जय ट्रफी पुरुष इलिट कप : दोस्रो चरणको पहिलो दिन २५ विकेट पतन

कीर्तिपुरको त्रिभुवन अन्तर्राष्ट्रिय मैदान र मूलपानीमा दुई खेल हुँदा २५ खेलाडी पेभेलियन फर्केका छन्

मंगलबार, १२ फागुन, २०८२
डिजिटल संस्करण

द्विदिवसीय राष्ट्रिय जय ट्रफी पुरुष इलिट क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारदेखि सुरु भएको दोस्रो चरणको एकै दिन कुल २५ विकेट पतन भएका छन् । दोस्रो चरणका खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय मैदान र मूलपानीमा सुरु भएका छन् । त्रिवि मैदानमा नेपाल पुलिस र एपिएफ क्लबबिचको खेलमा कुल १५ विकेट खसेको थियो । यसैगरी, मूलपानी मैदानमा बागमती प्रदेश र त्रिभुवन आर्मीबिचको प्रतिस्पर्धामा १० खेलाडी आउट भए । 

समग्रमा यी दुई खेलमा २५ विकेट खसेका हुन् । पहिलो चरणमा एपिएफ क्लबले सानदार जित निकालेको थियो । पहिलो दिनमा नेपाल एपिएफविरुद्ध नेपाल पुलिस क्लब पहिलो इनिङ्समा ६ रनले पछाडि छ । नेपाल एपिएफले पहिलो ब्याटिङ गरी ६३.४ ओभरमा सबै विकेट गुमाएर १८५ रन जोडेको थियो । पुलिसका लागि ललित राजवंशी र सागर ढकालले सर्वाधिक समान चार विकेट हात पारेका थिए । ललितले ३१.४ ओभरमा ८१ रन खर्चदा नौ मेडन फ्याँकेका थिए । सागरले २६ ओभरमा सात मेडनसहित ६६ रन दिएका थिए । 

पुलिसका लागि थप दुई विकेट कुशल भुर्तेलले हात पारे । एपिएफको फितलो ब्याटिङमा कप्तान रोहितकुमार पौडेलले ४८ बलमा नौ चौका प्रहार गरी ४५ रन जोडेका थिए । सुमित महर्जनले सय बल सामना गरी पाँच चौका र तीन छक्का प्रहार गरी ५५ रनको योगदान दिए । ओपनर दीपक बोहोराले ७३ बलमा २८ रन तथा आसिफ सेखले ३१ बलमा १२ रन बटुले । 

प्रत्युत्तरमा पहिलो इनिङ्स थालेको पुलिसका लागि दिल्साद अलीले ८७ बलमा एक छक्का र सात चौका सहयोगमा ५८ रन जोडे । अमित श्रेष्ठले ५० बलमा तीन छक्का र दुई चौकाको सहयोगमा ४१ रन जोडेका थिए । शंकर राना ४८ रनमा नटआउट रहँदा समान दुई छक्का र चौका प्रहार गरे । एपिएफका लागि पाँच बलरले समान एक विकेट हात पारे । इसाद अहमाद, अभिषेश गौतम, युवराज खत्री, अमार राउटेला र सन्दीप जोराले एक–एक विकेट लिएका हुन् ।

 बागमतीविरुद्ध आर्मी ६८ रनले पछाडि
मूलपानी मैदानमा बागमतीले पहिलो ब्याटिङ गरी ७० ओभरमा सात विकेटको क्षतिमा २५९ रनको योगफलमा इनिङ्स समाप्त गरेको थियो । प्रत्युत्तरमा आर्मीले दिनको समाप्तिसम्म तीन विकेटको नोक्सानीमा १९१ रन जोडेको छ । आर्मीले पहिलो दिन ४० ओभर ब्याटिङ गरेको छ । आर्मी बागमतीभन्दा ६८ रनले पछाडि रहेको छ । आर्मीका भीम सार्कीले सर्वाधिक ७४ रनको योगदान दिए । 

भीमले ८३ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । सन्तोष कार्की ४३ रनमा नटआउट छन् । उनले ७९ बलमा सात चौका ठोकेका छन् । आर्मीका ओपनर तृतराज दासले ४४ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३८ रन बनाए । बागमतीका लागि रिजन ढकाल, सन्दीप लामिछाने र विपिन आचार्यले समान एक विकेट लिए । सन्दीपले ११ ओभरमा दुई मेडन राखी ५९ रन खर्चेका थिए । यसअघि पहिलो ब्याटिङ गरेको बागमतीले आर्मीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । बागमतीले प्रतिओभर ३.७० को रनरेटमा ब्याटिङ ग¥यो । बागमतीका ओपनर आशुतोष घिरैयाले सर्वाधिक ७७ रन बनाए । 

उनले १२७ बलमा ११ चौका प्रहार गरे । रित गौतम र शुभ कंसाकारले समान २० रन बटुले । ईशान पाण्डेले १०४ बल खेलेर ६९ रन बनाउन पाँच चौका प्रहार गरे । विवेक मगरले तीन छक्का र एक चौका प्रहार गरी ३१ रनको योगदान दिए । आर्मीको बलिङमा सहाब आलमले २२ ओभरमा ६५ रन खर्चेर तीन विकेट हात पारे । नरेन साउदले १२ ओभरमा दुई विकेट लिए । 

सुझावित समाचार