मतदानको मिति नजिकिँदै छ । देशभित्र चुनावी रापताप बढ्दो छ । रोजगारी, अध्ययनलगायत प्रयोजनका लागि देशबाहिर पुगेका नेपालीलाई पनि यो रापतापले नछुने कुरै भएन । उनीहरू विदेशबाट सामाजिक सञ्जालमा अभिव्यक्त मात्रै भएका छैनन्, कतिपय त भोट हाल्नकै लागि स्वदेश फर्किँदै छन् ।त्रिभुवन विमानस्थल अध्यागमन विभागका अनुसार पछिल्लो एक महिना (१२ माघदेखि १२ फागुनसम्म)मा एक लाख ५६ हजार २४१ नेपाली विदेशबाट फर्किएका छन् । संख्यात्मक दर हेर्दा पछिल्ला दिन बढ्दो देखिएको विभागका प्रवक्ता टीकाराम ढकाल बताउँछन् ।
‘विदेशमा रहेका नेपालीहरू हवाईमार्गबाट भित्रिने संख्या केही मात्रामा बढेको तथ्यांकले देखाउँछ,’ उनले भने । फागुन लागेयता मात्रै मंगलबारसम्म ६२ हजार ९१३ नेपाली विदेशबाट फर्किएका छन् । यो संख्या माघ महिनाको सोही अवधिको तुलनामा ६.०६ प्रतिशतले बढी हो । हाल दैनिक पाँच हजारभन्दा बढी प्रवासी नेपाल भित्रिरहेको विमानस्थल अध्यागमनको तथ्यांक छ । चुनावमा नयाँ दल र युवा उम्मेदवारप्रति आकर्षण बढेकाले भोट हाल्नकै लागि प्रवासबाट फर्किनेको संख्या बढिरहेको देखिन्छ ।
पर्यटन व्यवसायीहरूका अनुसार अहिले हवाईमार्गबाट नेपाल आउने टिकटसमेत पाउन मुस्किल छ । चुनावी समय र पर्यटकीय सिजन एकैपटक परेकाले पनि यो अवस्था आएको उनीहरू बताउँछन् । अहिले टिकट बुकिङ उच्च हुने समय नै हो, त्यसमाथि प्रवासी नेपालीको स्वदेश फर्किने संख्या बढेकाले सजिलै टिकट नपाइरहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का पूर्वअध्यक्ष अच्युत गुरागाईंले बताए ।
‘अहिले पर्यटकीय सिजन सुरु भएको छ । पर्यटकीय सिजनमा हवाई टिकटको माग बढी हुन्छ,’ उनले भने, ‘त्यसमाथि अहिले चुनावका कारण प्रवासमा रहेका नेपालीहरू स्वदेश आउने क्रम बढेकाले टिकटमा उच्च चाप देखिएको छ । दोहोरो चापले यतिवेला टिकट पाउनै मुस्किल छ ।’नाट्टाकै पूर्वअध्यक्ष धु्रव श्रेष्ठले नेपालीहरू स्वदेश फर्कने चाप र पर्यटकीय सिजनका कारण समयमा टिकट नपाउँदा मूल्य अकासिएको बताए । ‘अन्य रुटको तुलनामा नेपाल आउने टिकटको भाउ अचाक्ली महँगो भएको छ, दोब्बरसम्म पुगिसक्यो भाउ,’ उनले भने, ‘यसलाई नियन्त्रण गर्न कसैले चासो दिएको छैन । भाउ नियन्त्रणमा चासो नदिए पर्यटक आगमनमा समेत असर पर्न सक्छ ।’
रोजगारीका लागि भारत गएकाहरू चुनावका लागि स्थलमार्ग हुँदै धमाधम फर्किरहँदा भोट हाल्नकै लागि भनेर तेस्रो मुलुकबाट फर्किएकाहरू पनि विमानस्थलमा भेटिन्छन् । पूर्वनिर्धारित योजनाअनुसार नै घर फर्किनेहरू स्वतः धेरै छन्, तर कतिपय भोट हाल्नकै लागि समय मिलाएर आएका छन् । फर्किनेहरू अधिकांशमा चुनावी उत्साह देखिन्छ । त्रिभुवन विमानस्थलमा विदेशबाट फर्किएकाहरूलाई भेट्दा यस्तै बुझिन्छ ।
