पहिले चुनावी माहोल सुरु हुनासाथ चोक, चौतारी र गल्ली झन्डा, ब्यानर, पोस्टर, पर्चा र नाराले रंगिन्थे । अहिले चुनावी प्रचारको स्वरूप फेरिएको छ । पोस्टर, पम्प्लेट चोक, चौतारीबाट सामाजिक सञ्जालतिर सरेको छ । घरघरमा झन्डा र ब्यानर राख्नेहरू अहिले सामाजिक सञ्जालमा आफ्ना उम्मेदवारका पोस्टर राखिरहेका छन् ।
चुनावी मैदानमा भिडिरहेका उम्मेदवारले पनि फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम र एक्सजस्ता प्लेटफर्मलाई चुनाव प्रचारको प्रमुख माध्यम बनाइरहेका छन् । कतिपय दलले आन्तरिक रूपमा डिजिटल टिम नै राखेका छन् । कसैले कन्टेन्ट क्रिएटर तथा कलाकारसँग सहकार्य गरेका छन् । भोट माग्दै घरदैलोमा पुग्नुपर्ने कतिपय उम्मेदवार सामाजिक सञ्जालमा मतदातासँग भोट मागिरहेका देखिन्छन् ।
त्यो चुनावी शैली
राष्ट्रिय जनमोर्चाका अध्यक्ष ९२ वर्षीय चित्रबहादुर केसीसँग २०४८ देखि चुनावमा सक्रिय भएको अनुभव छ । उनको दिमागमा चुनाव भन्नेबित्तिकै गाउँ–गाउँ पुग्ने, जनताको सुखदुःख सोध्ने, पार्टी र आफ्नो विचार जनतालाई सुनाउने दिनको सम्झनामा आउँछ । उनी पहिले र अहिलेको चुनावी शैलीमा आकाश–जमिनको फरक देख्छन् । भन्छन्, ‘त्यसवेला जनतासामु नगई बाँच्ने आधार नै थिएन । नेताहरू गाउँ–गाउँ पुग्थे । पार्टीका नीति, कार्यक्रम, विचार र सिद्धान्त प्रत्यक्ष रूपमा जनतालाई सुनाउँथे । कोणसभा हुन्थ्यो । माइकिङ गरिन्थ्यो । पर्चा–पोस्टर बोकेर रातभर हिँडिन्थ्यो । चुनाव भनेको जनताको आँगनमा पुगेर सुख–दुःख साट्ने अवसर थियो । जनतासँगै बसिन्थ्यो ।’
पहिले जनताले आफ्नै घरबाट रासन दाउरा निकालेर, तरकारी टिपेर कार्यकर्ता र नेतालाई खुवाउने गरेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘उम्मेदवारलाई जिताउन मतदाता आफैँ सक्रिय हुन्थे । पैसा लेनदेनको अपेक्षै थिएन ।’ उम्मेदवार र मतदाताबिचको सम्बन्ध माछा र पानीको जस्तै हुनुपर्ने उनको अनुभव छ । उनका अनुसार त्यस्तो सम्बन्ध हुँदा मात्र नेताले जनताको पीडा बुझ्छ, मतदाताले नेताको स्वभाव चिन्छ । अहिले सामाजिक सञ्जालले चुनावलाई सहजसँगै जटिल पनि बनाएको उनको मत छ । भन्छन्, ‘सामाजिक सञ्जालमा प्रतिस्पर्धीबिच गालीगलोज, आरोप–प्रत्यारोप बढेको छ । हिजो यस्तो थिएन । हार–जितलाई प्राविधिक विषय ठानिन्थ्यो, व्यक्तिगत रिसइबी थिएन ।’
यो चुनावी शैली
प्रविधिमा पहुँच बढेसँगै चुनावी शैली पनि परिवर्तन हुँदै आयो । उम्मेदवारहरू भौतिक भेटघाटमा मात्रै सक्रिय छैनन्, प्रविधिमार्फत पनि मतदाता रिझाउन मिहिनेत गरिरहेका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य किरण पौडेल यसपटक एमालेले चुनावी पुरानो र नयाँ दुवै प्रचार शैली अपनाएको बताउँछन् । उनी भन्छन्, ‘डोर–टु–डोर र माउथ–टु–माउथ हाम्रो प्रचारको मूल शैली हो । सामाजिक सञ्जाललाई प्रचारको सहायक माध्यमका रूपमा लिएका छौँ ।’ उनका अनुसार पार्टीले फेसबुक, टिकटकलगायत सामाजिक सञ्जाललाई चुनाव प्रचारको रूपमा प्रयोग गरेको छ । पार्टीका उम्मेदवार, नेता, इन्फ्लुएन्सर, पत्रकार तथा समर्थक समूहले चुनाव सामग्री उत्पादन र प्रसारण गर्ने उनको भनाइ छ ।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे पार्टीले डिजिटल प्रविधिलाई उपयोग गरिरहेको बताउँछन् । उनका अनुसार पार्टीका शुभचिन्तक र समर्थक सामाजिक सञ्जालमा स्वस्फुर्त रूपमा सक्रिय छन् । उनी भन्छन्, ‘सूचना प्रविधिलाई हामीले उपयोग गरिरहेका छौँ । पार्टीका धारणा र सन्देश सामाजिक सञ्जालमार्फत नै सार्वजनिक गरिरहेका छौँ ।’ डिजिटल माध्यमको प्रयोग गरे पनि नागरिकसँगको प्रत्यक्ष संवाद नै सबैभन्दा प्रभावकारी हुने उनको भनाइ छ । नेपाली कम्युनिस्ट पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार चुनाव प्रचारमा प्रविधिको प्रयोग भइरहेको छ । डिजिटल प्लेटफर्ममा कार्यकर्ताले स्वयंसेवकको रूपमा काम गरिरहेको उनको भनाइ छ ।
अन्य दलभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीको केही फरक शैली देखिन्छ । चुनावमा डिजिटल क्याम्पेनलाई प्राथमिकतामा राखेको रास्वपा नेता असिम शाह बताउँछन् । उनी भन्छन्, ‘म र खुस्बु सरकार श्रेष्ठको नेतृत्वमा पार्टीले डिजिटल क्याम्पेन टिम र डिजिटल स्ट्राटेजी टिम बनाएको छ । हामी काम गरिरहेका छौँ ।’ शाहका अनुसार पार्टीले चुनाव प्रचारका लागि २० देखि २५ सदस्यीय डिजिटल टिम गठन गरेको छ । ‘सोसल मिडिया टिम, आइटी टिम, कन्टेन्ट क्रियटर, ग्राफिक डिजाइनर, क्यामेरा पर्सन, कन्टेन्ट राइटर र कलाकार सम्मिलित टोलीले डिजिटल सामग्री उत्पादन गर्छ,’ उनी भन्छन्, ‘यो टिमले घोषणापत्र, पार्टीका नीति सामाजिक सञ्जालमार्फत मतदातासम्म पुर्याउने काम गरिरहेको छ । साथै उम्मेदवारको जीवनी, गीत, भिडियो र सिर्जनात्मक प्रस्तुति तयार पार्छ । कुन क्षेत्रमा उम्मेदवारको डिजिटल सामग्री कमजोर छ, कहाँ डिजिटल पहुँच कम पुगेको छ भन्ने विश्लेषणसमेत गरिन्छ ।’
प्रविधिको उपयोग
डिजिटल प्रविधिले चुनावी प्रचारको स्वरूप नै बदलिदिएको छ । पहिले घर–घर पुगेर मात्रै सम्भव हुने सन्देश आज मोबाइल स्क्रिनबाटै मतदातासम्म पुगिरहेको छ । कार्यकर्ता र मतदाता दुवैले पहिलेभन्दा छिटो पार्टी र उम्मेदवारका घोषणापत्र हेर्न पाइरहेका छन् । दलहरूले पत्रकार सम्मेलन सामाजिक सञ्जालमा लाइभ गरिरहेका छन् । नेताका गतिविधि तत्काल सार्वजनिक भइरहेका छन् । एकजना उम्मेदवार भौतिक रूपमा सबै ठाउँ पुग्न सक्दैनन्, तर प्रविधिले उनलाई हजारौँ स्क्रिनमा एकैपटक पुर्याइदिएको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापाले ‘मटन डट वल्र्ड’ नामक अनलाइन दर्ता गरेर त्यहाँबाट पनि चुनावी प्रचार गरिरहेका छन् । उक्त वेबसाइटमा थापाका एजेन्डा, विगतका काम र भविष्यका योजना राखिएका छन् । यति मात्रै होइन, थापाले फेसबुकमार्फत चुनावलक्षित छोटा भिडियो सार्वजनिक गरिरहेका छन् । सामाजिक सञ्जालमा आउने आलोचनात्मक टिप्पणीलाई उनले सामाजिक सञ्जालबाटै जवाफ दिन्छन् ।
