रोल्पामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

मंगलबार, १२ फागुन, २०८२
डिजिटल संस्करण

रोल्पामा यात्रुवाहक बोलेरो जिप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। मंगलबार दाङको घोराहीबाट रोल्पाको बागमाराका लागि छुटेको लु.१ज ४८५४ नम्बरको जिप रुन्टीगढी गाउँपालिका– ५, खुमबासामा दुर्घटना भएको हो।

दुर्घटनामा परिवर्तन गाउँपालिका– ६ बस्ने २४ वर्षीया विष्णुमाया बुढामगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिपमा सवार ११ जनामध्ये १० जना घाइते भएका छन्।

घाइते हुनेहरूमा माडी गाउँपालिका– ५ का चालक २२ वर्षीय भरत वली, परिवर्तन गाउँपालिका– ६ की १८ वर्षीया प्रतिभा पुनमगर, वडा नं. ४ की १९ वर्षीया जुना वली, २६ वर्षीया हिमाली वली, वडा नं. ३ की ३२ वर्षीया खिमा केसी, वडा नं. ६ की ३० वर्षीया पुष्पा बुढामगर रहेका छन्।

त्यस्तै, सोही गाउँपालिका वडा नं. ६ का तीन वर्षीय साइमन पुन, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका– १ की १७ वर्षीया सुस्मा केसी, माडी गाउँपालिका– ३ का ६० वर्षीय भिमु राना र परिवर्तन गाउँपालिका– ६ की १२ वर्षीया चाँदनी बुढा घाइते भएका प्रहरीको भनाइ छ।

घाइतेहरू सबैको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए। घाइतेहरूलाई दाङको घोराहीस्थित राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ।

सहिदमार्गअन्तर्गतको उक्त सडकमा दुर्घटनाग्रस्त जिप सडकबाट करिब १५० मिटर तल खसेको छ। घटना भएको खबरलगत्तै इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक ताराबहादुर छहरीको नेतृत्वमा १० जनाको प्रहरी टोली घटनास्थल पुगी उद्धार गरेको थियो।

घटनास्थलको सडक अवस्था खराब नभए पनि के कारणले दुर्घटना भएको हो भन्नेबारेमा यकिन नभएको प्रहरीको भनाइ छ।

सुझावित समाचार