चालू आर्थिक वर्ष ०८२/८३ मा सरकारको लक्ष्यअनुसार ६ लाख टन रासायनिक मल आपूर्तिको सुनिश्चित भइसकेको पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चालू आवको १० फागुनसम्म तीन लाख ९० हजार ६६ टन रासायनिक मल किसानलाई वितरण भइसकेको छ । मल वितरणपछि पनि कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङको गोदाममा अहिले एक लाख २७ हजार चार सय ९२ टन मौज्दात छ । त्यस्तै, ३३ हजार तीन सय ९५ टन कोलकत्ता बन्दरगाहबाट आउने क्रममा छ ।
थप ५२ हजार टन कृषि सामग्रीको टेन्डरअनुसार ‘सिपमेन्ट’ हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ । यो सबै मल आगामी चैते धान, मकै बाली र बर्खे धानका बिउ (ब्याड) राख्नका लागि पुग्ने कृषि सामग्रीका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले बताए । हाल मौज्दात रहेको र मार्गस्थमा रहेको परिमाणले जेठसम्मको माग धान्न पुग्ने उनको भनाइ छ । ‘यसपालि मल वितरण पनि विगतको भन्दा धेरै भएको छ र अहिले मौज्दात रहेको परिमाणले जेठसम्मको माग धान्न सकिन्छ भन्ने अपेक्षा छ,’ उनले भने, ‘त्यसपछिको माग परिमाण धान्नका लागि पनि आवश्यक व्यवस्था भइसकेको छ ।’
योबाहेक आगामी असार, साउन र भदौका लागि तीन लाख पाँच हजार टन रासायनिक मल खरिदका लागि अर्थ मन्त्रालयबाट स्रोत सहमति लिइसकिएको उनले जानकारी दिए । स्रोत सहमति प्राप्तमध्ये दुई लाख १० हजार टन कृषि सामग्री र ९५ हजार टन साल्ट ट्रेडिङमार्फत आपूर्ति हुनेछ । कृषि सामग्रीले असार, साउन र भदौका लागि अहिले नै डेढ लाख टन मलको टेन्डरसमेत निकालिसकेको छ । यसमध्ये ३० हजार टन युरियाको बोलपत्र खोलेर ठेक्का सम्झौता नै हुन लागेको छ ।
‘टेन्डर खोलेर ठेक्का सम्झौता गर्ने र मल प्राप्त गर्ने समय धेरै लामो भएकाले अहिलेबाटै खरिद प्रक्रिया अघि बढाइएको छ,’ उनले भने, ‘अहिले थालेको खरिद प्रक्रियाबाट असारमा मल प्राप्त हुने करिब निश्चित नै छ ।’ सरकारले यो वर्ष मल खरिदका लागि अनुदानबापत २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ व्यहोरेको छ ।
विष्णुप्रसाद पोखरेल, प्रबन्ध सञ्चालक, कृषि सामग्री कम्पनी
यसपालि मल वितरण पनि विगतको भन्दा धेरै भएको छ । अहिले मौज्दात रहेको परिमाण र मार्गस्थमा रहेको परिमाणले जेठसम्मको माग धान्न सकिन्छ भन्ने अपेक्षा छ । त्यसपछिको माग परिमाण धान्नका लागि पनि आवश्यक व्यवस्था भइसकेको छ । आगामी आर्थिक वर्षको बजेटबाट खर्च गर्ने गरी अर्थ मन्त्रालयबाट तीन लाख पाँच हजार टन मल खरिदका लागि स्रोत सहमति लिने काम भइसकेको छ । टेन्डर खोलेर ठेक्का सम्झौता गर्ने र मल प्राप्त गर्ने समय धेरै लामो भएकाले अहिलेबाटै खरिद प्रक्रिया अघि बढाइएको छ । अहिले थालेको खरिद प्रक्रियाबाट असारमा मल प्राप्त हुने करिब निश्चित नै छ । स्रोत सहमति प्राप्त गरेर किनेको मलले असार, साउन र भदौको माग धान्न पुग्ने अपेक्षा छ ।
तीन लाख ९० हजार टन वितरण
चालू आवको १० फागुनसम्म कृषि सहकारी, एग्रोभेट र निजी बिक्री केन्द्रमार्फत तीन लाख ९० हजार ६६ टन मल बिक्री भएको मन्त्रालयले जनाएको छ । यसमध्ये युरिया दुई लाख २७ हजार सात सय ८१ टन, डिएपी एक लाख ५१ हजार एक सय १४ टन र पोटास ११ हजार एक सय ७० टन बिक्री भएको मन्त्रालयको तथ्यांक छ । यो अवधिमा कृषि सामग्रीका तर्फबाट युरिया एक लाख ७६ हजार सात सय १० टन, डिएपी एक लाख ६ हजार एक सय ७१ टन र पोटास पाँच हजार सात सय २९ टन गरी कुल दुई लाख ८८ हजार ६ सय ११ टन मल बिक्री भएको छ भने साल्ट ट्रेडिङका तर्फबाट युरिया ५१ हजार ७० टन, डिएपी ४४ हजार नौ सय ४३ टन र पोटास पाँच हजार चार सय ४० टन गरी कुल एक लाख एक हजार चार सय ५४ टन बिक्री भएको मन्त्रालयले जनाएको छ ।
गोदाममा एक लाख २७ हजार टन मौज्दात
कृषि सामग्री र साल्ट ट्रेडिङको गोदाममा १० फागुनसम्म एक लाख २७ हजार चार सय ९४ टन रासायनिक मल मौज्दात छ । कृषि सामग्रीको गोदाममा युरिया ६१ हजार नौ सय ११ टन, डिएपी २५ हजार दुई सय ५० टन र पोटास नौ हजार चार सय ८८ टन गरी कुल ९६ हजार ६ सय ५० टन मौज्दात छ । त्यस्तै, साल्ट ट्रेडिङको गोदाममा युरिया १४ हजार एक सय ८४ टन, डिएपी १२ हजार ६ सय नौ टन र पोटास चार हजार ४८ टन गरी कुल ३० हजार आठ सय ४२ टन मौज्दात छ ।
८५ हजार टन ‘सिपमेन्ट’
कृषि मन्त्रालयका अनुसार कोलकाता बन्दरगाहमा कषि सामग्रीको टेन्डरमार्फत ३३ हजार तीन सय ९५ टन रासायनिक मल आइसकेको छ । यसमध्ये युरिया दुई लाख २३ हजार तीन टन, डिएपी तीन हजार तीन सय ३८ टन र पोटास सात हजार सात सय ५३ टन रहेको मन्त्रालयले जनाएको छ । थप ३२ हजार टन डिएपी र २० हजार टन युरिया गरी कुल ५२ हजार टन मल विभिन्न देशमा सिपमेन्ट हुन लागेको छ । उक्त मल आगामी जेठसम्म नेपाल भित्रिने कार्यतालिका छ ।