एमाले अध्यक्ष केपी ओली पनि सामाजिक सञ्जालमा सक्रिय छन् । मतदातासँगका गतिविधि सामाजिक सञ्जालमा सार्वजनिक गर्छन् । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहिले मतदाताको घरभित्रै बसेर आगो तापिरहेको र कहिले जनतासँगै बसेर खाना खाइरहेको तस्बिर, भिडियोहरू सामाजिक सञ्जालमा आइरहन्छन् । रास्वपा सभापति रवि लामिछानेले पनि आफ्ना धारणा सामाजिक सञ्जालमा राखिरहन्छन् ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह देशका विभिन्न स्थानमा पुग्दा उनका गतिविधि तत्काल सामाजिक सञ्जालमार्फत सार्वजनिक हुन्छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङका हरेकजस्तो चुनावी गवितिधि सार्वजनिक हुन्छन् । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चुनावी ¥यालीमा व्यस्त भिडियो र तस्बिर सामाजिक सञ्जालमा प्रशस्तै भेटिन्छन् । स्वतन्त्र उम्मेदवार महावीर पुन म्याग्दीका गाउँ–गाउँमा चुनावी प्रचारमा व्यस्त रहेको भिडियो, तस्बिर सामाजिक सञ्जालमा देखिन्छन् ।
प्रविधिको सकारात्मक प्रयोग मात्रै भएको देखिन्न । सदुपयोग नहुँदा मतदाता चिढिएका उदाहरण पनि कैयन छन् । मतदाताले उम्मेदवारका एजेन्डाभन्दा उनीहरूका गतिविधि सामाजिक सञ्जालमा धेरै झेल्नुपरिरहेको छ । जनतासँग असम्बन्धित देखासिकी गतिविधि डिजिटल दुनियाँमा कैद छन् । उम्मेदवारमा जनताको समस्या सुन्नेभन्दा फोटो, भिडियो र स्टाटस सामाजिक सञ्जालमा अपडेट गर्ने प्रतिस्पर्धा भइरहेको देखिन्छ ।
पहिले दलहरूले उम्मेदवारलाई टिकट वितरण गरेका दृश्य खासै देखिन्नथ्यो । अहिले हरेक दलका शीर्ष नेताले आफ्ना उम्मेदवारलाई टिकट दिँदै गरेको दृश्य सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिन्छन् । फिल्मी सुटिङको झल्को दिने त्यस्ता दृश्य सार्वजनिक हुँदा आममानिस चिढिएका पनि छन् ।सामाजिक सञ्जाल प्रयोगमा अगाडि छन्, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ । उनी मतदातासँग गफ गर्नुअघि नै दर्जनौँ क्यामेरा अगाडि तेर्सिन्छन् । उनले बोलेको केही मिनेटमै क्लिप्स सामाजिक सञ्जालमा फैलिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्ला–१ का उम्मेदवार ज्ञानेन्द्र शाही चुनावी सभा मोबाइल र क्यामेराको घेराभित्रै सुरु गर्छन् । आम जनता पार्टीको तर्फबाट रौतहट–४ का उम्मेदवार ऋषि धमला चुनावी मैदानमा फरक शैलीका कारण चर्चामा आउँछन् । उनका हरेक गतिविधि सामाजिक सञ्जालमा ट्रोल बन्छन् ।
गोरखा–१ बाट उम्मेदवारी दिएका रास्वपाका नेता सुदन गुरुङ पनि प्रविधि प्रयोगमा अघि देखिन्छन् । उनले कपडा पसलमा डमीसँग भोट मागेको भिडियो क्लिप सामाजिक सञ्जालमा छायो । एमाले नेता सूर्य थापा चुनावी मैदानमा अनेक गतिविधिका कारण चर्चामा आइरहन्छन् । उनी कहिले मकै भुट्दै गरेका देखिन्छन्, कहिले डोको बुनिरहेका त कहिले नाङ्लो निफनिरहेका । एमालेका उम्मेदवार गोकुल घर्ती स्थानीयको घरमा ढिँडो मस्काउँदै गरेको भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ । प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा पनि यो दौडमा पछि छैनन् । उनले दमाह बजाउँदै नाचेको भिडियो सार्वजनिक भयो ।
