यातायात कार्यालय हेटौँडाका अधिकृत भेटुवाल र एक बिचौलिया घुससहित पक्राउ

मंगलबार, १२ फागुन, २०८२
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय हेटौँडामा कार्यरत एक अधिकृत र एकजना बिचौलियालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।

आयोगको हेटौँडा कार्यालयका सूचना अधिकारी विमोचन घिमिरेका अनुसार सवारी सरुवा सहमतिको काम गरिदिने नाममा सेवाग्राहीसँग घुस माग गरेको उजुरीपछि खटिएको टोलीले दुईजनालाई नियन्त्रणमा लिएको हो।

सूचना अधिकारी घिमिरेले बिचौलियाको भूमिका निर्वाह गर्ने लेखापढी व्यवसायी खगेन्द्र पौडेललाई ११ हजार ५ सय रुपैयाँ लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका पौडेलको बयानका आधारमा घटनामा संलग्न रहेको पाइएपछि अख्तियारले छैटौँ तहका अधिकृत अमृत भेटुवाललाई पनि नियन्त्रणमा लिएको हो।

दुवैलाई यातायात व्यवस्था कार्यालय, हेटौँडाको परिसरबाटै नियन्त्रणमा लिइएको हो। आयोगको टोलीले घटनास्थलबाट ३ थान मोबाइल सेटसमेत बरामद गरेको जनाएको छ।

पक्राउ परेका भेटुवाल र पौडेललाई थप प्रमाण संकलन तथा अनुसन्धानका लागि अख्तियारको केन्द्रीय कार्यालय टंगाल काठमाडौं पठाइने सूचना अधिकारी घिमिरेले जानकारी दिए।

सुझावित समाचार