पूर्वराजाको सन्देशपछि चुनावविरोधी समूह सक्रिय :दुर्गा प्रसाईंका सहयोगीदेखि शाही युवा शक्तिसम्म प्रहरी निगरानीमा

मंगलबार, १२ फागुन, २०८२
डिजिटल संस्करण

पूर्वराजा ज्ञानेन्द्र शाहको ‘निर्वाचनविरोधी’ अभिव्यक्तिपछि चुनाव भाँड्ने गतिविधिमा लागेकाहरूमाथि प्रहरीले निगरानी बढाएको छ । निर्वाचनका लागि सुरक्षा चुनौती ठानिएका शक्ति र व्यक्तिमाथि प्रहरीले निगरानी बढाएको हो । 

दुर्गा प्रसाईंनिकट एनी टाइम फोर्स (एटिएफ)देखि शाही युवा शक्तिका व्यक्तिहरूमाथि निगरानी बढाइएको प्रहरी स्रोत बताउँछ । त्यस्तै, मधेशी युथ फोरम नामक समूहमाथि पनि प्रहरीले अनुसन्धान थालेको छ । फेसबुक ग्रुपबाट बनेको यस्तो समूहले चुनावविरोधी गतिविधि थालेको र सामाजिक सद्भाव भड्काउने प्रयास गरेको सुरक्षा निकायको निष्कर्ष छ ।

‘पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिपछि केही समूहहरू चुनाव भाँड्न सकिन्छ कि भनेर लागेको देखिन्छ,’ एक उच्च सुरक्षा अधिकारी भन्छन्, ‘त्यस्ता सबै समूहको पहिचान गरी निगरानी र कारबाही प्रक्रिया अघि बढाइसकेका छौँ ।’ प्रजातन्त्र दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले राष्ट्रिय सहमति गरेर मात्र निर्वाचनमा जानुपर्ने भन्दै निर्वाचनको विपक्षमा धारणा राखेका थिए । उनको अभिव्यक्तिपछि केही राजावादी निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको सुरक्षा निकायको रिपोर्ट छ । 

प्रहरीले यही आरोपमा दुर्गा प्रसाईं, धर्मेन्द्र बाँस्तोला, ऋषि कट्टेल, एसपी साहलगायत व्यक्तिलाई थुनामै राखेर अनुसन्धान गरिरहेको छ । पशुपति खड्का, सन्तोष राजावादीलगायत व्यक्तिलाई प्रहरीले निगरानी थालेको छ । केही उग्र पहिचानवादी समूहलाई पनि चुनौतीका रूपमा राखेर प्रहरीले उनीहरूको गतिविधि नियालिरहेको छ । 

उपत्यकाबाट नौ हजार प्रहरी खटिए विभिन्न जिल्लामा थप मद्दतका लागि उपत्यकामा कार्यरत नौ हजार प्रहरी खटिएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा भेला गरेर प्रहरीलाई विभिन्न जिल्लामा खटाइएको हो ।उपत्यकाबाट करिब १२ हजार प्रहरी निर्वाचनमा सहयोग गर्न खटाउने निर्णय भइसकेको छ । कार्यालयमा अत्यावश्यकबाहेक सबै जनशक्तिलाई निर्वाचनमा परिचालन गरिएको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बताए । उच्च प्रहरी अधिकारीलाई पनि विभिन्न जिल्लामा अनुगमन गर्ने गरी खटाउने तयारी भइरहेको छ । 

मिथ्या सूचना रोक्न एआई सेल स्थापना 
मिथ्या सूचना नियन्त्रणका लागि नेपाल प्रहरीले एआई प्रविधिको प्रयोग थालेको छ । प्रहरी प्रधान कार्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स एन्ड एड्भान्स एनलिटिकल सेल (एआई सेल) स्थापना गरी प्रहरीले निगरानी थालेको हो । सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालले सेलको उद्घाटन गरेका छन् । एआईको संस्थागत अवलम्बन र सुदृढीकरण, प्रोएक्टिभ इन्टेलिजेन्स तथा अर्ली वार्निङ प्रणाली, डिजिटल अपराध इन्टेलिजेन्सको सुदृढीकरण र एआईको दुरुपयोग डिटेक्सनजस्ता उद्देश्यले सेल स्थापना गरिएको प्रहरीले जनाएको छ । 

‘बढ्दो साइबर अपराध, गलत तथा मिथ्या सूचना, संगठित आपराधिक सञ्जाल, वित्तीय अपराध, सामाजिक अस्थिरता सिर्जना गर्ने डिजिटल अभियानजस्ता गतिविधिहरूले राष्ट्रिय सुरक्षा, अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रणमा चुनौती थपिँदै गइरहेको छ । त्यसलाई रोक्न उच्च प्रविधियुक्त यस्तो सेल स्थापना गरिएको छ,’ प्रहरी प्रवक्ता डिआइजी काफ्लेले भने । प्रहरी प्रवक्ता काफ्लेका अनुसार एआई सेलको प्रयोगबाट गलत तथा मिथ्या सूचना सम्प्रेषण भएको पाँचवटा घटनामा संलग्न व्यक्तिहरूलाई बाँके, कञ्चनपुर, सुनसरी, सल्यान र दाङबाट पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको छ । प्रहरी प्रवक्ता काफ्ले भन्छन्, ‘आमनागरिकले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत हुनु आवश्यक छ । 

सुझावित समाचार