वर्षाैँसम्म जनताको आँगन नटेकेका राजनीतिक दल तथा उम्मेदवार यतिवेला खेतबारी मात्र होइन, घरको चुलोसम्म पुगेका छन् । चुलोमा पाक्दै गरेको भात, रोटी, दुध, मकैका परिकारसँगै उनीहरू देखिन्छन् । कोही सँगै बसेर खाँदै, कोही आफैँ पकाउँदै गरेको दृश्य सार्वजनिक हुन्छ । यस्ता तस्बिर र भिडियो अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् ।जनताका सुखदुःखमा कम देखिने नेता यतिवेला गाउँगाउँमा पुगेका छन् । मतदातालाई आकर्षित गर्ने एजेन्डा र वाचा जनताको बिचमा पुर्याउनेभन्दा अनेक गतिविधिका कारण ‘भाइरल’ बनिरहेका छन् ।
फेक एकाउन्टदेखि डिपफेकसम्म
चुनावी माहोलमा डिजिटल माध्यमको प्रयोग सकारात्मक मात्रै भएको छैन । नकारात्मक प्रचार, भ्रामक सामग्री र अतिरञ्जित दाबीहरू पनि उत्तिकै छिटो फैलिरहेका छन् । कलाकारहरूको तस्बिर एआईमार्फत बनाएर चुनावी प्रचार गरिँदै छ । युट्युबहरूमा एआईले निर्माण गरेका सामग्री ‘भाइरल’ छन् । फेसबुकमा फेक अकाउन्टबाट विभिन्न कलाकारको फोटो बनाएर पोस्ट गरेको देखिन्छ । केही समयअघि राजेश हमाल, दीपकराज गिरी, प्रदीप खड्का, अनमोल केसी, पल शाहलगायत कलाकारको फोटो चुनावी प्रचारको सामग्रीसँगै राखी फेसबुकमा पोस्ट गरिएको थियो ।
अहिलेको चुनावमा सबैभन्दा ठुलो जोखिम डिपफेक प्रयोगबाट भइरहेको विश्लेषकहरूको भनाइ छ । एआई प्रयोग गरेर कसैको आवाज वा भिडियो जस्तो देखिने नक्कली सामग्री तयार गरी समाजिक सञ्जालमा राखिएको देखिन्छ । कतिपयले बुस्टेड पोस्ट, पेड विज्ञापन प्रयोग गरिरहेका छन् । भ्रमपूर्ण सूचना, फेक न्युज, फोटो–भिडियोको दुरुपयोग, ट्रोल आक्रमण आदि चुनौती बनेका छन् । कुनै उम्मेदवारविरुद्ध आधारहीन आरोप लगाउने पोस्ट भाइरल हुन सक्छ । नक्कली एकाउन्टबाट अफवाह फैलाइरहेका छन् । डिजिटल प्लेटफर्ममा नियमन कठिन छ । आचारसंहिताले अनलाइन प्रचारलाई कसरी अनुगमन गर्ने भन्ने प्रश्न उठिरहेको छ ।
नेकपाका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा सामाजिक सञ्जालमा भ्रामक सूचना र डिजिटल दुरूपयोग बढ्दै गएको बताउँछन् । उनका अनुसार डिपफेक भिडियो, फेक न्युज र तोडमोड गरिएका सामग्रीले समस्या पारिरहेको छ । गलत सूचना सम्प्रेषण भइरहँदा पनि निर्वाचन आयोग मौन बसेको उनको गुनासो छ । ‘डिजिटल प्रविधिको सदुपयोग हुनु राम्रो हो । आयोगले अनुगमन गर्नुपर्छ । प्रविधिले फैलाएको भ्रमले चुनावी वातावरणलाई विथोल्छ’, उनी भन्छन् ।
