एसोसिएट राष्ट्रहरू ठुलासँग दूरी घटाउँदै

शनिबार, ९ फागुन, २०८२
डिजिटल संस्करण

१०औँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा ओमान र अस्ट्रेलियाबिचको खेलसँगै समूह चरण खेल समाप्त भएका छन् । समूह चरणबाट टेस्ट मान्यताप्राप्त आठै राष्ट्रले सुपर आठमा स्थान बनाएका छन् । सुपर आठमा आइसिसीको पूर्णकालीन सदस्य प्रवेश गर्नु कुनै नयाँ भएन । तर, यसपटक उनीहरूले नसोचेको चुनौती पाए । त्यो पनि उनीहरूले आफूबराबरको नभएर एसोसिएट राष्ट्रहरूबाट चुनौती सामना गर्नुपरेको हो । एसोसिएट राष्ट्रहरूले एउटा सन्देश दिएका छन्, ‘अब विश्वकपजस्तो प्रतियोगितामा हामी पनि कम छैनौँ ।’

वास्तवमा एसोसिएटले शक्तिशाली राष्ट्रसँग दूरी घटाएको यो नै पहिलोपटक हुनुपर्छ । मैदानभित्र टेस्ट मान्यता तथा एसोसिएट राष्ट्रबिच प्रतिस्पर्धा भइरहँदा दुवै पक्ष हाबी भए । विश्वकप सुरु हुनुअघि क्रिकेटविज्ञले भनेका थिए, ‘१०औँ संस्करणमा उपाधि दाबेदारले कमजोर टोलीविरुद्ध तीन सय रन सहजै कटाउनेछन् ।’ तर, शुक्रबार समूह चरणका खेल सकिँदासम्म कुनै पनि सहभागी टोलीले तीन सय रन पार गरेका छैनन् । मुस्किलले दुई सय रनमाथिको योगफल बनेका छन् । विज्ञहरूले तीन सय रन योगफल बन्न सक्ने कारण देखाएका थिए । भारत, इंग्ल्यान्ड, वेस्ट इन्डिज र अस्ट्रेलियाका आक्रामक ब्याट्सम्यानले सहजै कमजोर बलरविरुद्ध चौका र छक्का वर्षा गर्नेछन् । भारतका इसान किसन, इंग्ल्यान्डका विल ज्याक, वेस्ट इन्डिजका रोस्टन चेज तथा अस्ट्रेलियाका टेभिस हेडजस्ता खतरनाक ब्याट्सम्यानले पहिलो बलदेखि छक्का लगाउनेछन् । तर, विश्वकपमा विज्ञहरूले भनेजस्तो भएन । उनीहरूले शतकीय इनिङ्ससम्मै खेल्न सकेका छैनन् । 

क्रिकेटमा ‘सानो’ र ‘ठुलो’बिचको पर्खाल भत्किँदै छ । टेस्ट राष्ट्रहरूले आगामी दिनमा विचार पुर्याउनुपर्छ । यदि सानो मनस्थिति वा ओभर कन्फिडेन्स राखेर खेल्दा नसोचेको नतिजा भोग्नुपर्नेछ । यस्तो नतिजा निकाल्न एसोसिएट राष्ट्र तयार भइसकेका छन् ।

अझ उपाधि दाबेदार अस्ट्रेलिया विश्वकप इतिहासमै दोस्रोपटक समूह चरणबाटै बाहिरियो । टेस्ट राष्ट्रमा जिम्बावे, अफगानिस्तान र आयरल्यान्डलाई कमजोर राष्ट्रका रूपमा हेरिन्छन् । जिम्बावेसँग २३ रनले पराजित हुँदा अस्ट्रेलिया विश्वकपबाट बाहिरिनुको मुख्य कारण बन्यो । यसले पनि टेस्ट राष्ट्रहरूलाई प्रतिस्पर्धामा ढुक्क भएर बस्न नहुने सन्देश दिएको छ । पछिल्लो समयमा फ्रेन्चाइज फम्र्याट आधुनिक क्रिकेटको जग हो । मोर्डन क्रिकेट भनेको टी–२० फ्रेन्चाइज हो । यो फम्र्याटमा समर्थक तथा खेलको समय पनि बचत हुन्छ । खेल पनि आकर्षक बन्ने गर्छ । 

