सल्यानमा निर्वाचनलक्षित नमुना मतदान

शनिबार, ९ फागुन, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी सल्यानमा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सल्यान र मुख्य निर्वाचन कार्यालयको संयुक्त आयोजनामा शनिबार सदरमुकाम लुहापिङमा निर्वाचनलक्षित नमुना मतदान आयोजना गरिएको हो । 

१८ जनाले नमुना मतदान गरेकोमा प्रत्यक्षतर्फ ५ मत बदर भएको छ भने समानुपातिकतर्फ ३ मत बदर भएको छ । मतपरिणामलाई हेदा ग्रामीणस्तरमा सही तरिकाले कसरी मतदान गर्ने भन्नेबारेमा मतदाता शिक्षा दिनुपर्ने देखिएको कार्यालयले जनाएको छ । 

निर्वाचनका दिन मतदाता तथा कर्मचारीले अपनाउनुपर्ने सम्पूर्ण प्रक्रिया व्यवहारमै अभ्यास गराउने उद्देश्यले नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विगतका निर्वाचनमा देखिएको मत बदरको समस्या न्यूनीकरण गर्नुका साथै मतदातालाई सही तरिकाले मतदान गर्ने विधिबारे जानकारी गराउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकारी धीरेन्द्र भण्डारीले बताए । 

कार्यक्रममा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी दुई छुट्टाछुट्टै मतपत्रमा छाप लगाउने तरिका सिकाइएको थियो ।  मतदाताले मतपत्र कसरी बुझ्ने, स्वस्तिक छाप कहाँ र कसरी लगाउने, गोप्य कक्षमा प्रवेश गर्दा ध्यान दिनुपर्ने विषय, मतपत्र मोड्ने तरिका तथा मतपेटिकामा सुरक्षित रूपमा खसाल्ने प्रक्रिया चरणबद्ध रूपमा अभ्यास गराइएको हो ।  

नमुना मतदानलाई वास्तविक निर्वाचनकै स्वरूप दिन महिला, पुरुष, ज्येष्ठ नागरिक तथा अशक्त मतदाताका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको थियो। मतदान अधिकृत, सहायक कर्मचारी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

मतदानका क्रममा हुन सक्ने सम्भावित विवाद, मतदाताको पहिचानसम्बन्धी जिज्ञासा, लाइन व्यवस्थापन तथा सुरक्षा समन्वयजस्ता विषयमा पनि अभ्यास गराइएको छ । 

मुख्य निर्वाचन अधिकृत प्रल्हादकुमार योगीले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन नमुना मतदान अत्यन्त उपयोगी हुने बताए । उनले मतदातालाई सही तरिकाले मतदानगर्न आग्रह गर्दै बदर मत न्यूनीकरणमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे। 

जिल्लामा ८३,३२१ पुरुष र ७९१२८ महिला गरी १ लाख ६२ हजार ४४९ मतदाता रहेको सल्यानमा ११७ मतदान स्थलर र २०५ मतदान केन्द्र रहेका छन् । 

सुझावित समाचार