मंगलबार दिउँसो मलेसियाबाट आएको ‘बाटिक एयर’को विमान ल्यान्ड भएपछि केही समयमा यात्रुहरू बाहिरिन थाले । सुटकेट गुडाउँदै बाहिरिनेहरूको भिडमा भेटिए सुनसरीका मनोजकुमार यादव । आफ्ना दुवै सुटकेसमा उनले रास्वपा वरिष्ठ नेता बालेन साहको तस्बिर टाँसेका थिए । आफू ९ वर्षदेखि मलेसियामा रोजगारी गर्दै आएको र यसपटक भोट हाल्नकै लागि चुनावको छेको पारेर घर फर्किएको बताए । ‘अहिले घर फर्किने पूर्वनिर्धारित योजना थिएन । चुनाव हुने निश्चित भएपछि भोट हाल्नकै लागि फर्किएको हुँ,’ उनले भने, ‘यसपालि पुराना दल र नेतालाई भोट दिन मन छैन । तिनीहरूले टेन्सन दिइसके । अब नयाँलाई भोट हाल्ने हो ।’
रोजगारी खोज्दै बिदेसिनुपर्ने बाध्यता नयाँ दलले हटाउने र देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उनको आशा छ । ‘नयाँ आएपछि नयाँ वातावरण भइहाल्छ । हामी काम खोज्दै परदेश जानुपर्दैन भन्ने अपेक्षा छ । स्वदेशमै काम भए दुःख गर्न विदेश जानुपर्दैन भन्ने हो,’ उनले भने । ११ वर्षदेखि मलेसियामै कार्यरत बुटवलका दिलबहादुर पुन पनि भोट हाल्ने उद्देश्यले स्वदेश आएका छन् । उनी पनि परिवर्तनको पक्षमा रहेको बताउँदै थिए । ‘नयाँ दल सरकारमा आएर देशको विकास र समृद्धिका लागि केही गर्छ कि भन्ने हो । विदेशमा यत्रो दुःख गरेर बसिरहने दाजुभाइ हुनुहुन्छ, स्वदेशमै रोजगारी पाए हामीलाई पनि राम्रो हुन्थ्यो भन्ने हो,’ उनले भने । तर, नयाँ दल र नेता कसलाई चुन्ने भन्नेमा पनि निर्णयमा पुगिसकेका छैनन् । ‘देशको अवस्था यस्तो बिजोग भइसक्यो । नयाँ मान्छेले केही गर्छन् कि भन्ने आस हो,’ उनले भने, ‘भोटचाहिँ बुझेर दिन्छु । भर्खर आएको छु, सोचेर र बुझेर दिन्छु ।’
कुवेतबाट फर्किएका काठमाडौं सतुंगलका दुर्गाप्रसाद पाण्डे पनि विमानस्थलमै भेटिए । उनी रोजगारीका लागि कुवेत गएको ६ महिना मात्रै भएको रहेछ । भोट हाल्नकै लागि ६ महिनामै फर्किएको र नयाँ दल रोज्ने उनले सुनाए । ‘चुनावमा भोट हाल्नकै लागि छुट्टी मिलाएर आएको हुँ । नयाँ दललाई नै भोट हाल्छु,’ उनले भने, ‘पहिलेका दलभन्दा अहिलेको नयाँले अलि राम्रो गर्छ कि भन्ने विचार हो ।’
कतारमा १८ वर्षदेखि रोजगारी गर्दै आएका बारा, कलैयाका विनोद चपर्नियालाई यसपटकको निर्वाचनमा प्रवासमा बसिरहन मन लागेन । उनी पनि मंगलबार घर फर्किसकेका छन् । ‘भोट हाल्नकै लागि भनेर काम छाडेर आएको छु । देशको स्थिति खराब भइसक्यो,’ उनले भने, ‘त्यसैले पुरानालाई फालेर नयाँ दल ल्याउनुपर्छ, यसमा मेरो पनि योगदान हुन्छ भनेर आएको हुँ ।’