अहिले टी–२० लिग विभिन्न देशमा चलिरहेका छन् । यसमा धेरैजसो एसोसिएट राष्ट्रका नाम चलेका खेलाडी अनुबन्ध भइरहेका छन् । पछिल्लो समयमा विश्वकपको प्रदर्शनका कारण नेपालका उपकप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई लिन सकिन्छ । नेपाली टोलीमा ऐरी ‘मिस्टर कुल’ उपनामले प्रख्यात छन् । न्यु ब्रान्डका रूपमा स्थापित हुन कोसिस भइरहेको पाकिस्तान सुपर लिगमा ऐरी लगभग ६० लाख पाकिस्तानी रुपैयाँमा इस्लामाबाद युनाइटेडमा आबद्ध भए । जहाँ उनले एन्डे«स गोसजस्ता खेलाडीसँगै प्रतिस्पर्धा गर्न अवसर पाउनेछन् । 

ड्रेसिङ रुमको अनुभव र आत्मविश्वास 
नेदरल्यान्ड्सका पाउल भान मिकेरेन एसोसिएट राष्ट्रका खेलाडीमध्ये फ्रेन्चाइज लिगमा सबैभन्दा हुनेमा पर्छन् । उनी निरन्तर रूपमा वेस्ट इन्डिज, बंगलादेश, श्रीलंका तथा युएईमा आयोजना हुने लिगमा आबद्ध छन् । अझ टी–२० ब्लास्टमा पाउल भान विश्वप्रसिद्ध क्रिकेटरसँग डे«सिङ रुम सेयरिङ गरिरहेका छन् । श्रीलंकाका पूर्वकप्तान तथा ब्याट्सम्यान महेला जयवद्र्धनेसँग उनले डे«सिङ रुममा सहकार्य गरेका उदाहरण छन् । यसले पनि के देखाउँछ भने एसोसिएटखेलाडीले आफ्नो स्तर वृद्धि गर्नुका साथै टेस्ट राष्ट्रका खेलाडीसँग अनुभव बटुल्ने अवसर प्राप्त गरेका छन् । 

जब एसोसिएट खेलाडी डेभिड वार्नर वा किरोन पोलार्डजस्ता स्टारसँगै एउटै ट्रफीका लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्, त्यसवेला उनीहरूमा आत्मविश्वास बढ्छ । यही आत्मविश्वासले गर्दा नै विश्वकपमा अहिले अप्रत्याशित र रोमाञ्चक खेलहरू भइरहेका हुन् । चालू विश्वकपमा नेपालले एउटा खेलमा सनसनीपूर्ण प्रदर्शन गर्यो । लगभग नेपालले १०औँ विश्वकपमा सबैभन्दा ठुलो अप्रत्याशित नतिजा निकालिसकेको थियो ।

मेघा प्रतियोगितामा अनुभवका कारण उनीहरू इंग्ल्यान्डविरुद्धको खेलमा थोरै चार रनले पछि परेका थिए । नेपालमाथि चार रनको जित निकाल्दा इंग्ल्यान्डका साम करनले अन्तिम ओभरमा घातक बलिङ गरे, १० रन चाहिएको अवस्थामा केवल पाँच रन मात्र दिए । विश्व क्रिकेटकै अनुभवी बलर सामकै कारण नेपाल विश्वकपमा स्तब्ध नतिजा निकाल्नबाटवञ्चित भयो । 

