बंगलादेशमा हालै सम्पन्न आम निर्वाचन जमात–ए–इस्लामीका लागि धेरै हिसाबले महत्वपूर्ण रह्यो । यसपटक पार्टीले अहिलेसम्मकै उच्चतम मत हिस्सा र सिट प्राप्त गरेको छ । १३ वर्ष लामो प्रतिबन्धपछि चुनावी राजनीतिमा भाग लिएको जमातले २९९ सिटमध्ये ६८ सिट जित्दै दोस्रो ठुलो दल बनेको छ । जमातले जितेका सिट प्रायः भारतसँग सिमाना जोडिएका संवेदनशील क्षेत्रमा रहेका छन् । जमातले जितेको कुल सिटमध्ये झन्डै तीनचौथाइ हिस्सा त्यही भागमै पर्छ । जमात–ए–इस्लामीले भारतसँग सीमा जोडिएको निर्वाचन क्षेत्रमा ५८ सिट जित्यो, जसमध्ये ३६ वटा पश्चिम बंगालसँग सिमाना जोडिएका छन् । १६ वटा आसामसँग सिमाना जोडिए थिए भने बाँकी उत्तरपूर्वमा थिए ।
उसो त जमातको प्रभाव क्षेत्र पहिलेदेखि नै आर्थिक रूपमा पछाडि परेका र धर्मको प्रभाव बढी भएको भाग थिए । र, भारतसँग सीमा जोडिएका बंगलादेशी क्षेत्र यतै रहेका छन् । ‘परम्परागत रूपमा यसको भोट बैंक ग्रामीण तथा सीमावर्ती जिल्लामै थिए । ती भागमा भारत विरोधी भावना पहिलदेखि गहिरो छ । सम्भवतः हिंसाको ऐतिहासिक सम्झनाले अझै पनि राजनीतिक सोचलाई प्रभाव पार्छ । यही सन्दर्भले सीमावर्ती क्षेत्रमा भारतविरोधी दल जमातको शक्तिलाई व्याख्या गर्छ,’ बंगलादेशी भूराजनीतिक विश्लेषक आसिफ बिन अलीले भने ।
मानव अधिकारकर्मी रेजाउर रहमान लेनिन भने सीमावर्ती क्षेत्रमा बंगलादेशका ठुला पार्टीको कमजोर संगठन जमातको बलियो प्रदर्शनका लागि जम्मेवार मान्छन् । विगतमा अबामी लिग र हालको बंगलादेश नेसनालिस्ट पार्टी (बिएनपी)ले ती भागमा संगठन विस्तार गर्न खासै महत्व नदिएको उनको बुझाइ छ । ‘भारतसँग सीमा जोडिएका बंगलादेशी भागमा स्थापित पार्टीविरुद्ध मतदाताको आक्रोश छ । त्यस भेगमा जमातको बलियो संगठन मात्र छैन, ऊ सामाजिक कल्याणकारी कार्यक्रम र रुढिवादी धार्मिक कार्यक्रममा पनि सक्रिय छ,’ रहमान लेनिनले भने । विशेषतः ती भेगका विद्यालय, स्वास्थ्य सेवा र सामुदायिक पूर्वाधारजस्ता कल्याणकारी कार्यक्रममा जमातको सक्रिय उपस्थिति रहेको रहमान आफैँले देखेको बताए । त्यसबाहेक रुढिवादी इस्लामिक पार्टी भएका कारण यसले ढाकाको धर्मनिरपेक्ष राजनीतिक प्रभावबाट टाढा रहेको र बेवास्ता महसुस गर्ने यस भेगका मतदातालाई आकर्षित गरेको रहमानको विश्लेषण छ ।
