भ्रष्टाचार मुद्दामा कारागारमा रहेका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेलको सिंगापुरको बैंक खाताको विवरण झिकाउन विशेष अदालतले आदेश दिएको छ। गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेषले सिंगापुरको बैंक खाताको आधिकारिता खोजेको हो।
सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा करोडौँ रकम रहेको दाबी अख्तियारको थियो। यसअघि पनि कानुन मन्त्रालयमार्फत यस्तो विवरण बुझाउन भनेपनि सिंगापुर सरकारसँग पारस्पारिक कानुनी सहायता सन्धि नहुँदा सरकारले विवरण झिकाउन सकेको छैन ।
मंगलबार विशेष अदालतले विवरण प्राप्त हुन नसक्ने हो भने सोहीबमोजिमको जवाफ दिन मन्त्रालयलाई आदेश दिएको छ।
त्यस्तै, नेपाल राष्ट्र बैंकमार्फत सो बैंकमा रहेको रकमको विवरण नेपाल राष्ट्र बैंकमार्फत सिंगापुरको केन्द्रीय बैंकसँग सहयोग र समन्वय गरी यथाशक्य छिटो झिकाउन आदेश दिएको छ।
अख्तियारको छानबिनअनुसार सुनीलको ३८०–९४८३१०८ नम्बरको खातामा २ जनवरी २०२२ मा ५८ हजार अमेरिकी डलर जम्मा भएको छ । जुन सिंगापुरकै ब्यानकोटेक नामक कम्पनीले स्ट्यान्डर्ड चार्टर्ड बैंक हुँदै उनको खातामा जम्मा गरेको छ । त्यस्तै, ६ डिसेम्बर २०२१ मा अमेरिकाको इन्स्टासेफ नामक कम्पनीले बैंक अफ अमेरिका हुँदै उनको खातामा ७७ हजार पाँच सय ४५ अमेरिकी डलर जम्मा गरेको छ ।
२ अगस्ट २०२१ मा अमेरिकाको इन्स्टासेफबाटै २४ हजार नौ सय ९५ र २५ अगस्ट २०२१ मा ४७ हजार सात सय ४५ डलर जम्मा भएको छ । यो रकम विभिन्न खरिदसम्बन्धी कमिसनको भएको आशंका गरिएको छ । नेपाल टेलिकमका प्रबन्ध–निर्देशक रहेका वेला पौडेलविरुद्ध आयोगले नेसनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचारमा मुद्दा दायर गरेको थियो । उनले विदेशमै खाता खोलेर कमिसन लिने गरेकाे आयोगको छानबिनमा देखिएको थियो।
हाल उनी विभिन्न भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि कारागार छन्।
पौडेलसँग २३ करोड ७५ लाख रुपैयाँ अकुत सम्पत्ति रहेको दाबीसहित २२ महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।