एसोसिएट खेलाडीको प्रशंसा
खेलपछि सामले भनेका थिए, ‘एसोसिएट राष्ट्रका खेलाडी बिस्तारै अगाडि बढिरहेका छन् । उनीहरूलाई मैदानको आधार मतलब छैन । केवल मैदानभित्र प्रवेश गरेपछि उत्कृष्ट खेल देखाउने भावना राख्छन् । मलाई व्यक्तिगत रूपमा नेपाललाई विश्वकपकै एउटा डरलाग्दो राष्ट्रका रूपमा लिएको छु ।’ स्कटल्यान्डले पनि इंग्ल्यान्डलाई कडा टक्कर दियो । विश्वकपअगाडि साना राष्ट्र ट्याग दिइएकाले खेलप्रतिको समर्पण देखाए । अझ नेपाल र स्कटल्यान्डबिचको प्रतिष्ठाकोे भिडन्तमा दीपेन्द्रसिंह ऐरीले देखाएको प्रदर्शनले प्रमाणित गर्यो कि साना टोलीबिचको प्रतिस्पर्धाले नै उनीहरूलाई थप मजबुत बनाइरहेको छ ।

अहिलेको विश्व व्यापीकरणले क्रिकेटमा ठुलो परिवर्तन ल्याएको छ । कसैले पनि सोचेका थिएनन्, नेपालजस्तो टोलीलाई प्रशिक्षण दिन अस्ट्रेलियाका स्टुअर्ट ल र फास्ट बलर इयान हार्भेजस्ता प्रशिक्षक आउनेछन् ? वास्तवमा यस्ता दिग्गज क्रिकेटर आउनु भनेको एसोसिएट राष्ट्रहरूको प्रगतिका कारण नै हो । सन् २०११ मा भारतलाई एकदिवसीय विश्वकप उपाधि दिलाएका प्रशिक्षक गेरी कस्र्टन नामिबियासँग छन् । उनी दक्षिण अफ्रिकाबाट कुनै समय ओपनिङ ब्याटिङ गर्थे । रायन कुक नेदरल्यान्ड्ससँग र भारतलाई पहिलो टी–२० विश्वकप जिताउने लालचन्द राजपुत युएईसँग छन् । यी दिग्गजहरूको अनुभव र ज्ञानले नयाँ पुस्ताका खेलाडीलाई माथि उठाउन मद्दत गरिरहेको छ ।

नजर परिवर्तन हुनु आवश्यक 
पक्कै पनि अब ठुला राष्ट्रले सानालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने वेला भइसकेको छ । भोलिका दिनमा अमेरिकाले भारतलाई हरायो वा नेदरल्यान्ड्सले पाकिस्तानमाथि जित निकाल्यो भने त्यसलाई अप्रत्याशित मान्न मिल्दैन । बरु, यस नतिजालाई उनीहरूको कडा मिहिनेतको प्रतिफल मान्नुपर्छ । यसैकारण अब क्रिकेटमा ‘सानो’ र ‘ठुलो’को पर्खाल भत्किँदै छ । यसमा ठुला राष्ट्रले आगामी दिनमा विचार पुर्याउनुपर्छ । यदि सानो मनस्थिति वा ओभर कन्फिडेन्स राखेर खेल्यो भने ती राष्ट्रहरूले नसोचेको नतिजा भोग्नुपर्नेछ । यस्तो नतिजा निकाल्न एसोसिएट राष्ट्र तयार भइसकेका छन् । र, अन्त्यमा इटालीका ग्रान्ट स्टुअर्टले इंग्ल्यान्डविरुद्ध जितको नजिक पुर्याएको त्यो पल वा नेपालको प्रत्येक खेलको रोमाञ्चकतालाई विश्वकपमा ताजा राखेका छन् । खेलको सुन्दरता नै यही हो । यहाँ कुनै पनि वेला जे पनि हुन सक्छ ।

क्रिकइन्फोका लागि अलगप्पन मुथु

सुझावित समाचार