प्रेरक प्रसंग : घरको वास्तुदोष

मंगलबार, १२ फागुन, २०८२
डिजिटल संस्करण

एकजना व्यापारीले सहरदेखि केही परको गाउँमा एउटा भव्य फार्महाउस खरिद गरेपछि आफ्ना आफन्त, मित्र र शुभचिन्तकलाई एक भव्य भोज दिए । विशाल फार्महाउस, कम्पाउन्डभित्रै रहेको आँपको ठुलो बगैँचा र वरिपरिको वातावरण देखेर पाहुनाले फार्महाउसको तारिफ गरे । तर, केही आगन्तुकले उनलाई अरूले बनाएको घरमा बस्नुअघि घरको वास्तु मिलेको छ कि छैन भनेर ज्योतिषीसित सल्लाह लिन अनुरोध गरे । व्यापारीलाई यस्तो कुरामा विश्वास नभए पनि आफन्त र शुभचिन्तकको मन राखिदिन अर्को दिन ज्योतिषीको खोजीमा निस्किए । खोज्दै जाँदा व्यापारीले एक नामी ज्योतिषीलाई भेटेर आफ्नो समस्या बताए । ज्योतिषी उनीसँगै जान तयार भए । दुवैजना व्यापारीको कारमा सवार भए । 

बाटामा व्यापारीले पटक–पटक पछाडिबाट आउने कारलाई अघि जान दिइरहे । ज्योतिषीले त्यसको कारण जान्न खोज्दा व्यापारीले भने– सायद उनीहरूको कुनै विशेष काम थियो कि ? उनीहरूबिच कुराकानी हुँदै थियो, अचानक कुनै एक बालक दौडँदै व्यापारीको गाडीअगाडि आइपुगे । गाडीको गति खासै तेज थिएन । त्यसैले, व्यापारीले सजिलै रोके र केही समय सडकको किनारामै बसेर प्रतीक्षा गरे । ज्योतिषले कारण जान्न खोज्दा उनले भने– यो बालक कतैबाट दौडँदै आएको थियो । पक्कै पनि ऊ साथीहरूसित खेल्दै थियो । सायद उसलाई खोज्दै अन्य बालक पनि आउन सक्छन् । त्यसैले, उनीहरूलाई बाधा नपुगोस् भनेर म रोकिएको हुँ । नभन्दै एकैछिनमा दौडँदै अर्का बालक सडकमा देखा परे । 

उनीहरू व्यापारीको घरअगाडि पुगे । व्यापारीको कम्पाउन्डभित्रको रुखबाट एक्कासि चरा उडे । व्यापारीले ज्योतिषीलाई भने– हजुर एकछिन गाडीबाट नओर्लिनुस् है गुरु ! सायद केही बालबालिका कम्पाउन्डभित्र पसेर आँप टिप्दै छन् । हामीलाई देखेर आत्तिएर रुखबाट हामफाले भने उनीहरूलाई चोटपटक लाग्न सक्छ । ज्योतिषी हेर्दै थिए, एकैछिनमा एक हुल बालबालिका हातहातमा आँप लिएर बाहिर निस्किए । उनीहरू निस्किसकेपछि व्यापारीले गाडी भित्र लगेर रोके र भने– गुरु, यही हो मेरो घर । अब हजुरले यसको वास्तु हेरिदिनुस् । ज्योतिषीले भने– जुन घरमा तपाईंजस्ता आफ्नोभन्दा अरूको दुःखलाई महŒव दिने मान्छे बस्छ, उसलाई ईश्वरले हेर्नुहुन्छ । जसलाई ईश्वरले हेर्नुहुन्छ, उसको घरमा वास्तुदोष हुनै सक्दैन । 

सुझावित समाचार