- काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमा एसपी
- उपत्यकाबाहिरका १५० निर्वाचन क्षेत्रमा डिएसपी
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा हरेक निर्वाचन क्षेत्रमा एसपी र डिएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमा एसपी र उपत्यकाबाहिरका १५० निर्वाचन क्षेत्रमा डिएसपीको कमान्डमा प्रहरी परिचालन गरिएको हो । निर्वाचनलाई थप व्यवस्थित र शान्तिपूर्ण बनाउन यसरी वरिष्ठ अधिकारीलाई निर्वाचन क्षेत्रहरूको नेतृत्व दिएर परिचालन गरिएको प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेले बताए । ‘सबै एसपी र डिएसपीले निर्वाचन क्षेत्रमा पुगेर कमान्ड सम्हालिसकेका छन्,’ उनले भने, ‘विगतमा भन्दा यसपटक निर्वाचन सुरक्षामा थप स्मार्ट र डायनामिक रूपमा सुरक्षा निकायको परिचालन गरिएको छ ।’
प्रहरी प्रधान कार्यालयले फागुनको पहिलो सातादेखि नै खटिने गरी ४४ डिएसपी र ११० इन्स्पेक्टर विभिन्न निर्वाचन क्षेत्रमा खटाइसकेको छ । भूगोलदेखि सुरक्षा चुनौतीको विश्लेषण गर्न सुरुदेखि नै डिएसपीलाई कमान्ड दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । निर्वाचनमा सहयोग गर्न प्रहरी प्रधान कार्यालयबाट मात्र १३ हजार सुरक्षाकर्मी उपत्यकाबाहिरका विभिन्न जिल्लामा खटिएका छन् ।
बुधबारदेखि ३१ एसएसपी र ४६ एसपीलाई जिल्लामा खटाइयो
निर्वाचन अनुगमन र समन्वयका लागि प्रहरी प्रधान कार्यालयले ३१ एसएसपी र ४६ एसपीलाई विभिन्न जिल्लामा खटाएको छ । एकजनाले दुई जिल्लासम्मको समन्वय गर्ने गरी ‘बेस’ नै तोकेर उनीहरूलाई फिल्डमा खटाइएको हो । एकीकृत सुरक्षा योजना कार्यान्वयनको अवस्था बुझ्ने, केन्द्रबाट भएका निर्देशन र परिपत्रको कार्यान्वयनको निरीक्षण गर्ने, सुरक्षा मतदानस्थलको रणनीति कार्यान्वयनमा भएका कमी–कमजोरी औँल्याएर सुधार्ने तथा मुख्य निर्वाचन अधिकृतसँग मिलेर समन्वय गर्न उनीहरूलाई खटाइएको प्रहरी प्रवक्ता काफ्लेले बताए । केन्द्रसँग समन्वय गर्ने जिम्मेवारी पनि उनीहरूलाई दिइएको छ । ३१ मध्ये पाँच एसएसपीलाई उपत्यकाका निर्वाचन क्षेत्रमा खटाइएको छ ।
धेरैजसो एसएसपी तराईका जिल्लामा खटिएका छन् । झापा र इलाम हेर्ने गरी एसएसपी गोविन्द अधिकारीलाई खटाइएको छ । मोरङ र सुनसरी हेर्न ज्ञानेन्द्र फुयाँल, उदयपुर र खोटाङमा योगेन्द्रसिंह थापा खटिएका छन् । झापासहित सर्लाही, चितवन, रूपन्देही, दोलखा, रुकुम पूर्व, बझाङ, बाजुराजस्ता जिल्ला बढी संवेदनशील भएको विश्लेषणमा अतिरिक्त जनशक्ति खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सात एआइजीलाई सात प्रदेश समन्वयको जिम्मा
निर्वाचनमा सात एआइजीलाई सात प्रदेश समन्वयको जिम्मेवारी तोकिएको छ । एआइजी राजन अधिकारीलाई कोशी, डम्बरबहादुर विकलाई मधेश, सिद्धिविक्रम शाहलाई बागमती, डा. मनोज केसीलाई गण्डकी, उमाप्रसाद चतुर्वेदीलाई लुम्बिनी, सुशीलसिंह राठौरलाई कर्णाली र हिमालय श्रेष्ठलाई सुदूरपश्चिम प्रदेशमा समन्वयको जिम्मेवारी दिइएको छ । मतगणना नसकिएसम्मका लागि एआइजीहरूलाई प्रदेशमा समन्वयको जिम्मेवारी तोकिएको छ । आवश्यकताअनुसार प्रदेशमै खटिन सक्ने गरी जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गृहमा दैनिक केन्द्रीय सुरक्षा समिति बैठक
निर्वाचन सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउने उद्देश्यले गृह मन्त्रालयले दैनिक निर्वाचन सुरक्षासम्बन्धी समीक्षा थालेको छ । केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा भइरहेको बैठकमा निर्वाचनसँग सम्बन्धित दैनिक गतिविधिको समीक्षा र रणनीति तथा जनशक्ति परिचालनका साथै जिल्ला समन्वयको कामलाई प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको छ ।