वीरगन्जमा कर्फ्यु हट्यो, भोलि बिहान ८ बजेसम्म निषेधाज्ञा
सर्वपक्षीय बैठकपछि वीरगन्ज महानगरपालिकामा लगाइएको कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले अपराह्न ४ः३० बजेदेखि लागू हुने गरी कर्फ्यु हटाएको हो।
वीरगन्ज– ११, श्रीपुरमा आइतबार बेलुकी दुई समुदायबिच विवाद भएपछि सोमबार बिहान ९ः४५ बजेदेखि कर्फ्यु लगाइएको थियो। सर्वपक्षीय बैठकले दोषीहरूलाई कानुनी दायरामा ल्याउनेसहितको तीनबुँदे निर्णय गरेपछि प्रशासनले कर्फ्यु हटाएको हो।
उपचार खर्च अभाव भएपछि साम्बाले मागिन् सहयोग
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले उपचारका लागि सहयोग मागेकी छिन्। न्युजिल्यान्डको क्लब फुटबल खेल्ने क्रममा घाइते भएर उपचाररत उनले उपचारका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले उदासीनता देखाएको र उपचार खर्च पर्याप्त नभएको भन्दै सामाजिक सञ्जालमार्फत सहयोग मागेकी हुन्।
कतारको अस्पतालमा उपचारका लागि करिब ८० हजार डलर आवश्यक पर्ने र इन्स्योरेन्सबाट पर्याप्त नहुने भएकाले उनले सहयोग मागेकी हुन्।
बालेन्द्र शाहले सार्वजनिक गरे चुनावी वाचापत्र
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार बनेका बालेन्द्र शाहले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन् । सोमबार सार्वजनिक गरेको वाचापत्रमा शाहले आफ्नो राजनीति सेवा, इमानदारिता र परिणाममा केन्द्रित हुने उल्लेख गरेका छन् ।
मतमा अभिव्यक्त नागरिकको विश्वासलाई काममा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् । शिक्षा, पूर्वाधार, कृषि तथा रोजगारी, महिला तथा बालबालिका, पर्यटन तथा उद्योग, खेलकुद, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण, सुशासन र कला तथा संस्कृतिमा विशेष काम गर्ने उनले जारी गरेको वाचापत्रमा उल्लेख छ ।
निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन शिक्षक र कर्मचारीलाई आयोगको निर्देशन
निर्वाचन आयोगले शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन निर्देशन दिएको छ।
आचारसंहिताविपरीत निर्वाचन प्रचारप्रसारमा सामेल भएको पाइएमा निर्वाचन आचारसंहिताको दफा ४८ बमोजिम कारबाही हुने आयोगले चेतावनी दिएको छ।
शिक्षा ऐनमा समेत शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाउने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ।
२०४६ पछिका सबै काण्डको छानबिन हुन्छ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूको सरकार बनेपछि २०४६ सालपछिका सबै भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्ने बताएका छन्।
सोमबार बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित चुनावी सभामा लामिछानेले नबिराएकालाई नडराउन आग्रह गर्दै बिराएकालाई नछाड्ने चेतावनी दिए। ‘जसले बिराएको छैन, उसले डराउनुपर्दैन,’ उनले भने, ‘जसले बिराएको छ, त्यसलाई हामी छोड्दैनौँ। किनकि सुशासन हाम्रो पहिलो प्राथमिकता हो।’
सभापति लामिछानेले आगामी दिनमा शिक्षकहरूलाई राजनीतिक दलको भोट बैंक बन्न नदिने स्पष्ट पारे। उनले संगठनको नाममा भोट बैंक बनाउने प्रवृत्तिको अन्त्य गर्ने दाबी गरे। शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त राख्नुपर्ने बताउँदै उनले शिक्षा नीति विद्यार्थीको हितमा बन्नुपर्ने प्रस्ट पारे। त्यो जिम्मेवारी रास्वपा सरकारले लिने उनको भनाइ थियो।
निर्वाचन सुरक्षाका लागि मोफसलतर्फ प्रहरी
२१ फागुनका लागि तय भएको निर्वाचनमा थप मद्दतका लागि काठमाडौं उपत्यकामा कार्यरत प्रहरीलाई विभिन्न जिल्लामा खटाउन थालिएको छ।
महारागन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा भेला गरेर उनीहरूलाई बसमार्फत जिल्ला–जिल्लामा ओसार्न थालिएको हो। सोमबारसम्म नौ हजार प्रहरी काठमाडौंबाट विभिन्न जिल्लामा खटिएका प्रहरी प्रधान कार्यालयले जनाएको छ।
उदयपुरको कटारी– ८ मा खेताला स्वयंसेविकाद्वारा मतदाता शिक्षा
उदयपुरको कटारी नगरपालिका– ८ मा खेताला स्वयंसेविकामार्फत मतदाता शिक्षा सञ्चालन गरिएको पाइएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा दिन खटिएकी स्वयंसेविका दिलकुमारी राउत मगरले खेताला प्रयोग गरेर मतदाता शिक्षा दिएको पाइएको हो ।
एमाले छाडेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश
नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छिन् ।
सिराहाको गोलबजारमा आयोजित एक विशेष कार्यक्रमबिच थपलियासहितका एमाले नेता–कार्यकर्ता रास्वपामा भित्रिए ।
उनीहरूलाई रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले पार्टीमा स्वागत गरेका थिए । थपलिया ०७९ को निर्वाचनमा खस आर्यतर्फकी समानुपातिक सांसद हुन् ।
तीन पूर्वसचिवसहित पाँचजनालाई साधारण तारेखमा राख्न विशेष अदालतको आदेश
पोखरा विमानस्थलमा भएको अनियमितता प्रकरणमा उपस्थित भएका पाँचजनालाई विशेषले साधारण तारेखमा राख्ने आदेश गरेको छ । सोमबार यस मुद्दाका पाँच प्रतिवादी उपस्थित भएका थिए ।
पूर्वसचिवहरू मधुकुमार मरासिनी, मोहनकृष्ण सापकोटा, सुमनप्रसाद शर्मासहित रामचन्द्र सुवेदी र प्रेमनाथ उपाध्यायको हकमा यस्तो आदेश गरेको हो। विशेषका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासबाट पाँचै प्रतिवादीको बयानपछि यो आदेश भएको हो ।
स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वास्थ्यकर्मीलाई नखटाउन निर्वाचन आयोगसमक्ष आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निर्वाचनको समयमा हुन सक्ने सम्भावित दुर्घटना तथा आकस्मिक घटनालाई ध्यानमा राख्दै यस्तो आग्रह गरिएको जानकारी दिए।
उनले भने, 'निर्वाचनको समयमा हुन सक्ने दुर्घटना र अन्य आकस्मिक घटनाको जोखिमलाई हेरेर स्वास्थ्यकर्मी २४सै घण्टा तयारी अवस्थामा रहनुपर्ने हुन्छ। त्यसैले हामीले आयोगसमक्ष स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह गरेका छौँ।'