१०औँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार उपाधि दाबेदार टोलीबिच प्रतिस्पर्धा हुँदै छ । सुपर ८ को समूह ‘१’ मा वेस्ट इन्डिजले दक्षिण अफ्रिकाको सामना गर्दै छ । यो खेल नरेन्द्र मोदी रंगशालामा हुनेछ । प्रतियोगितामा दक्षिण अफ्रिका र वेस्ट इन्डिजले अहिलेसम्म उत्कृष्ट अलराउन्डर प्रदर्शन गरिरहेका छन् । समूह ‘१’ मा दक्षिण अफ्रिकाले साबिक विजेता भारतलाई पहिलो खेलमा हराएको थियो ।
वेस्ट इन्डिजले समूह ‘१’ मा जिम्बावेमाथि १०७ रनको फराकिलो जित निकालेको थियो । जिम्बावेविरुद्धको प्रतिस्पर्धामा वेस्ट इन्डिजले आफ्नो ब्याटिङ शक्ति प्रदर्शन गरेको थियो । यस खेलमा विश्वकप क्रिकेटकै कीर्तिमानी रूपमा सर्वाधिक ३१ छक्का प्रहार भएको थियो । वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले पहिलो खेलमा जित निकाली महत्वपूर्ण २ अंक जोडेका छन् । नरेन्द्र मोदी रंगशालामा जित निकाल्ने टोलीले सेमिफाइनल प्रवेशको आधार बलियो बनाउनेछ । यसकारण दुवै टोलीले यो खेल गुमाउन चाहँदैनन् । अर्काेतिर समूह ‘२’ बाट इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।
प्रतियोगिताकै अपराजित टोलीका रूपमा रहेका वेस्ट इन्डिज र दक्षिण अफ्रिका भिड्दा अलराउन्डर प्रदर्शनको अपेक्षा गरिएको छ । रनरेटमा वेस्ट इन्डिज समूहमा अगाडि छ । त्यसपछि दक्षिण अफ्रिका रहेको छ । वेस्ट इन्डिजको आक्रामक ब्याटिङ रोक्ने दक्षिण अफ्रिकाको लक्ष्य रहनेछ । दक्षिण अफ्रिकाका बलर उत्कृष्ट फर्ममा रहँदा वेस्ट इन्डिजलाई जिम्बावेविरुद्धको जस्तै खुलेर आक्रामक ब्याटिङ गर्न चुनौती हुन सक्छ । किनभने दक्षिण अफ्रिकाका सिमरदेखि स्पिनरसम्मले अनुशासित रूपमा बलिङ गरिरहेका छन् ।
उत्कृष्ट फर्ममा हेटमेयर
वेस्ट इन्डिजको मुख्य आशा सिमरन हेटमेयरमाथि रहेको छ । उनले जिम्बावेविरुद्ध केवल ३४ बलमा ८५ रनको योगदान दिएका थिए । हेटमेयरको उपस्थितिमा वेस्ट इन्डिजको मध्यक्रम बलियो देखिन्छ । दक्षिण अफ्रिका भारतसँगको खेलमा सिमरविरुद्ध चुकेको थियो । भारतका फास्टबलर जसप्रीत बुमराहको घातक बलिङका कारण दक्षिण अफ्रिका एक समय २०/३ को कमजोर अवस्थामा थियो । तर, डेवाल्ड ब्रेभिस, डेभिड मिलर र ट्रिस्टनको विस्फोटक ब्याटिङको मद्दतमा दक्षिण अफ्रिकाले सात विकेट गुमाएर १८७ रन बनाएको थियो । दक्षिण अफ्रिकाले मध्यक्रम ब्याटिङबाट यस्तै योगदान पाउँदा वेस्ट इन्डिजका बलर दबाबमा पर्न सक्छन् ।
वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्धको पछिल्लो २९ टी–२० आईमा १५ खेल जितेको छ । दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई १४ खेलमा हराएको छ । आइसिसी टी–२० विश्वकपमा भने दक्षिण अफ्रिका वेस्ट इन्डिजमाथि हावी देखिन्छ । पछिल्ला पाँचमध्ये चार खेलमा वेस्ट इन्डिजलाई दक्षिण अफ्रिकाले हराएको छ । सन् २०१६ को टी–२० विश्वकपमा दक्षिण अफ्रिकामाथि वेस्ट इन्डिजले महत्वपूर्ण जित निकालेको थियो ।
भारतलाई जित्नैपर्ने दबाब
सुपर ८ को अर्को खेलमा बिहीबार साबिक विजेता भारतले जिम्बावेको सामना गर्दै छ । चेन्नईको मैदानमा भारतलाई जितबाहेक अरू विकल्प छैन । जिम्बावेसँग पराजित हुँदा भारत सेमिफाइनल दौडबाट बाहिरिनेछ । जितले भारतको सेमिफाइनल पुग्ने आशा जीवितै रहनेछ । दक्षिण अफ्रिकासँग पहिलो खेलमा पराजित भएपछि भारत घरमै आयोजना भइरहेको टी–२० विश्वकपको कठिन मोडमा रहेको हो । भारत सुपर ८ को समूह ‘१’मा अंकविहीन छ ।
विश्वकपको समूह चरणमा पूर्वविजेताहरू श्रीलंका र अस्ट्रेलियामाथि सनसनी खेल प्रदर्शन गरेको जिम्बावेले सुपर ८ मा त्यही लयमा प्रदर्शन गर्न सकेन । वेस्ट इन्डिजले जिम्बावेको कमजोर बलिङको भरपूर फाइदा लियो । यही कारण वेस्ट इन्डिजले जिम्बावेविरुद्ध टी–२० विश्वकपकै दोस्रो सर्वाधिक योगफल बनायो । भारतसँग खेलिरहँदा जिम्बाव २ अंक खोस्ने प्रयासमा हुनेछ । एक अर्थमा भारत र जिम्बावेलाई प्रस्ट जित आवश्यक छ । पराजित हुने टोली एक खेलअगाडि नै प्रतियोगिताबाट बाहिरिनेछ । जिम्बावेको तुलनामा भारतमाथि ठुलो दबाब छ । जितसँगै उपाधि रक्षा गर्नुपर्ने दबाबका साथ भारतले सुपर ८ का बाँकी खेलमा प्रतिस्पर्धा गर्नुपर्नेछ । जिम्बावेका लागि कप्तान सिकंन्दर राजा प्रमुख हतियार हुन् । उनले अहिलेसम्म ब्याटिङ र बलिङमा एकनासको प्रदर्शन गरिरहेका छन् । भारतीय ब्याट्सम्यानलाई राजाले आफ्नो स्पिनमा दबाब राख्न सक्छन् । भारतको भने शीर्ष र मध्यक्रम ब्याटिङ चल्न नसक्नु नै प्रमुख कमजोरी हो ।
भारतले बलिङ बलियो बनाउन कुलदीप यादवको स्थानमा अक्षर पटेललार्ई खेलाउन सक्छ । भारतले जिम्बावेविरुद्ध केही खेलाडी परिवर्तन गर्न सक्ने एजेन्सीले जनाएको छ । तिलक बर्माको स्थानमा सञ्जु सामसनलाई खेलाउन सक्छ । आक्रामक ब्याट्सम्यान रिंकु सिंह बाहिरिएका छन् । चेन्नईको पिच मुख्य गरी ब्याटिङ पिच हो । यस पिचमा पहिलोभन्दा दोस्रो ब्याटिङ गर्नेले सहजै लक्ष्य पछ्याएको रेकर्ड छ । चालू विश्वकपमै अफगानिस्तानले दिएको १८३ रनको लक्ष्य न्युजिल्यान्डले केवल १७.५ ओभरमा पूरा गरेको थियो ।