राष्ट्रिय लिग २०८२ : एपिएफले खोस्योे लालीगुराँसको शीर्ष स्थान

मनाङ मस्र्याङ्दीलाई २–० ले हराएको नेपाल एपिएफ क्लबले लालीगुराँसलाई १ अंकले पछि पार्‍यो

बिहिबार, १४ फागुन, २०८२
डिजिटल संस्करण

विभागीय टोली नेपाल एपिएफ क्लब राष्ट्रिय लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । लिगअन्तर्गत बुधबार भएको खेलमा एपिएफले मनाङ मस्र्याङ्दीलाई २–० ले हराउँदै १९ अंकसहित शीर्ष स्थानमा कब्जा जमाएको हो । यसअघि पोखराको लालीगुराँस क्लब काँक्रेबिहार क्लबलाई ४–१ ले हराउँदै शीर्ष स्थानमा पुगेको थियो । काँक्रेबिहारलाई हराउँदा लालीगुराँसले सात खेलबाट १७ अंक जोडेको थियो । यो नतिजा आउँदा मनाङ र एपिएफबिचको खेल हुन बाँकी थियो । 

एपिएफले मनाङलाई हराएसँगै लालीगुराँसको शीर्ष स्थान केवल तीन घण्टाका लागि मात्र रह्यो । एपिएफले सात खेलबाट सर्वाधिक १९ अंक बनाएको हो । मनाङ ८ अंकका साथ नवौँ स्थानमा छ । अपराजित लालीगुराँसको यो पाँचौँ जित हो । काँक्रेबिहारले लिगमा छैटौँ हार सामना गरेको छ । काँक्रेबिहारले मात्र १ अंक बटुलेको छ । १७ क्लब सहभागी राष्ट्रिय लिगमा काँक्रेबिहार १६औँ स्थानमा छ । लालीगुराँसको जितमा विदेशी खेलाडी अब्दुल युसुफ हाउलेले ह्याट्रिक गरे । मुकुन्द कुमा थिउरेले एक गोल थपे । प्रतिस्पर्धामा काँक्रेबिहारका सोनाम आचार्यले एक गोल फर्काए । तान्जिनियाका स्ट्राइकर अब्दुलले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरी ह्याट्रिक पूरा गरेका हुन् ।

श्री भगवती बराबरीमा रोकियो 
राष्ट्रिय लिगमा श्री भगवती र सातदोबाटो युवा क्लबले गोलरहित बराबरी खेलेका छन् । दशरथ रंगशालामा दुवै टोलीले अंक बाँडेका हुन् । पहिलो तथा दोस्रो हाफमा श्री भगवतीले दबाब बनाएपछि गोल हुन सकेन । बराबरी नतिजासँगै सातदोबाटोले सात खेलबाट ६ अंक जोडेको छ । सातदोबाटो अंकतालिकाको १२औँ स्थानमा उक्लियो । श्री भगवती १४औँ स्थानमा यथावत् रह्यो ।

खेलको १३औँ मिनेटमा सातदोबाटो फोडे फोफानाले प्रहार गरेको हेडिङ बल क्रसबारमाथि पुगेको थियो । खेलको १४औँ मिनेटमा भगवतीका शिशिर लेखीको पासमा सुजन डंगोलले सहज गोल अवसर गुमाए । उनले प्रहार गरेको बल पहिलो बारनजिक हुँदै बाहिरिएको थियो । सुरुदेखि नै आक्रामक खेलेको सातदोबाटोले गोल गर्ने राम्रो अवसर सिर्जना गरे पनि अवसर सदुपयोग गर्न सकेनन् । दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो ।

सुझावित समाचार