट्रियाको खुला समर्थनले निम्त्याएको छ । उसो त यस्तो खालको समर्थन २०१८ मा भएको शान्ति सम्झौताअघि पनि स्पष्ट थियो । विशेषगरी, सन् २०२२ देखि अम्हारा र ओरोमिया प्रदेशमा टिग्रेयन र अन्य विद्रोहीलाई इरिट्रियाले सैन्य समर्थन गर्न थालेको नयाँ आरोप आएका छन् । यद्यपि, सबैभन्दा महŒवपूर्ण विवाद भने टिग्रे युद्धपछि विकसित भएको हो । युद्धको समयमा इरिट्रियाले इथियोपियाको केन्द्र सरकारको पक्षबाट टिग्रे प्रदेशको प्रादेशिक सरकारविरुद्ध लडेको थियो । 

तर युद्ध समाप्त गर्न भएको शान्ति सम्झौतामा इथियोपियाले आफूलाई परामर्श वा सम्झौताको पक्षका रुपमा आमन्त्रित नगरेको गुनासो ग¥यो । गुनासोबिच इरिट्रियाले पहिले आफू लडेको टिग्रेको प्रादेशिक सरकारसँग गठबन्धन गरेको इथियोपियाको दावी छ । टिग्रे युद्ध समाप्त भएपछि टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट र इथियोपिया सरकारले आफ्ना मतभेदलाई सम्बोधन गर्न असफल भयो । र, इरिट्रियाले आफ्नो ऐतिहासिक शत्रु टिग्रे पिपुल्स लिबरेशन फ्रन्टसँग सहयोगको हात बढायो । यसले इथियोपियाको केन्द्र सरकारलाई आक्रोशित बनाएको छ र सीमापार शत्रुता बढाएको छ ।

 के युद्ध रोक्न सकिँदैन ? 
अक्टोबर २०२५ मा इथियोपियाका विदेशमन्त्री गेडियन टिमोथेवोसले संयुक्त राष्ट्र संघलाई पत्र लेख्दै इरिट्रियाले इथियोपियाभित्र घुसपैठ गरेको र टिग्रे प्रदेशमा सेनालाई घुमफिर गराएको आरोप लगाए । टिग्रे पिपुल्स लिबरेसन फ्रन्टसँग इरिट्रियाको सम्बन्ध बढेको र ‘विगत केही महिनाको अवधिमा यो झन् स्पष्ट भएपछि’ इरिट्रियन फौज  इथियोपिया पसेको टिमोथेवोसले पत्रमा दाबी गरेका थिए । उनले इरिट्रियालाई इथियोपियाको अम्हारा क्षेत्रमा ‘सशस्त्र समूहलाई आर्थिक सहयोग, परिचालनदेखि निर्देशनसम्म’ दिएको पनि आरोप लगाए । त्यस भेगमा फानो भनेर चिनिने मिलिसियाले संघीय सरकारविरुद्ध सशस्त्र युद्ध लडिरहेका छन् ।

यसै महिना इथियोपियाले इरिट्रियालाई सीधै पत्र लेख्दै आफ्नो भूमिबाट सेना फिर्ता गर्न माग ग¥यो । जवाफमा इरिट्रियाले  इथियोपियाली भूमिमा आफ्नो सेना रहेको आरोप ‘स्पष्टतः झुटो र बनावटी’ भएको बतायो । दुवै पक्ष आफ्नो अडानमा अडिग रहँदा युद्ध अवश्यम्भावी देखिएको छ । युद्ध रोक्न अन्तिम समयको कूटनीतिक र राजनीतिक प्रयास तीव्र देखिन्छ । इरिट्रियालाई लेखेको आफ्नो पत्रमा इथियोपियाले वार्ताका लागि खुला रहेको बताएको छ । साथै  इथियोपियाले समुद्री मुद्दा र असाब बन्दरगाहमार्फत समुद्रसम्मको सम्भावित पहुँचलगायतको विषयमा व्यापक वार्तामा संलग्न हुने इच्छा पनि संकेत गरेको छ ।

उसो त वार्ताले इथियोपियाको समुद्रसम्मको भरपर्दो पहुँचको चाहना र इरिट्रियाको आफूमाथि हुने आक्रमणको डर दुवैलाई एकैपटक सम्बोधन गर्न सक्छ । इमान्दार कूटनीतिले द्वन्द्वको सुरुलाई रोक्न सक्छ । टिग्रे युद्धको ठिक तीन वर्षपछि र सुडान युद्ध चौथो वर्षमा प्रवेश गर्न लाग्दा हर्न अफ अफ्रिका क्षेत्रले अर्को युद्ध थेग्न सक्दैन । यसैले  इथियोपियामा मुख्यालय रहेको अफ्रिकी संघले समय घर्किनुअघि नै दुवै देशलाई वार्ताको टेबलमा आमन्त्रित गर्न आवश्यक छ । 
द कन्भर्सेसनबाट
 

सुझावित समाचार