उनीसँगै कतार एयरवेजबाटै काठमाडौं ओर्लिएका उदयपुर गाईघाटका राम रायमाझी पनि भेट भए । उनी खासमा अस्ट्रियाबाट फर्किएका रहेछन् । सुरुमा क्रोएसिया पुगेको र पछि उतैबाट अस्ट्रिया गएर काम गरेको उनले बताए । ‘म चुनावमा भोट हाल्नकै लागि आएको हुँ । बालेन र रविले देशका लागि केही गर्छन् कि भनेर मत दिन आएको हुँ,’ उनले भने । उनले भोटका कुरा मात्रै गरेनन्, विदेशमा नेपालीको बिग्रिँदो छविबारे पनि सुनाए । नेपाली भएकै कारण विदेशमा रोजगारदाताले काम नै नदिने स्थिति निम्तिएको गम्भीर अवस्था दर्शाए । ‘विदेशको कुनै ठाउँमा काम खोज्दै जाँदा नेपाली नागरिक हो भन्यो भने काममा राख्न मान्दैनन्, अब भन्नुस् नेपाललाई कुन हालतमा पुर्याइएको छ ?’ उनले भने ।
क्रोएसियामा काम नपाएर धेरै नेपालीले दुःख पाइरहेको उनले जानकारी दिए । ‘नेपालमा दलालले १५–२० लाख रुपैयाँ लुटेर पठाएको छ, सबै ऋण गरेर गएको रकम हो । उता काम पाएको छैन, जसकारण डिप्रेसनमा पुगेर धेरै मानिसको बेहाल छ,’ उनले भने, ‘त्यसैले यी सबै समस्या हल गर्ने गरी देश परिवर्तन गर्न चुनावमा भोट हाल्नुपर्छ भन्ने लाग्यो । अनि ११ सय युरोको महँगो टिकट काटेर आएँ ।’
उनले विदेशमा रहेका अन्य नेपालीलाई पनि चुनावमा स्वदेश आउन अनुरोध गरेका छन् । युवा जागेपछि देश बन्ने भन्दै मुलुकलाई लुट्न खोज्ने प्रवृत्तिविरुद्ध मत हालेर लड्नुपर्ने उनको बुझाइ छ । ‘भोट हालेर देश परिवर्तन गर्ने हो, लुटेराहरूलाई देशबाट खेद्ने हो । विदेशमा हाम्रो त अस्तित्व नै छैन,’ उनले भने, ‘मेरो विचारमा विदेशमा रहेका सबै नेपाली अहिलेको चुनावमा भोट हाल्नका लागि फर्किनुपर्छ । कति पैसा कमाइयो, गुमाइयो, यो आफ्नो ठाउँमा छ । तर, अहिलेको चुनावमा देश फर्किनुस् । खाडी मुलुकबाट आउनेलाई त टिकट पनि सस्तो पर्छ ।’
नयाँ दलले देशभित्र रोजगारी गरेर बस्ने वातावरण मात्रै बनाइदिए पनि पुग्ने उनले बताए । ‘हामीलाई देशमै काम गरेर खान पाउने वातावरण भए पुग्छ,’ उनले भने । २१ वर्षको उमेरमा काम खोज्दै बिदेसिएको र अहिले ३६ वर्ष भइसक्दा पनि देश फर्कने वातावरण नभएकोमा उनको चित्त दुखाइ छ ।चुनावका लागि विदेशबाट फर्किने युवाहरूको भिडमा बैतडीका धीरेन्द्रबहादुर चन्द पनि थिए । उनले भने सुटकेसमा पूर्वराजा ज्ञानेन्द्र शाहको तस्बिर टाँसेका थिए । राजतन्त्रप्रतिको श्रद्धाका कारण पूर्वराजाको फोटो टाँसेको उनले सुनाए ।