रुपन्देही २ मा युवाको दबाबमा ‘पाका’

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय चर्चामा रहने रुपन्देही–२ यसपटक केवल जित–हारको प्रतिस्पर्धाले होइन, पुस्तान्तरणको बहसले थप रोचक बनेको छ। दशकौँदेखि राजनीतिक प्रभाव कायम गर्दै आएका एमाले उपाध्यक्ष विष्णु पौडेल निरन्तर पाँचौँ जितको लक्ष्यसहित मैदानमा छन्। उता कांग्रेसले पनि अनुभवी नेता चुन्नप्रसाद पौडेललाई उम्मेदवार बनाउँदै प्रतिस्पर्धा कडा बनाएको छ। तर, यी दुई ‘पाका’ नेतामाथि युवापुस्ताको दबाब बढ्दो छ।

नेकपाका सुभाष पाण्डे (विश्वदीप), राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल र नेपाल जनसेवा पार्टीका कमल भुसाल (डा. निकोलस भुसाल) लगायतका उम्मेदवारले परिवर्तन र नयाँ नेतृत्वको एजेन्डासहित चुनौती दिएका छन्। लगातार एमालेको पकड र रास्वपाको बढ्दो प्रभावबीच नेकपाका पाण्डेले पनि मतदातामाझ उल्लेख्य दबाब सिर्जना गरिरहेका छन्।

निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेका अनुसार १९ दल र २० स्वतन्त्र गरी ३९ जना उम्मेदवार चुनावी मैदानमा छन्। २७ देखि ७८ वर्षसम्मका उम्मेदवार प्रतिस्पर्धामा रहेकाले रुपन्देही–२ पुस्तागत प्रतिस्पर्धाको प्रत्यक्ष उदाहरण बनेको छ। युवापुस्ताले सामाजिक सञ्जालदेखि घरदैलो अभियानसम्म 'अब अवसर नयाँ पुस्तालाई' भन्ने सन्देशलाई मुख्य नाराका रूपमा अघि सारेका छन्। विशेष गरी सहरमुखी बुटवल क्षेत्रमा शिक्षित तथा पहिलोपटक मतदान गर्ने मतदाताको संख्या उल्लेख्य रहेकाले उनीहरूको रुझान निर्णायक बन्न सक्ने आकलन गरिएको छ। गत निर्वाचनमा विष्णु पौडेलले २७ हजार १६५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी रास्वपाका गणेश पौडेलले २५ हजार ७९५ मत ल्याएका थिए। घट्दो मतान्तरलाई विपक्षीहरूले ‘जनमतको संकेत’का रूपमा व्याख्या गर्दै आएका छन्।

२०७४ मा फराकिलो मतान्तरले विजयी भएका पौडेलका लागि यसपटकको चुनाव प्रतिष्ठासँगै निरन्तरताको परीक्षा बनेको छ। रुपन्देही–२ मा एक लाख ३५ हजार ५० मतदाता छन् । बुटवल, तिलोत्तमा र सैनामैना नगरपालिकाका २३ वडामा फैलिएको यस क्षेत्रमा युवा मतदाता नै परिणाम निर्धारण गर्ने देखिएकाे छ।

सुझावित समाचार