चुनावी मुद्दा मात्र बन्छन् मुसहरका समस्या

मुसहरका लागि योजना भाषणमा आउँछ, तर बजेटमा सधैँ हराउँछ । भूमिहीन, अशिक्षा, कुपोषण, बेरोजगारी र सामाजिक विभेदको चक्रबाट बाहिर निस्कनै मुस्किल ।

बुधबार, १३ फागुन, २०८२
डिजिटल संस्करण
चुनावी मुद्दा मात्र बन्छन् मुसहरका समस्या

मोरङको बुढीगंगा गाउँपालिका– १ खापटोलस्थित मुसहर बस्ती

हरेक वर्ष बर्खामा उर्लेर बाढी आउने सिँघिया नदीछेउमा छ झुपडी बस्ती । १०० घरपरिवार रहेको मोरङको बुढीगंगा गाउँपालिका– १, खापटोल र करैयाका अधिकांश घरका छाना फुसले छाएका छन् । जस्तापाताका छाना भएका झुपडी फाट्टफुट्ट देखिन्छन् । ४२ वर्षीय रमेश मुसहरको घर त्यसमध्ये एक हो । 

चुनावी सरगर्मी बढेसँगै रमेशको बस्तीमा पनि उम्मेदवारहरू भोट माग्न छिरिरहेका छन् । यो गाउँ मोरङ ६ अन्तर्गत पर्छ । भोट माग्न आउनेहरू आश्वासन बाँढिरहेका छन्, ‘यसपटक जग्गा र नागरिकता दिलाइदिन्छौँ, घर बनाइदिन्छौँ, बालबच्चालाई छात्रवृत्ति र रोजगारी दिलाइदिन्छौँ, बाढी रोक्न पक्की तटबन्ध पनि बनाइदिन्छौँ ।’ तर, रमेश यस्ता वाचा हरेक चुनावमा सुन्दै आएको बताउँछन्, तर गाउँको अवस्था भने उस्तै छ । 

बस्तीका कसैको पनि आफ्नै नाममा एक धुर जमिन छैन । बर्खामा बाढी पसेपछि हरेक वर्ष कुम्लो–कुटुरो बोकेर सार्वजनिक भवनमा आश्रय लिन पुग्नुपर्छ, नभए सडकमै पाल टाँगेर बस्नुपर्छ । बर्खामा मात्रै होइन, हिउँदमा पनि सुख छैन । चिसोले कठ्यांग्रिनुपर्ने बाध्यता हुन्छ । बस्तीमा बालबालिकाका लागि बालकेन्द्रसमेत छैन । दुई छाक खाना जुटाउन सबै परिवार मजदुरीमा आश्रित छन् । जातीय विभेद र छुवाछुतको समस्या घटेको छैन । बालविवाह र कुपोषण पनि व्याप्त छ । त्यसैले, रमेशसहित खापटोलका मान्छेहरू चुनावी सभालाई बारम्बार दोहोरिने रमिता मात्र ठान्छन् । पेसाले सिटी–रिक्सा चलाउने रमेश भन्छन्, ‘हामीलाई चुनावले आश्वासनबाहेक कहिल्यै केही दिएको छैन, यो तामझाम हुनेखानेहरूका लागि मात्र हो, रमिताजस्तो लाग्छ ।’

खापटोल र करैयामा गरी सय मुसहर परिवार छन् । मोरङ– ६ बुढीगंगा गाउँपालिका र सुन्दरहरैँचा नगरपालिका तथा विराटनगर महानगरमा मुसहरको १० हजार जनसंख्या छ । यो अवस्था खापटोलका मुसहरहरूको मात्र होइन, देशभरका मुसहर समुदायको साझा पीडा हो । दलित समुदायभित्र पनि सबैभन्दा बढी गरिबीको चपेटामा परेका मुसहर दयनीय जीवन बिताउन बाध्य छन् । धेरैसँग अझै नागरिकता छैन । नागरिकता नहुँदा विदेश जान पाउँदैनन्, सरकारी सुविधा र अनुदानबाट वञ्चित हुन्छन् । नागरिकता भएकाहरूले पनि हरेक चुनावमा आश्वासनमा विश्वास गरेर भोट हाल्दै आएका छन्, तर परिणाम उस्तै छ ।