भारतले आफ्ना सिमानासँग जोडिएका पश्चिम बंगाल र आसामजस्ता राज्यसँग जोडिएका भागमा जमातको बढेदो प्रभावमाथि नजर राख्नेछ । आसामसँग जोडिएको भेग रंगपुरमा जमातको बलियो उपस्थितिले नयाँ आयाम थपेको नयाँ दिल्लीको बुझाइ छ । उत्तरी बंगलादेश ऐतिहासिक रूपमा आर्थिक रूपमा पछाडि परेको भूभाग हो । यस भागको उलेख्य मानिस कामको लागि भारतीय भागमा आउने गरेको इतिहास छ । सीमापार बसाइँसराइले आसाममा पहिचानको राजनीति र पश्चिम बंगालमा साम्प्रदायिक ध्रुवीकरणजस्ता विषय प्रभावी हुने भारतको लामो समयदेखिको चिन्ता रहने गरेको छ ।
यद्यपि, तथ्यांकले जमातले सीमावर्ती क्षेत्र पूर्ण रूपमा कब्जा गरेको संकेत भने गर्दैन । बरु यसको प्रभाव सीमित र क्षेत्रीय देखिन्छ । असमसँगको निकटता र बलियो धार्मिक सञ्जालका बाबजुद जमातले सिल्हेट डिभिजनमा एउटा पनि सिट जित्न सकेन, जसले पार्टीको सीमिततालाई प्रकाश पार्छ । ढाकाको दृष्टिकोणबाट हेर्दा जमातको बढ्दो जितका बाबजुद सीमावर्ती क्षेत्र अझै पनि उल्लेख्य सिटमा बिएनपीकै राजनीतिक नियन्त्रण देखिन्छ । तर, नयाँदिल्लीको दृष्टिकोणबाट भने बिएनपीको तुलनामा कम भए पनि जमातको बढेको सिट संख्याले भूराजनीतिक चिन्तालाई बल प्रदान गरेको छ ।
ढाकास्थित ‘नर्थ साउथ युनिभर्सिटी’का प्राध्यापक तथा जमातको घोषणापत्रका प्रमुख मस्यौदाकारमध्ये एक रहेका वारिसुल करिमको विचारमा जमातको जितको एउटा प्रमुख कारणमध्ये एक विगत १५ देखि १७ वर्षको अवधिमा अबामी लिगले उसमाथि गरेको दमन हो । हसिनाको शासनकालमा धेरै जमातका नेता, कार्यकर्ता र समर्थक खुलेर हिँड्न सक्दैनथे । धेरै ज्यान जोगाउन देश छाडेर भागेका थिए । सातखिराजस्ता सीमावर्ती क्षेत्रमा उनीहरूको घरमा बुलडोजर लगाएर भत्काइएको करिमले बताए । अहिले हसिना सत्ताच्युत भएसँगै राजनीतिक वातावरण खुला हुँदा मानिसहरूले जमातलाई प्रायः पीडितको रूपमा सहानुभूति राखेको करिमको मूल्यांकन छ ।
करिमका अनुसार भारतले जमातसँग डराउनुपर्ने कुनै कारण छैन । ‘न त जमातले टकराव वा उलटफेर गर्ने मार्ग अपनाएको छ । न त योसँग कुनै ‘अर्धसैनिक बल’ नै छ । यो दलले सीमा क्षेत्रलाई अस्थिरता निम्त्याउने लक्ष्य पनि लिएको छैन । न त त्यसतर्फ कुनै गतिविधि नै गरेको छ,’ करिमले भने । जमातले बंगलादेशलाई कट्टरपन्थी मार्गमा अघि बढाउने चाहेको भन्ने भारतीय धारणालाई पनि उनी अस्वीकार गर्छन् । विगतको अनुभवमा आधारित भएर धारणा बनाउनुभन्दा राम्रो समझदारी विकास गर्दै लगे भ्रम हट्ने उनको ठम्याइ छ । ‘जमात मौलिक रूपमा भारतविरोधी दल होइन । यसैले, दुई पक्षबिच व्यावहारिक सम्बन्ध कायम राख्न सम्भव छ,’ जमातले भने ।
द प्रिन्टबाट