जनताका सुखदुःखमा कम देखिने नेता यतिवेला गाउँगाउँमा पुगेका छन् । मतदातालाई आकर्षित गर्ने एजेन्डा र वाचा जनताको बिचमा पु¥याउनेभन्दा अनेक गतिविधिका कारण ‘भाइरल’ बनिरहेका छन् ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सामाजिक सञ्जालमा फेक एकाउन्ट खोलेर टिप्पणी गर्ने र कृत्रिम बहस सिर्जना गर्ने काम भइरहेको छ । ‘सामाजिक सञ्जाल प्रभावकारी माध्यम हो, तर यसको दुरूपयोग गर्न हुँदैन । निर्वाचन आयोगले व्यावहारिक अनुगमन गर्नुपर्छ । फेक न्युज, तथ्य जाँच नभएका सूचना र भ्रामक सामग्रीले समाजलाई हानि गर्छ,’ उनले भने । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे यसपटकको निर्वाचनमा सबैभन्दा ठुलो चुनौती सामाजिक सञ्जाल बनेको बताउँछन् । ‘अघिल्ला चुनावमा उल्लंघनका घटना छिटफुट देखिन्थे,’ उनी भन्छन्, ‘तर अहिले प्रविधिको तीव्र प्रयोगका कारण आचारसंहिताविपरीतका गतिविधि सामाजिक सञ्जालमै बढी देखिएका छन् ।’
घिमिरेका अनुसार उम्मेदवार र राजनीतिक दलहरूले प्रचारका लागि सामाजिक सञ्जाललाई प्राथमिक माध्यम बनाएका छन् । आयोग स्वयंले पनि मतदाता शिक्षा र सूचनाका लागि डिजिटल माध्यम अपनाएको छ । ‘जहाँ प्रयोग बढी हुन्छ, त्यहाँ विकृति पनि देखिन्छ,’ उनी भन्छन् । त्यसैले यसको नियन्त्रण आयोगका लागि जटिल चुनौती बनेको छ ।घिमिरेका अनुसार निर्वाचन घोषणा भएदेखि आयोग यस विषयमा गम्भीर र संवेदनशील छ । प्रविधिको सकारात्मक प्रयोगसँगै नकारात्मक असर बढेको देखिएपछि आयोगले विज्ञहरूसँग छलफल गरेर विशेष कार्यक्रम तयार गरेको छ । ‘आयोगपरिसरभित्रै एक छुट्टै युनिट गठन गरिएको छ, जसले सामाजिक सञ्जालको दैनिक निगरानी गर्छ । यो युनिटले निर्वाचनसँग सम्बन्धित सामग्री स्क्रिनिङ गर्छ । आचारसंहिताविपरीतका पोस्ट, मिथ्या सूचना, दुष्प्रचार वा अफबाह देखिएमा त्यसलाई पहिलो चरणमा सफ्टवेयरमार्फत पहिचान गरिन्छ । त्यसपछि आयोगले कारबाही प्रक्रिया अघि बढाउँछ,’ उनले भने । घिमिरेका अनुसार हालसम्म २० वटा भ्रामक सामग्री हटाइसकिएको छ ।
सामाजिक सञ्जालमा उम्मेदवारविरुद्ध गलत प्रचार भएको पाइएमा आयोगले नेपाल प्रहरीलाई पत्र लेख्छ । त्यस्ता ५०–६० वटा सामग्री हटाइसकिएको उनको भनाइ छ । ‘नयाँ वेबसाइट खोलेर ‘एग्जिट पोल’ वा आचारसंहिताविपरीत सामग्री राखिएको भेटिएमा नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाइन्छ, जसले त्यस्ता साइट ब्लक गर्ने काम गर्छ । घिमिरेका अनुसार नेपाल प्रहरीको साइबर ब्युरो, नेपाली सेनाको साइबर विज्ञ टोली र आयोगको प्राविधिक टिम मिलेर निगरानी प्रक्रिया अघि बढाइएको छ । ‘तर, चुनौती अझै छ । हाम्रो सफ्टवेयर अझै पूर्ण रूपमा एड्भान्स छैन,’ घिमिरे स्विकार्छन् ।
यसपटक निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले डिजिटल प्लेटफर्मको प्रयोग उल्लेख्य रूपमा गरेपछि सैद्धान्तिक बहसमा चुकेको डिजिटल राइट्स नेपालका निर्देशक तथा अधिवक्ता सन्तोष सिग्देलको विश्लेषण छ । उनका अनुसार डिजिटल प्लेटफर्म उम्मेदवारको व्यक्तिगत प्रचार र कार्यक्रम प्रसारमा केन्द्रित भए, नीतिगत तथा वैचारिक छलफलमा भने कमजोर देखियो ।