धेरै बालबालिका विद्यालय जानबाट वञ्चित छन्, गएकाहरू पनि गरिबीका कारण बिचमै पढाइ छाड्छन् । त्यसैले, यसपालिको चुनावमा धेरै मुसहरलाई भोट हाल्न मन नै लागेको छैन । बुढीगंगा–१, करैया गाउँकी नुनसरी ऋषिदेव भन्छिन्, ‘नेताहरू सधैँ आउँछन्, भोट माग्छन्, तर भनेको कहिल्यै पूरा गर्दैनन् । यसपालि त भोट नै हाल्न मन छैन ।’ 

सुकुम्वासी समस्या समाधान गर्ने, पहिचान र संस्कृतिको संरक्षण गर्ने, शिक्षा, आवास, रोजगारी, स्वास्थ्य उपचार, खानेपानी र बिजुली निःशुल्क उपलब्ध गराउने, बाढी–डुबान र कटान नियन्त्रण गर्नेजस्ता लोभलाग्दा प्रतिबद्धता उम्मेदवारहरूले हरेक चुनावमा दोहोर्याउँछन् । तर, घोषणापत्रमा समेटिएका योजना बजेटमा पुग्दैनन् । नेपाल राष्ट्रिय मुसहर संघ कोशीका महासचिव धमेन्द्र ऋषिदेव भन्छन्, ‘हामीले अधिकार नपाएकै कारण हाम्रो गरिबी पुस्तौँदेखि सर्दै आएको छ ।’मोरङ– ६ बाट कांग्रेसका शेखर कोइराला, एमालेका विनोद ढकाल, नेकपाका ओपेन्द्र राय, रास्वपाकी रुबिना आचार्य, राप्रपाका सबिन निरौला, जसपाका राजु मण्डल राजवंशी, श्रम संस्कृतिका मातृका पौडेल, उज्यालो नेपालका वसन्त बुढाथोकीसहित १७ जना चुनावी मैदानमा छन् । यस क्षेत्रमा एक लाख ३७ हजार ८३२ मतदाता छन् । 

 के भन्छन् मोरङ ६ का उम्मेदवार ?
मुसहरको अधिकारका लागि पहल गरिरहनेछु  
शेखर कोइराला, कांग्रेस  

मैले धेरै ठाउँका मुसहर बस्तीमा मन्दिर र सामुदायिक केन्द्र बनाउन भनेर सहयोग गर्दै आएको छु । डुबानमा परेको वेला पनि सहयोग गरेको छु । पालिकामार्फत पनि महोत्सवहरू आयोजना गर्न सहयोग गराएको छु । अब पनि मुसहरका अधिकारका लागि पहल गरिरहनेछु । 

भूमिहीन दलितलाई जग्गा र निःशुल्क शिक्षा 
विनोद ढकाल, एमाले

मैले आफ्नो प्रतिबद्धतापत्रमै प्रस्ट रूपमा भूमिहीन दलितलाई जग्गा वितरण गर्ने, निःशुल्क शिक्षा दिलाउने र संस्कृतिको संरक्षण गर्ने कुरा उल्लेख गरेको छु । विजयी भएर गएपछि पूर्ण पालना गर्नेछु 

डुबानबाट जोगाउन तटबन्ध निर्माण गर्नेछु
ओपेन्द्र राय, नेकपा 

मुसहर समुदायको समस्या नजिकैबाट देखेको छु । मुसहर समुदायलाई आश्वासन मात्र दिनेछैन । उनीहरूलाई डुबानबाट जोगाउन तटबन्ध निर्माण गर्ने, भूमि दिलाएर सुरक्षित आवास निर्माण गरिदिनेदेखि निःशुल्क शिक्षासहित पहिचानको संरक्षणका लागि पहल गर्नेछु । 

सुरक्षित आवास निर्माण गराउन लाग्नेछु 
रुविना आचार्य, रास्वपा

मुसहरहरूको मुख्य समस्या जग्गाजमिन नहुनु र अशिक्षा हो । उच्च शिक्षासम्म निःशुल्क पढ्ने हक र जमिनसहित सुरक्षित आवास निर्माण गराउन लाग्नेछु । उच्च शिक्षासम्म पढ्न पाए भने उनीहरू आफैँ सक्षम हुँदै जानेछन् । 

सुझावित समाचार