मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा यात्रुवाहक बस दुर्घटना, १५ जना घाइते

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका– ७, अँधेरी जोगीटोलस्थित खण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी निरञ्जन थापाका अनुसार कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा.२ख ६२५७ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।

उनका अनुसार घाइतेमध्ये चारजना मध्यम र ११ जना सामान्य घाइते छन् । घाइते हुनेहरूमा त्रियुगा नगरपालिका– ११ बस्ने वर्ष २२ की मणिका मगर, कटारी नगरपालिका– ४ बस्ने वर्ष ३५ की अनिता चौधरीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । उदयपुरगढी गाउँपालिका– ७ बस्ने वर्ष ७३ की सोममाया मगरको टाउकोमा गम्भीर चोट लागेको छ । ताप्ली गाउँपालिका– ५ बस्ने वर्ष ४० का प्रकाश भुजेलको शरीरका विभिन्न भागमा चोट लागेको छ । त्रियुगा नगरपालिका– ७ चुहाडे बस्ने वर्ष २१ की रेशिका बस्नेतको शरीरका विभिन्न भागमा चोट लागेको छ । रौतामाई गाउँपालिका– ७ बस्ने वर्ष १७ का तिलक बस्नेत सामान्य घाइते भएका छन् ।

यसैगरी, उदयपुरगढी गाउँपालिका– ६ टाडे बस्ने वर्ष १० का दीपेश तामाङ सामान्य घाइते भएका छन् । कटारी नगरपालिका– ४ बस्ने वर्ष १९ की पवित्रा श्रेष्ठ सामान्य घाइते भएकी छिन् । त्रियुगा नगरपालिका– ५ बस्ने वर्ष २० की रेश्मा बस्नेत सामान्य घाइते भएकी छिन् । कटारी नगरपालिका– २ गोलपार्क बस्ने वर्ष ६० की सोममाया परियार गम्भीर घाइते भएकी छिन् । कटारी नगरपालिका– ३ बस्ने वर्ष २७ का नितेश बुढाथोकी (सहचालक) सामान्य घाइते भएका छन् ।

त्यस्तै, उदयपुर कटारी नगरपालिका– ५ बस्ने वर्ष ७८ का दलबहादुर तामाङ, कटारी नगरपालिका– ४ बस्ने वर्ष १५ का प्रेम तामाङ, ताप्ली गाउँपालिका– ५ रूपाटार बस्ने वर्ष २८ का सुवास नेपाली र कटारी नगरपालिका– ४ बस्ने वर्ष १५ का सुजन तामाङ सामान्य घाइते भएका छन् ।

दुर्घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले उद्धार गरेको थियो । बसका चालक उदयपुरको कटारी नगरपालिका– ४ बस्ने ४५ वर्षीय विक्रम राईलाई प्रहरी चौकी संगमचोकले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार दुर्घटनाको प्रारम्भिक कारण ब्रेक फेल भएको अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारमा पठाइएकाे प्रहरीले जानकारी दिएकाे छ ।

सुझावित समाचार