‘राजनीतिक दल तथा उम्मेदवारले डिजिटल प्लेटफर्ममा बहस सिर्जना गर्नुपथ्र्याे । तर, एकतर्फी सूचना मात्रै प्रवाह गरिरहेको देखिन्छ,’ उनी भन्छन्, ‘प्रविधिलाई जनतासम्म विचार पुर्याउने माध्यमका रूपमा प्रयोग गर्न उम्मेदारहरू चुके ।’ सामाजिक सञ्जालमा महिला उम्मेदवारमाथि भद्दा टिप्पणी, लैंगिक विभेद र घृणात्मक अभिव्यक्ति बढेको सिग्देलको भनाइ छ । ‘निर्वाचन आयोगले डिजिटल स्पेससम्बन्धी आचारसंहिता जारी गर्दै सामाजिक सञ्जालमा ‘बुस्टिङ’ गर्न नपाइने तथा एआईको प्रयोगमा प्रतिबन्ध लगाएको थियो,’ उनी भन्छन्, ‘तर व्यवहारमा एआईमार्फत फोटो, भिडियो तथा सामग्री उत्पादन गरी दुष्प्रचार भइरहेको देखिन्छ । त्यसको प्रभावकारी निगरानी र नियन्त्रणमा आयोगको भूमिका हुनुपर्छ ।’
विश्लेषक भन्छन्– नीति ओझेल, व्यक्ति हाबी
लेखक तथा राजनीतिक विश्लेषक राजेन्द्र महर्जन चुनावको मूल मर्म मतदातासँगको प्रत्यक्ष संवाद हुनुपर्ने बताउँछन् । उनका अनुसार चुनाव भनेको मतदाताबिच पुगेर आफ्नो विचार सार्वजनिक गर्ने, एजेन्डा स्पष्ट गर्ने प्रक्रिया हो । ‘आफू र आफ्नो पार्टीले गर्न खोजेको काम के हो भन्ने कुरा मतदातालाई सुनाउने र त्यसैका आधारमा मत निर्माण गर्ने प्रक्रिया नै चुनाव हो,’ उनी भन्छन् । तर, अहिले चुनाव एकपक्षीय बन्दै गएको उनको विश्लेषण छ । प्रायः उम्मेदवारले आफ्ना विचार र नीतिभन्दा पनि व्यक्तिगत प्रचारमा जोड दिइरहेको उनको टिप्पणी छ । ‘पार्टीको विचार सार्वजनिक गर्नेभन्दा व्यक्तिको अनुहार देखाउने होडबाजी चलिरहेको देखिन्छ । यसले मतदातासँगको सार्थक संवाद कमजोर बनाइरहेको छ । उनीहरूको आकांक्षा बुझेर दोहोरो संवाद गर्नुपर्ने हो । तर, उम्मेदवारहरूको एकतर्फी प्रचार मात्रै भइरहेको देखिन्छ । यसमा सामाजिक सञ्जाल बढी प्रभावकारी माध्यम बनेको छ,’ उनी भन्छन् ।
राजनीतिक विश्लेषक इन्द्र अधिकारीका अनुसार डिजिटल प्लेटफर्मको प्रयोग आफैँमा सकारात्मक भए पनि त्यसको स्वरूप र सामग्री महत्वपूर्ण हुन्छ । गहिरो नीतिगत बहस नदेखिएको उनको विश्लेषण छ । ‘सामाजिक सञ्जालमा अधिकांश उम्मेदवारका एजेन्डा बाटो, पुल र खानेपानीजस्ता पूर्वाधारमा मात्रै सीमित देखिए,’ उनी भन्छन्, ‘प्रविधिमा पहुँच भएका र लगानी गर्न सक्ने उम्मेदवारहरू प्रचारमा अगाडि देखिएका छन् ।’ सामाजिक सञ्जालका एल्गोरिदमका कारण एउटै प्रकारका सामग्री बारम्बार देखिने भएकाले मतदातामा एकपक्षीय धारणा बन्ने जोखिम रहेको अधिकारीको विश्लेषण छ ।
महर्जनका अनुसार सामाजिक सञ्जालमार्फत हुने एकोहोरो प्रचारले मतदाता र उम्मेदवारबिच दुरी बढाएको छ । ‘जनतालाई शासक होइन, प्रतिनिधि चाहिएको हो । निर्वाचन राजतन्त्रमा जस्तो शासक होइन, जनताको मुद्दा बोक्ने प्रतिनिधि छान्ने प्रक्रिया हो,’ महर्जन भन्छन्, ‘तर, पर्यटकजस्ता मान्छे निर्वाचित हुने, सामाजिक सञ्जालमा जसले लगानी गर्न सक्छ, उही लोकप्रिय हुने र जो लोकप्रिय हुन्छ, उही निर्वाचित हुने खालको प्रवृत्ति देखिन्छ । यसले समाजलाई झन् खतरातिर लैजान्छ । यसले जनतासँग दुरी बढाउँछ । यसो हुनु लोकतन्त्रको स्वास्थ्यका लागि झन् खतरनाक हो ।’