एमालेले निर्वाचन उल्लंघन कार्यप्रति निर्वाचन आयोगको उदसीनता र शैलीप्रति प्रश्न उठाएको छ । पार्टी केन्द्रीय कार्यालयमा शनिबार पत्रकार सम्मेलन गर्दै एमालेले आचारसंहिता उल्लंघन हुँदा पनि आयोगले रोक्ने काममा तदरुकता नदेखाएकोमा आरोप लगाएको हो ।
‘निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन हुँदै आएको छ । अमुक पार्टी र त्यसका नेतृत्वको तस्बिर, चिह्नअंकित टिर्सटहरू होली पर्वको मौका छोपी वितरण गरिनु त्यसका उदाहरण हुन्,’ पत्रकार सम्मेलनमा केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले भने, ‘निर्वाचन उल्लंघन कार्यप्रति निर्वाचन आयोगको उदसीनता र शैलीप्रति एमाले गम्भीर आशंका व्यक्त गर्दछ ।’
यस्तै, एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन भाँड्न खोजिरहेको आरोपसमेत लगाएको छ । दाङलगायत जिल्लामा रास्वपाले अरू पार्टीहरूको झन्डा जलाउने, मतदाता र अन्य पार्टीका उम्मेदवारलाई अभद्र व्यवहार गर्नेजस्ता काम गरेको एमालेको आरोप छ । ‘चुनावी परिणाम आफ्नो पक्षमा नआउने देखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनाव भाँड्न खोज्दै छ । चुनाव भाँड्नका लागि देशका विभिन्न जिल्लामा दलहरूको झन्डा र चुनाव चिह्न जलाउने अभियान, अशान्ति फैलाउने काम गरेर रास्वपाले चुनाव भाँड्न खोजेको पुष्टि भएको छ,’ शाहीले भने ।
रास्वपाकै कारण निर्वाचन नजिकिँदै जाँदा मुलुकमा भय र त्रासको वातावरण सिर्जना भइरहेको पनि एमालेको दाबी छ । २१ फागुनको चुनावलाई एमालेले देश बनाउने र जलाउनेबिचको जनमतसंग्रहका रूपमा लिएको नेता शाहीले बताए । एमालेले देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गरी निर्वाचनका लागि सहज वातावरण निर्माण गर्न सरकारसँग पुनः माग गरेको छ ।