मोरङको सुन्दरहरैँचामा शनिबार राति श्रीमतीसँगै सुतिरहेको अवस्थामा रहस्यमय आक्रमण हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन । सुन्दरहरैँचा नगरपालिका– ९, चित्रे टोलका ३६ वर्षीय राजनकुमार अधिकारीमाथि शनिबार राति साढे दश बजेतिर रहस्यमय तरिकाले धारिलो हतियार प्रहार गरी आक्रमण हुँदा उनी गम्भीर घाइते भएका हुन् ।
शनिबार खाना खाएर घरमा श्रीमतीसँगै सुतिरहेको अवस्थामा एक्कासि कसैले धारिलो हतियारले आक्रमण गरेपछि उनको मुख, हात, टाउकोलगायतका अंगहरूमा गहिलो चोट लागेको छ । गम्भीर घाइते भएका उनलाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि विराटनगरस्थित नोबेल अस्पताल ल्याइएको छ । आक्रमणमा परेका अधिकारी ५ फागुनमा भर्खरै वैदेशिक रोजगारीबाट फर्किएका थिए ।
घटना नियोजित रूपले भएको पाइएपछि अनुसन्धानका लागि श्रीमतीलाई नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताए । उनका अनुसार नियन्त्रणमा रहेकी श्रीमती रञ्जना कार्की अधिकारीले आफैँले श्रीमानमाथि आक्रमण गरेको भन्दै घटनाको जिम्मेवारी लिएकी छिन् । तर, घटना नियोजित देखिएकोले इलाका प्रहरी बेलवारीले गहन अनुसन्धान थालेको छ।